म्याग्दीका चार स्थानीय तहमा विद्युतीय चुल्हो (इन्डक्सन) मा सहुलियत दिइने भएको छ । विद्युतीय उपकरण तथा इन्डक्सन चुल्हो प्रयोगका बारेमा सर्वसाधारणलाई सचेत बनाउँदै सहुलियत प्रदान गरिने छ ।

धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले आइतबार बेनी नगरपालिकामा आयोजना गरेको नेपालमा विद्यु्तीय चुलोको दिगो बजार विकास परियोजना शुभारम्भ तथा छलफल कार्यक्रममा गण्डकी प्रदेशभित्रको चार जिल्ला म्याग्दी, कास्की, गोरखा र तनहुँमा सञ्चालन भएको परियोजनामा इन्डक्सनमा २ हजार ७० रुपैयाँ अनुदान, विद्युत महसुलमा ४ महिनाका लागि ५ सय ५० रुपैयाँ, अति विपन्न, दलित, पछडिएका र महिला नेतृत्व भएकालाई किचन वाइरिङ र मिटर स्तरोन्नतीमा १६ सय ५० रुपैयाँसम्म सुविधा रहेको छ ।

म्याग्दीमा पहिलो चरणमा बेनी नगरपालिका, मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकाका लागि शुभराम्भ गरिएको डिसिआरडिसी बागलुङकी अध्यक्ष सिर्जना थापाको भनाई छ । कार्यक्रमका बेनी नगरपालिकाका मेयर सुरत केसी, धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन लगायत जनप्रतिनिधि, सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

विद्युत् प्रयोगले खर्च घटाउने, दुर्घटनाको जोखिम कम,प्रदूषणको मात्रा अत्यन्तै न्यून र तथा ऊर्जा खेर जाने दर अत्यन्तै कम हुने बताइएको थियो । अनुदानका लागि फारम भर्नुपर्ने छ भने प्रयोगका बारेमा सहजकर्ताले स्थलगत रुपमा समेत जानकारी दिनेछन् ।

शहरिया र शहरोन्मुख क्षेत्रका नागरिकको खाना पकाउन पछिल्लो समय विद्युतीय चुल्होको प्रयोग गर्ने गरेका छन् । परियोजना शुभारम्भ तथा छलफल कार्यक्रमको सहजीकरण डिसिआरडिसीकी फिल्ड अधिकृत फुलमायाँ राना, परियोजना संयोजक ज्ञान थापा लगायतले गरेका थिए ।

Leave a Reply