वन फँडानी रोकिएपछि घना बन्दै गएका म्याग्दीका सामुदायिक वन र खोरियाहरुमा गत फागुनदेखि जेठसम्म लागेको डढेलोका कारण जंगली जनावरहरुले बसाइँ सरेका छन् । डढेलोका कारण जंगल उजाडिए पछि चराचुरुङीको कोलाहल र चिरबिर ध्वनी पनि सुनिन छोडेकोले जंगलहरु उराठ लाग्दा बनेका स्थानीयले बताएका छन् ।

हिउँदमा लागेको डढेलोका कारण वन नष्ट भएपछि वनमा पस्ने बित्तिक्कै सुनिने चराचुरुङ्गीको चिरबिर ध्वनी सुनिन छाडेको मालिका गाउँपालिका १ निस्कोटका राम पुनले बताउनुभयो । “रङ्गीविरङ्गी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रौनक घटेको छ,पहिला पहिला जंगलमा देखिने जनावरहरु अहिले गाउँका खेतबारी र सडक छेउमा देखिन थालेका छन्” उहाँले भन्नुभयो ।

जंगलमा डढेलो लागेयता चराचुरुङ्गी र वन्यजन्तुको चहलपहल देखिन छाडेको मालिका गाउँपालिका ६ उपल्लो दुखुका यमन पुनले बताउनुभयो । “जंगलमा डढेलो लागेपछि वन क्षेत्र वर्षा पछि पनि कालो देखिएको छ । जंगलमा कुनै चहलपहल छैन । न चराचुरुङ्की कराएको सुनिन्छ न बँदेल,बादर लगाएतका जंगली जनावरहरु रमाएको देखिन्छ । जंगली जनावरहरु गाउँ पसेर गाउँलेलाई दुःख दिन थालेका छन्” पुनले भन्नुभयो ।

जंगलमा डाँफे,कालिज,चिबे,तित्रा,कटुके चरा,लामपुच्छ«े लगाएतका पंक्षीहरु देखिन छोडेका बेनी नगरपालिका ३ भकिम्लीका तेजबहादुर घर्तीले बताउनुभयो ।

“कालिज,,तित्रा र चिबे चरा त जताततै देखिन्थे, यसो खोल्सीतिर पस्ने बित्तिक्कै थरिथरिका चराको चिरबिर सुनिन्थ्यो”, घर्तीले भन्नुभयो “अचेल केही दिनयता यी चरा देखिँदैनन् ।” त्यसैगरी वनमा बाक्लै रहने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएका उहाँले बताउनुभयो ।

समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ।दाउरा, घाँस र स्याउला फडाँनी रोकिए पछि म्याग्दीका सामुदायिक वन हराभरा भएका थिए । वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जंगलीजनावरहरुको वृद्धि भएको र पछिल्लो समय ती जंगली जनावरहरु गाउँ वस्तीमा नै प्रवेश गर्न थालेका अवस्थामा डढेलोले जंगल सखाप पारेपछि गाउँमा झन बढी जंगली जनावरहरु पसेर दुःख दिन थालेका मालिका गाउँपालिका १ निस्कोटका टकबहादुर विकले बताउनुभयो ।

डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाहरुमध्ये गएको हिउँदमा डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दी जिल्लामा पु-याएको छ । डढेलोले म्याग्दीको करिव दुई हजार हेक्टर वन क्षेत्र ध्वस्त वनाएको छ ।

जिल्लाका मालिका,मंगला र बेनी नगरपालिकाका विभिन्न वनहरुमा डढेलो लागेको थियो । आफ्नो बासस्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुङ्गी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अरु ज्यान जोगाउन अन्तै गएपछि वन सुनसान भएको मालिका गाउँपालिका ६ का वडाअध्यक्ष पथबहादुर रोका बताउनुहुन्छ ।

यसैगरी डढेलोले गर्दा वनका महत्वपूर्ण जडिबुटी सखाप भएका छन् । चराचुरुङ्गी, जीवजन्तु हराउनुका साथै बहुमूल्य जडीबुटी तथा काठ डढेर खरानी भएको देख्नुपरेको स्थानीय वासिन्दाहरुको भनाइरहेको छ ।

डिभिजन वन कार्यालयको अभिलेख अनुसार म्याग्दीको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्ये ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ ।

ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ ।डिभिजन कार्यालय मातहतको रहेको ७९ हजार ४ सय ३९ हेक्टर वन मध्ये २४ हजार २ सय २ हेक्टर ३ सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । करिब ५ हेक्टर कबुलियत, धार्मिक र निजी वन छ । बाँकी सबै राष्ट्रिय वन हो ।

Leave a Reply