गए राति परेको वर्षासँगै खसेको पहिरोले आज बिहानैदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक साँझदेखि खुलेको छ ।

हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गत म्याग्दी क्षेत्रको विभिन्न पाँच ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडक खण्डको म्याग्दी खण्डमा खसेको पहिरो बेनी–जोमसोम–कोरला सडक योजनासँगको समन्वयमा जेसिभी मेसिन परिचालन गरी पहिरोको अवरोध पन्छाएपछि सडक पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डको कुनौटे, महभीर, गुँईठेभीर, सुकेबगर र भूरुङभीर क्षेत्रमा पहिरो खसेर सडक बन्द भएको थियो । वर्षातको समयमा यो सडक खण्डको म्याग्दी खण्डमा पटक पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । पहिरो पन्छाएर सडक खुलेपछि बिच सडकमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । उत्तर र दक्षिणको छिमेकी मुलुकहरू चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकलाई नेपालको सबैभन्दा छोटो दूरीको सडक मानिन्छ ।

राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोरअन्तर्गत पर्ने यो सडक गण्डकी प्रदेशको लाइफलाइनको रूपमा लिने गरिएको छ । यता पश्चिम म्याग्दीलाई जोड्ने बेनी–दरबाङ सडक खण्ड भने अझै खुलेको छैन । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने घुमाउेभीर तथा मालिका–६, दरबाङको बाङ्गेभीर भन्ने ठाउँको पहिरो पन्छाएर सडक खुलाइएको भए पनि मंगला–२, सिम र लाम्पाटामा पहिरोको अवरोध कायमै रहेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो ।

अवरुद्ध सडक खुलाउन पहल गरिए पनि पहिरोको जोखिम रहेकाले पहिरो पन्छाएर सडक खुलाउन समस्या भइरहेको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि दरबाङसम्म कुल २४ किलोमिटरको दूरी रहेको बेनी–दरबाङ सडक खण्डमा खसेको पहिरोले लामो तथा छोटो दूरीका लागि छुटेका सवारीसाधन बिच सडकमै रोकिएका छन् ।

पहिरोका कारण तिज पर्व मनाउन आवतजावत गर्नेहरूलाई पनि सास्ती भएको छ । बेनी–दरबाङ सडक पश्चिम म्याग्दीको लाइफलाइन मानिन्छ । यो सडकले पश्चिम म्याग्दीको मंगला–मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने काम गर्छ ।

म्याग्दीको पश्चिम भेगका तीन वटा पालिका हुँदै जलजला–गूर्जाघाट–ढोरपाटन भएर पूर्वी रुकुमलाई जोड्ने बेनी–दरबाङ सडक रणनीतिक महत्वको साथ अगाडि बढाइएको छ । छिमेकी जिल्ला बागलुङको पश्चिमी क्षेत्रका सर्वसाधारणहरूले समेत बेनी–दरबाङ सडकको रुट प्रयोग गर्ने गर्दछन् ।

बागलुङ–बुर्तिबाङ भएर पूर्वी रुकुम जोड्ने मध्यपहाडी लोकमार्गको विकल्पका रूपमा छोटो दूरी पर्ने भएकाले म्याग्दीको बेनी–दरबाङ सडकलाई लिने गरिन्छ ।

Leave a Reply