म्याग्दीको सदरमुकाम बेनीमा त्रिदण्डीको मान्यता प्राप्त गरेपछि अनन्तश्री विभूषित जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजलाई स्वागत तथा सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा गत भदौ ९ गते त्रिदण्डी स्वामीज्युको उपाधी पाउनुभएका हिमालय बाबालाई भब्य स्वागत सहित बजार परिक्रममा गरी सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजले म्याग्दी ऋषिहरूको तपोभूमिका रूपमा पवित्र र स्वच्छ भएकाले धार्मिक पर्यटनको राम्रो गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो ।

सनातन धर्म र हजारौं वर्षको इतिहास बोकेको यस क्षेत्र धार्मिक सहिष्णुता अनुकरणीय रहेको बताउँदै अब धार्मिक सम्पदा र धार्मिक पर्यटन नै मुख्य आम्दानी हुनेमा उहाँको जोड थियो ।

हिन्दू धर्मावलम्बी आस्थाको केन्द्रका रूपमा कालिगण्डकी र सालग्राम, पौलस्त्य पुलह आश्रम, गलेश्वरधाम, रिखार, मुक्तिनाथको प्रवेशद्धार रहेको म्याग्दीमा ऋषिहरूको तसस्यास्थलदेखि धार्मिक महत्वका धेरै क्षेत्र रहेकाले विश्वभर रहेका हिन्दू धर्मावलम्बीहरुलाई भित्राउन आफ्नो निरन्तर सहयोग रहने त्रिदण्डी स्वामीज्युको भनाई छ ।

सम्मान तथा स्वागत कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसीले नगरपालिका भित्र रहेका धार्मिक क्षेत्रको विकास र सहकार्यका लागी आवश्यक सहयोग र प्रक्रियामा सहज बनाउने बताउनुभयो । सम्मान कार्यक्रममा उपस्थिति संविधानसभाका सदस्य नवराज शर्मा, गोविन्द पौडेल सहित राजनीतिक दलका प्रमु्ख तथा जनप्रतिनिधि र अन्य धार्मिक क्षेत्रका प्रतिनिधिले सम्मान गरेका थिए ।

म्याग्दीमा शक्तिपीठहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको क्षेत्रहरुको प्रचारप्रसार गरी आर्थिक चलायमन बनाउन म्याग्दी उद्योग वाणिज्य संघले समेत पहल र नेतृत्वदायी भूमिका खेल्ने अध्यक्ष सुविन श्रेष्ठको भनाई छ ।

परम वैदिक सनातन धार्मिक आश्रम श्री लक्ष्मीहरि नारायण मन्दिरका उत्तराधिकारी जगदगुरु अनन्तश्री विभूषित जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजलाई बेनीबजारबासीले बाजागाजासहित भव्य स्वागत तथा उपस्थित भक्तजनमाझ प्रवचन गरिएको थियो । सम्मान तथा स्वागत कार्यक्रमको स्वागत संघका सचिव मोतिलाल पौडेल अध्यक्ष श्रेष्ठ, सञ्चालन सचिव र समापन बरिष्ठ उपाध्यक्ष राजेश शाक्यले गर्नुभएको थियो ।

Leave a Reply