म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका कृषक खिमबहादुर कार्कीले बोटबाट नै केरा विक्री गरेर वार्षिक रु चारलाख बढी आम्दानी गर्दै आउनुभएको छ ।

२०७७ सालदेखि धान फल्ने खेत र पाखोमा हजारी जातको पाँच सय केराका विरुवा रोपेर व्यवसायीक केरा खेती सुरु गर्नु भएका कार्कीले २०७९ सालदेखि केरा विक्री गरेर आम्दानी लिन सफल हुनुभएको हो ।केरा खरिद गर्न ग्रहाकहरु केरा बगैंचामा नै आउन थालेपछि कार्की लगायत यहाँका किसानहरु उत्साहित भएका छन् ।

बगरफाँट गाउँको कुरुङ्दी,गुठी,जलकेनी,बाल्धारा लगाएतका क्षेत्रमा विस्तार गरिएको केराखेतीबाट किसानहरुले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।बगरफाँटका १८ घरधुरीका किसानले व्यवसायीक रुपमा गरेको केराखेतीबाट यस वर्ष रु ३० लाखको हाराहारीमा केरा विक्री गरेका कृषक कार्कीले बताउनुभयो । यहाँका किसानहरुले हजारी जातको केरा खेती गरेका छन् ।

“यहाँका केरा अरु ठाउँका भन्दा स्वादिष्ट र पुष्ट हुनेभएकाले व्यापारीहरु बगैंचामा नै आएर काँचो केरा किनेर लैजाने गरेका छन्” कार्कीले भन्नुभयो ।

बगरफाँट गाउँ पछिल्लो समय केरा गाउँको रुपमा चिनिन थालेको छ । व्यापारीहरु घरीमा नै आएर केरा खरिद गर्ने भएकाले केरा विक्रीका लागि कुनै समस्या नभएको कृषक कार्कीले बताउनुभयो ।

केरा खेतीबाट राम्रो आम्दानी हुनथालेपछि अहिले गाउँ नै केरा खेतीले ढाकेको छ । खेतबारी,पाखा,कान्ला र खोल्साहरु सवैतिर केरा खेतीले छपक्कै ढाकेको छ ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरो खेती तर्फ खबराका किसानहरु आकर्षित भएका हुन । विरुवा रोपेको दुईवर्षमा पसाउन थाल्ने र पसाएको पाँचमहिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकै रहेको बेनी बजारमा सहजै बिक्री हुन्छ ।

“धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ”कार्कीेले भन्नुभयो“५ रोपनी जमिनमा केराखेती गरेका छौं वार्षिक रुपमा ४ देखि ५ लाख रुपियाँ सम्म आम्दानी हुन्छ ।” यहाँका किसानले धान फल्ने खेतमा समेत केरा खेती गरेका छन् ।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रामा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषक बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

केही वर्षअघि सम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक उपाध्यायले बताउनुभयो ।

त्यसैगरी अर्का कृषक दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाउनुभएको छ । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको थापाले बताउनुभयो । मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी भीमबहादुर कार्कीले बताउनुभयो । एक वर्षअघि गत वर्षको जेठमा यहाँका कृषकले करीब दुई हजार केराका बिरुवा लगाएका छन् । एक घरी केरा रु दुई हजारदेखि तीन हजार रुपैयाँसम्ममा विक्री हुने गर्दछ ।

Leave a Reply