कोरोना कहर नहुँदो हो त उनी सहरमै हुन्थे । रेष्टुराँ चलेकै थियो । धेरथोर कमाइ दिने त्यहीं सहरले उनलाई भुलाइरहेको थियो । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ८ लेखानी कादेशका ३४ वर्षीयय तन्नेरी चानसिंह श्रीस त्यो बेला काठमाडौंको बागबजारस्थित टुकुचा गल्ली र डिल्लीबजार हाइटको रेष्टुराँ व्यवसाय चलाइरहेका भेटिन्थे । उनले जीवनमा थालेका अनेकौमध्येको एक काम थियोे –रेष्टुँरा व्यवसाय ।

गाउँघरकै स्कुलमा उच्च मावि पूरा गरेका श्रीसलाई चार्टर अकाउण्टेण्ट बन्ने हुटहुटीले काठमाडौं डोहो¥यायो । पुतलीसडकस्थित सिएआइमा भर्ना भए । नियमित उपस्थित हुन नपर्ने भएपछि उनी बीबीएसका लागि शंकरदेव क्याम्पसमा जोडिए । पढाइसँगै व्यवसाय चलाउन श्रीसले दाजु दिलबहादुरको साथ पाए । अनि सुरु भयो, रेष्टुराँहुँदै तन्दुरी व्यवसाय । यो बेलासम्म उनले गाउँ फर्कने कुरा भुलिरहेका थिए । व्यवसाय राम्रै चलेकै थियो । विश्वभर कोरोना महामारी फैलियो । व्यवसाय ठप्प हुने देखेपछि बल्ल उनले गाउँ सम्झे । पछि चाहिँ दुवै रेष्टुराँ बिक्री गरेर सदाका लागि जन्मगाउँ फर्किए ।

२०६८ सालमा काठमाडौं फिरेका श्रीसलाई गाउँ फर्कन झण्डै १० वर्ष लाग्यो । हरेक काममा नयाँपन खोज्ने श्रीसले काठमाडौं रहदैं गाजा इन्टरनेशनल इन्भेष्मेण्ट एण्ड रिसर्च सेन्टर दर्ता गरेर बिस्कुट उत्पादनसम्बन्धी अनुसन्धान गरिरहेका थिए । त्यो सोच चार्टर्ड अकाउण्ट पढाइको सिलसिलामा भारतको पञ्जावस्थित एक बिस्कुट कारखानाको अवलोकनपछि फुरेको थियो ।

लामो अध्ययनपछि श्रीसले गाउँमै कोदोको बिस्कुट उत्पादन गर्ने योजना बनाए । त्यसलाई साकार पार्न गण्डकी प्रदेश सरकारको ग्रामीण उद्योग प्रवद्र्वन गर्ने नीति वरदान सावित बन्यो । प्रदेशको १० लाख अनुदान र बैंकबाट १० लाख ऋण लिएर श्रीसले २० लाखले उद्योग संचालनमा ल्याए । सिए सपना अधुरै रहेपनि सफल उद्यमी बन्ने चानसिंहको सपनामा आँकुरा पलाएका छन् । २०८० माघमा जस्ताको छाप्रोबाट सुरु भएको गाजा बेकरी तथा विष्कुट उद्योगले कोदोको बिस्कुट बजारमा ल्याएको थियो । जुन ७ महिनामै उपभोक्तामाझ लोकप्रिय बन्यो । स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक कोदोको बिस्कुट बालबालिकादेखि ज्येष्ठ नागरिकको रोजाइमा पर्छ । स्वास्थ्यप्रति सजग उपभोक्ताले बिस्कुट रुचाएको श्रीस सुनाउँछन् ।

