गाउँका २०–२३ वर्षका तीन युवकको असामयिक निधनपछि यतिबेला बागलुङको बान्द्रे अढाईथरबासी शोकमा डुबेको छ ।

तीजको दर खाएर नाचगान गरिरहेको समयमा स्थानीय बान्द्रेखोलामा उर्लिर बाढी आएपछि सवारी चलाइरहेका तीन युवाहरु अर्जुन सापकोटा, अभिषेक रेग्मी र कमल सापकोटा खोलासँगै बगे ।

कमल २० वर्षका, अभिषेक २२ वर्षका र ६ महिनाअघि मात्रै विवाह गरेका अर्जुन २३ वर्ष उमेरका हुन् । होनहार युवाहरुको असमयमै मृत्यु भएपछि गाउँ शोकमा डुबेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवले गण्डकन्यूजलाई जानकारी दिए अनुसार विहिबार मध्यराति पौने १२ बजेको समयमा बान्द्रेखोलामा आएको बाढीले सडकमा गुडिरहेका स्कुटर र मोटरसाइकल बगाउँदा उनीहरुलाई बगाएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर ४ स्थित बान्द्रेखोलाले कुँडुलेदेखि मालिका जाँदै गरेको उनीहरु सवार ध १ प ९९९६ स्कुटर र ध २ प ८०१० नम्बरको मोटरसाइकल बगाएको हो ।

अर्जुन र अभिषेकको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको थियो भने कमल ढिला गरी मृत फेला परेका थिए । बाइक र स्कुटर खोला छेउमा भेटिएको थियो ।

स्थानीयका अनुसार तीनै जनाका अभिभावक विदेशमा छन् ।

 

Leave a Reply