म्याग्दीमा पाइने १८ थरमा मात्र सीमित छैन पुन मगरको विस्तार। नजिकै बाग्लुङमा सामी/साई, दगाई, भलाई र खामे जस्ता थर प्रचलनमा छन्। नेपाल मगर संघ केन्द्रीय समितिले भर्खरै पुन मगरका १९६ वटा थर सङ्कलन गरी तथ्याङ्क विभागमा बुझाएको छ।
म्याग्दीका गाउँघर घुम्दै चिमखोला पुगेका वेला मलाई पाखापानी जान मन लाग्यो। खासगरी मलाई तुलु पाइजाबारे जान्नु थियो। मैले सुन्दै आएका पाखापानीका राजा।
२०६१ जेठ १० गते हामी त्यहाँ पुग्यौं– चिमखोलाकै गमबहादुर थाने पुन मगर, लालप्रसाद पहरे पुन मगर र ध्रुव पाइजा मगर अनि म। त्यहाँ पुगेपछि तुलुलाई रोहानी/रुवानी पनि भन्ने गरिएको थाहा पाएँ। साविक पाखापानी गाविस–१ का बासिन्दा टुमन पाइजाका अनुसार रोहानी होच्याएर भनिने शब्द थियो। म्याग्दीमा अन्यत्र कतै यो शब्द सुनिएन। धेरै पछि पश्चिम क्षेत्रतिर चाहिं रोहानी/रुवानी मगरहरू रहेको थाहा पाएँ।
हामी एक रात टुमनकै घरमा बस्यौं। तुलुबारे अलि जाने–बुझेको पाको मान्छे उहाँ नै हुुनुहुन्थ्यो। तुलुको दरबार वा घर कहाँ थियो भन्ने चाहिं उहाँलाई पनि थाहा थिएन। गाउँदेखि अलि वर बाटो मुन्तिरको झरनामा तुलुको तरबार फालिएको थियो भन्ने कथन प्रचलनमा रहेछ (पुन, पुन मगर एक अध्ययन, २०६६)।
मेजन पुन
तुलुलाई लडाइँमा विपक्षीले जितेपछि रोहानी शब्द हटाइएको भन्ने पनि सुनिन्छ। आखिर यो शब्दको अर्थ के थियो? के यो होच्याएरै भनिने शब्द हो? कि अपव्याख्या गरियो? मेरो मनमा अनेक प्रश्न थिए। म्याग्दीकै सालिजा गाउँका पुर्षोराम चोचाङ्गीको भनाइमा “हाम्रा जिजुबाजेहरू पश्चिम नेपालको रोहानी दह भन्ने ठाउँबाट आएका थिए रे” (संं. महावीर पुन, पुन मगरहरूको लोककथा, २०५३)। चौबीसी राज्य पर्वत पुस्तकका लेखक चन्द्रप्रकाश बानियाँ भन्छन्:
‘रुकुममा एउटा थर ‘रोङ्खानी’ रहेछ। त्यही रोङ्खानीबाट रुवानी वा रोहानी बनेको हुनुपर्छ जस्तो लाग्यो। गाई काटेर कुलपूजा गर्नेहरूलाई रोहानी/रुवानी भनिन्छ भन्छन्। कसैले गाई र सुँगुर नखाने मगरलाई रोहानी भनिन्छ पनि भन्दा रहेछन्।’
रोल्पामा रोङ्खामी बुढा मगर र रोङ्खामी घर्ती मगरहरू छन्। उनीहरूको पेशा तामा गाल्ने थियो। खाम मगरको पेशा पनि यही थियो। यस अर्थमा खस भाषासँगको अन्तर्घुलनमा रुङ्खामी वा रोहाङ शब्द अपभ्रंश भई रोहानी बनेको अनुमान गर्ने ठाउँ पनि छ। खाम भाषामा ‘व’ अक्षर नहुने भएकाले खास शब्द रुवानी नभई रोहानी नै हुन सक्छ।
पाखापानीमा बसोबास गर्दा तुलु रोहानी मगर थिए, कालान्तरमा तुलु पाइजा भए। रोल्पातिर बोल्ने भाषाको लवज र झिं, पात्लेखेत र पाखापानीतिर बोलिने लवज उस्तै–उस्तै छ (फत्त बझाङे रोका मगर, पात्लेखेत)।
म्याग्दीमा प्रचलित पुन मगरभित्रका थरहरू पुर्जा, तिलिजा, गर्बुजा, खोरजा, शेरपुञ्जा, गर्बुजा, बुदुजा, पाइजा, रन्तिजा, चोचाङ्गी, थाने, सुत्पहरे, पहरे, दुध, फगामी, अर्मजा, रामजाली र थजाली भने रोहानीबाट बनेका होइनन्। किनकि रुकुम–रोल्पामा पहिले पोनहरू थिए जसको अर्थ हुन्छ, पुजारीको सन्तान। यिनै पोन पछि पुन भनिन थालेका हुन्। म्याग्दीतिरका पुन मगरको पुर्खा करबाकेली रहेको र उनका कान्छी पत्नी सहित नौ भाइ छोरा पश्चिम क्षेत्रबाट यता आएको कुरा झाँक्रीको ओखामा पनि आउँछ। करबाकेलीका छोराहरू जेठा रामचन र कान्छा कुलचनलाई बर्सेनि जेठ र मंसीरको उजेली पक्षको मंगलबार पितृका रूपमा हाँस्या गोर्या साँड र भालेले पूजा गरिन्छ। गोरुले पुज्ने प्राचीन चलन पनि थियो। त्यसैको निरन्तरतामा अहिले पनि कुल पुज्ने स्थानमा गोरुको पुच्छर राखिन्छ।
