खासै धान नहुने जिल्ला हो मुस्ताङ । तर यो वर्ष मुस्ताङमा धान पसाउन थालेको छ । शितोष्ण वागवानी विकास केन्द्र मार्फाले यस वर्ष आफ्नो क्षेत्रमा परीक्षणका लागि रोपेको जुम्ली मार्सी धान पसाउन थालेपछि कृषक खुशी देखिएका छन् ।

परीक्षणको रुपमा रोपिएको धानमा बाला लाग्न थालेपछि केन्द्र उत्साहित भएको छ । शीतोष्ण वागवानी विकास केन्द्र मार्फाका प्रमुख पद्मनाथ आत्रेयका अनुसार गत  असार १५ गते रोपेको धान अहिले पसाउन थालेको छ ।

असार १५ गते रोपेको धान ७० दिनमा एउटा बाला पसाएको उहाँको भनाइ छ । मुस्ताङलाई धान नहुने जिल्लाको रुपमा अहिलेसम्म भनिदै आएको भए पनि अहिले परीक्षणको रुपमा लगाइएको धानले बाला लगाउन सुरु गरेसँगै अब मुस्ताङमा पनि धान फल्छ भन्न सकिन्छ ।

मुस्ताङमा अहिलेसम्म धान खेती भएको कुनै जानकारी नभएको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निसान खड्काले जानकारी दिनुभयो । हालसम्म जिल्लामा स्याउ रोप्नकै लागि त जमिन नभएको अवस्थमा धान रोप्नेतर्फ यहाँका कृषकले नसोचेको उहाँको भनाइ छ ।

खड्काका अुनसार हालसम्म धान रोपेको कुनै तथ्य नभएको र अहिले शितोष्ण बागवानी विकास केन्द्रले परीक्षणको रुपमा धान रोप्नु भएको र अब त्यसले कुन प्रकारको नतिजा ल्याउँछ हेर्न बाँकी छ ।

शितोष्ण वागवानी विकास केन्द्रका प्रमुख आत्रेयले चिसो ठाउँ मुस्ताङमा पहिलो पटक परीक्षणका रुपमा धान रोप्नु भएकोमा अहिले बाला लाग्न सुरु गरेको छ । उहाँले वागवानी विकास केन्द्रमा अंगुर तथा खरबुजाको पनि सफल परीक्षण गरी सक्नुभएको छ ।

अङ्गुर तेस्रो वर्ष र खरबुजा दोस्रो वर्ष पनि फलाउनु भएको छ । यस पटक मुस्ताङ जिल्लामै पहिलो अभ्यासका रुपमा धान रोपिएको र त्यसले पनि हाल बाला हाल्न थालेकाले अब यसको पनि थप परीक्षण गर्ने सोच बनाएको आत्रेयले जानकारी दिनुभयो । Gorkhapatraonline

Leave a Reply