Oplus_131072

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन् । प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ ।

ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन् । उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए । उनीबारे बुझ्न प्रहरी दुई दिनपछि साउन १८ मा घरमै पुगेर पति भट्टसँग सोधपुछ गरेको थियो ।

ममता यसअघि पनि दुई–चार दिन सम्पर्कविहीन भएर पछि फर्कने गरेकाले यो सामान्य घटना भएको भन्दै भट्टले प्रहरीलाई फर्काइदिएको मनासस पार्कमै बसोबास गरिरहेका एक नेपालीले बताए । सुरुमा प्रहरीमा उजुरी दिन नचाहेका भट्ट अगस्ट ५ मा भने प्रहरी कार्यालय पुगेका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

 

ती नेपालीका अनुसार भट्ट दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी हुन् । उनी हाल ह्वाइट हाउसमा कार्यरत रहेको पनि उनले बताए । ‘पति–पत्नीबीच राम्रो सम्बन्ध थिएन, ममताले साथीलाई भट्टसँग छुट्टिने तयारी गरिरहेको बताउने गरेकी थिइन्,’ उनले भने ।

‘उनी हराएपछि नेपाली समुदायले प्रहरी कार्यालयबाहिर धर्ना पनि दिन थालेका थियौं,’ उनले भने । उनका अनुसार प्रहरी कार्यालय अगाडि दिइएको धर्नामा सो क्षेत्रबाट निर्वाचित कंग्रेसम्यान र सिनेटर पनि सहभागी भएका थिए ।

एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ । उनी भर्जिनियामा रजिस्टर्ड नर्स हुन् । प्रहरीले ममताको खोजीमा सहयोग गर्न भर्जिनिया र अन्य अमेरिकी प्रहरी एजेन्सीलाई समेत सूचित गरेको थियो । पछिल्लो समय परिवार, साथी, रोजगारदाता लगायतसँग उनको कम सम्पर्क रहेको तथा सामाजिक सञ्जाल प्रयोग पनि कम हुने गरेको प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले ममतालाई सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २८ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखेको जनाएको छ । जुलाई २८ मै ममताले आफ्नो साथीसँग कुरा गरेको पाइएको छ भने जुलाई ३१ मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बताएका छन् ।

Leave a Reply