म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’ शुक्रबार साँभ सकिएको छ । करीब तीन सय वर्षअघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै सुरु भएको वर्खेनाच तिजको दिन आज भगवान श्रीकृष्णले दानवीय स्वरुपको लाखेलाई बध गरेसँगै अन्त्य भएको हो । बेनीबजार परिक्रमण गरी संगमचोकमा लाखेसँग भएको भीषण लडाइँमा भगवान् श्रीकृष्णले हत्या गरेको दृष्य हेर्नेको भिड रहेको थियो ।

लडाइँमा दानवको वध भएपछि समाजलाई त्रसित बनाउने राक्षसको टाउको प्रदर्शन गरिएको थियो । मानवबस्तीको विस्तारसँगै देशका विभिन्न स्थानबाट बेनीमा नेवार समुदायआएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिनदेखि तीजसम्म बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ ।

परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विर्सजन गरिएपछि बेनीमा वर्षे नाच सुरु भएको नेपाल भाषामंकाःखलका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठले बताए । ‘राक्षसको रुपमा रहेको लाखेलाई भगवान श्रीकृष्णले बध गर्नुहुन्छ,‘असत्यमाथि सत्यको विजयी हुने सन्देश छोडेर नाच सकिन्छ’ श्रेष्ठले भने ।

बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिएको छ । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ ।एक महीनासम्म विभिन्न नाच देखाएर परम्परागत संस्कृति र पौराणिक महत्वलाई प्रदर्शन गरिन्छ ।

ठूला–ठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाँच बेनीको प्रशिद्ध नाच हो । हिन्दू धर्मग्रन्थमा वर्णित द्वापरयुगामा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइको अभिनय गरी यो नाच नाच्ने गरिन्छ ।

नेपाल भाषा वंशावली अनुसार लाखे नाचको चलन राजा गुणकामदेवले शुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाहरुले बताएका छन् ।

‘असत्यमाथि सत्यको विजयी हुने सन्देश छोडेर नाच सकिन्छ, वर्खेनाचका सबै नृत्यहरू परम्परागत छन्’ नेपाल भाषा मंकाःखलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले भने । वर्षेनाचको समापनसँगै नेपालीको प्रमुख पर्व दशैंतिहारसँगै अन्य चाडपर्वको रौनकता छाउँछ । एक महिने वर्खेनाचमा करिब १ सयभन्दा बढी कलाकारहरू प्रत्यक्ष सहभागि भएका थिए ।

वर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसावास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाको समेत सहभागिता रहेको श्रेष्ठको भनाई छ ।

बर्खेनाचले सांस्कृति परम्परासँगै ब्यापारमा समेत चहलपहल हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठको बताए। उनले जिल्लामा धार्मिक, सांस्कृतिक गतिविधिले पर्यटन प्रर्बधनमा समेत सघाउने र आर्थिक गतिविधि समेत चलायमान हुने बताए । संस्कृतीनै लोप हुने अवस्था आउन नदिन युवाहरुले पनि बर्खे नाचका विभिन्न नृत्य सिकेर निरन्तरता दिएको हो ।

Leave a Reply