म्याग्दीमा पाइने १८ थरमा मात्र सीमित छैन पुन मगरको विस्तार। नजिकै बाग्लुङमा सामी/साई, दगाई, भलाई र खामे जस्ता थर प्रचलनमा छन्। नेपाल मगर संघ केन्द्रीय समितिले भर्खरै पुन मगरका १९६ वटा थर सङ्कलन गरी तथ्याङ्क विभागमा बुझाएको छ।
धर्तीबाट अपभ्रंश भई बनेको घर्तीका छोराहरू चारै दिशामा फैलिंदै गए। तक क्षेत्रमा बस्नेले जहाँ फैलिए पनि घर्ती मगर थर राखे। हुकाममा बस्नेहरू बुढा मगर भनिए। बाछीगाउँमा बस्नेहरू पुन मगर भए। यीमध्ये एक समूह पुजारी (पोन) बने। पुन मगरहरूको आदिथलो बाछी/बछी गाउँ हुनुपर्छ (अपिज, सन् १९८३, कैलाश जर्नल, ‘द वाइल्ड बोर एन्ड द प्लाउ: ओरिजिन स्टोरिज अफ नर्दर्न मगर,’ जंगली बँदेल र हलो: उत्तरी भेगका मगरहरूका उत्पत्ति कथा)।
यही सन्दर्भमा पोन पुर्जा, पोन तिलिजा, पोन गर्बुजा, पोन फगामी भनिंदै आएको कुरा पनि छ जुन खोजीको विषय हो। म्याग्दीको जनजीवनमा अथार मगरात भाषा (खाम)का शब्दावलीहरू निकै पाइन्छन्। एउटा उदाहरण हो– सुइना। सुइना नेपाली शब्दकोशमा छैन। खाम भाषामा यसको अर्थ हुन्छ– सपना। म्याग्दी, पर्वतका धेरै ठाउँका नाम मगर भाषामा छन्। त्यहाँ मगर समुदायको बाक्लो बसोबास भएकैले यस्तो भएको हो। केही उदाहरण हुन्– थाइबाङ, कोर्चाबाङ, लस्दी, लुङ्दी, पुङ्दी, कालाबाङ, खालाबाङ, कोलाबाङ, शेबाङ, थिरबाङ, रुबाङ, मरबाङ, मल्कबाङ, खिबाङ, थबाङ, हिदी, घराम्दी, सुसबाङ, नाउरीबाङ आदि।
चौबीसी राज्य पर्वत पश्चिमी नेपालको मगरात भनेर चिनिने विशाल भुखण्डको एउटा अंश हो। त्यसैले मगरात प्रदेश अन्तर्गत बग्ने नदीको नाम मगर भाषासँग सम्बन्धीत हुनुपर्दछ भनेर अनुमान गरिन्छ। त्यस कोणबाट अध्ययन बिश्लेषण गर्दा नदीको नाम म्याग्दीसँग सिङ्गो मगर जातिकै एतिहासिकता गाँसिएर रहेको अनुमान प्रमाण लाग्दछ। (बानियाँ : चन्द्रप्रकाश, शिखा बुक्स : चौबीसी राज्य पर्वत, २०७९। पेज : १८७)
गाउँठाउँ, बस्ती, खोरिया, वनजङ्गल, पहाडथुम्का र नदीनालाको नामकरण मगर भाषामै भएकाले मगर भाषा बोलीचालीमा थियो भन्ने प्रमाणित हुन्छ। पर्वत राज्यकालको अन्त्यसम्म आइपुग्दा भने त्यस क्षेत्रबाट मगर भाषा बोलचालबाट हराइसकेको थियो (चन्द्रप्रकाश बानियाँ, चौबीसी राज्य पर्वत, २०७९)।
दुश्मनले राजालाई नै बढी प्रहार गर्छ, उसको इतिहास नामेट पारिदिन खोज्छ। यही क्रममा तुलु रोहानी कालान्तरमा पाइजा भए जसले गाईगोरुको मासु खान्थे। गाईगोरुको मासु खाएकै कारण हेला गरी बोलाउँदा रोहानी भनिएको पो हो कि?
रोहानीबारे कतै केही कुरा आउँदैन। तुलुको अवसानपछि यो शब्द पनि हराएर गयो वा उनका सन्तानहरूले सत्ताको डरले यो शब्द प्रयोग गर्न चाहेनन्। अर्थात् म्याग्दीमा यो शब्द लोप भएर गयो। त्यही कारण रोहानी मगर पाइजामा परिवर्तन भएको पो हो कि?
लेखक मेजन पुनले हिमाल खबरमा प्रकाशित गरेको पूरानो साम्रागी