म्याग्दीको बेनी नगरपालिका-९,तोरीपानीकी १९ वर्षीया गर्भवती मीना परियारको हत्यामा संलग्न प्रेमी २५ वर्षीय राम खत्री ज्यान मार्ने उद्योगमा यसअगाडी पनि जेल परेको पाइएको छ ।

गत बर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारलाई घरमै पुगेर बोलाएर करिब १ सय मिटर तल रहेको चौतारीमा क्रुरतापूर्वक हत्या गरी झाडीमा लुकाएर डोकोमा बोकेर कालीमूलको जङ्गलमा खाल्टो खनी पुरेको अभियुक्त खत्री बि.स २०७६ साउन २० गते बेनी नगरपालिका–५,पुलाडाँडामा पैसा लुटपाट गरी ज्यान मार्ने प्रयास गरेको भन्दै ज्यान मार्ने उद्योगमा ४२ दिन सजाय भोगका थिए ।

कोरोनाको समयमा उक्त घटना घटेको थियो । घटनाका पीडितले दर्ता गरेको मुद्धामा खत्रीले सफाइ पाएका थिए । आर्थिक अवस्था कमजोर परिवारमा जन्मिएका खत्रीले मजदुरी गर्ने गरेपनि स्वभाव भने आक्रामक थियो ।

सामान्य विवादमा परिरहने खत्रीले मीनालाई विवाह गर्ने प्रस्ताव सहित प्रेमसम्बन्ध बढाएका थिए । घरमा एक छोरीसँगै श्रीमति गर्भवती रहेको अवस्थामा अभियुक्त खत्रीले मीनासँग प्रेम गरी गर्भवती बनाएपछि गर्भपतका लागि दिएको दवाव मीनाले अस्वीकार गर्दा हत्या भएको थियो ।

घटनाको दिन मदिरा सेवन गरी मीनाका बुबा घरमा नभएको मौका छोपी सल्लाह गर्ने भन्दै मीनालाई घरबाट करिब १ सय मिटर तल रहेको चौतारीमा बसेको अवस्थामा गर्भपतनको प्रस्ताव अस्वीकार गरेपछि घरेलु हतियारले प्रहार गरी मीनाको हत्या गरेको अभियुक्त खत्रीले प्रहरी समक्ष बयान दिएका छन्।

मीना बेपत्ता भएपछिका केही दिन प्रहरीले समेत हेल्चेक्राई गरेको घटनामा चौतर्फी दवावसँगै शब भेटिएपछि सुक्ष्म अनुसन्धानबाट अभियुक्त खत्रीको हत्याको उद्धेश्य पत्ता लगाउन सफल भएको हो।

अभियुक्त खत्रीलाई मीनाको घरभित्रको अवस्था, प्रवेश र बाहिर निस्कन मिल्ने सबै जानकारी पहिले नै भएको र भेटघाट अगाडी नै हत्याको योजना बनाएको देखिन्छ ।

हत्यापछि उनले राती नै खाल्टो खनेर पुरेको बताएका छन् । मीनाको शब भेटिएको स्थानसम्म रातभरी कसरी पुगे ?, हत्या गरेको स्थानमा कसैले रगत नदेख्नु, डोकोमा बोकेर कुन बाटो लगे ? घटनापछि शब ब्यवस्थापन गर्दा उनी एक्लै थिए, उनले बयानमा हत्यापछि घरमा पुगेर डोको, नाम्लो लिएर आएको भन्ने बयान दिएपनि शब गाड्दा प्रयोग भएको औजारहरु भने अझै भेटिएको छैन । यो घटनालाई प्रहरीको अनुसन्धानपछि अदालती प्रक्रियामा प्रवेश गरेको छ ।

अब अभियृुक्त खत्रीसँग उनलाई मीनाको हत्यामा सघाएको अभियोगमा थप ४ जनाको सजायको फैसला अदालतबाटै हुने छ । उनीविरूद्ध दर्ता भएको अभियोगमा ज्यान सम्बन्धि कसुर अन्तरगत ज्यान मार्ने वा मार्न सघाएको अभियोगमा हदैसम्म अर्थात आजीवन कारावास सजाय माग गरिएको छ।

Leave a Reply