ढुंग्रोले बेलेर सुरु, अहिले आधुनिक मेशिन
बिस्कुटमा नयाँपन दिन श्रीसले झण्डै हजार पटक प्रयोग गरेको स्मरण गर्छन् । प्रयासहरु सफल नहुन्जेल उनी निराश बने तर गलेनन् । बिस्कुट उत्पादन गरेर गाउँगाउँमा हुने सभा–समारोहदेखि कृषि ज्ञानकेन्द्र, कृषि विकास निर्देशनालय पोखरा र साथीसर्कलसम्म पु¥याए । सुझाव मागे । सकारात्मक सुझावपछि सुरु भयो–प्याकेजिङसहित ‘कोदोको बिस्कुट’को बजार यात्रा । सरकारी निकायको चासो र शुभचिन्तकको साथले कोदोको बिस्कुट एकाएक चर्चामा आयो । नेपालमा पहिलोपटक रैथाने स्वादमा आएको बिस्कुटले उपभोक्तालाई आकर्षित ग¥यो । ‘बिस्कुटको माग धान्नै सकिएको छैन, उत्पादन बढाउन उद्योग बिस्तार गर्नुपर्छ तर तत्काल स्रोत साधनको अभाव छ,’ उद्यमी श्रीस भने ।

सुरुमा स्थानीय बजारमा खपत हुने बिस्कुट अहिले पोखरा, काठमाडौं, झापा, इटहरी, बुटवल, चितवनसम्म पुग्ने गरेको छ । दक्षिण कोरिया, जापान, मलेसिया, खाडी मुलुकहरु, बहराइन, अमेरिका र भुटान लगायतका देशमा कोसेलीको रुपमा जाने गरेको छ । जापान र कोरिया निर्यात गर्ने विषयमा प्रक्रिया अघि बढिसकेको श्रीस बताउँछन् । बाँसको ढुंग्रो र बेलनाले बेलेर पहिलो बिस्कुट उत्पादन थालेका श्रीससँग अहिले आधुनिक रोलरहरु छन् । ठूलो क्षमताका ओभनहरु जोडिएका छन् । ६० प्याकेट बिस्कुटबाट उत्पादन थालेको उद्योगले अहिले दैनिक ४ हजारदेखि ४५ सय प्याकेटसम्म उत्पादन गर्छ । उद्योग परिसरमा संरचनाहरु थपिएका छन् । लगानी बढेर एक करोड पुगेको छ । उद्योगमा ४० लाखको मेसिनमात्रै खरिद गरिएको छ ।

रैथाने बाली संरक्षण, गाउँमै स्वरोजगारको अवसर
कोदो, गहुँ, दूध, तेल र चिनीको मिश्रणबाट बिस्कुट उत्पादन हुन्छ । चिनी र फ्लेभरबाहेक अन्य सबै सामग्री गाउँघरमै उत्पादन हुन्छन् । उद्योगले लेखानी, बिहुँ, गौश्वारा, पाला, रेश र ताराखोलाबाट कोदो खरिद गर्दै आएको छ । स्थानीय उत्पादनले माग पु¥याउन नसकेपछि ढोरपाटन, पर्वत, तनहुँ र गोरखाका विभिन्न स्थानबाट कोदो आयात गर्ने तयारी छ । उद्योगले कोदो प्रतिकेजी ८५ र गहुँ २ सय ५० देखि ३ सय रुपैयाँसम्ममा खरिद गर्दै आएको छ । उद्योगले सिजनमा गाउँघरकै दूध अफसिजनमा पाउडर दूध प्रयोग गर्छ ।

रैथाने बाली संरक्षणमा चुनौती बढिरहेका बेला उद्योगले कृषकलाई समेत प्रोत्साहन गरेको छ । कोदोलाई ब्राण्डिङ गर्नसके उत्पादन बढ्ने र किसान आर्थिक रुपमा सम्पन्न हुने श्रीसको विश्वास छ । उद्योग संचालनपछि उत्पादनअनुसारको मूल्य नपाउँदा मर्कामा पर्दै आएका किसानले कोदोको उचित मूल्य पाएको ताराखोलाका विकास कँडेलले बताए ।

त्यति मात्रै होइन, उद्योगले गाउँमा स्वरोजगारको ढोका पनि खुलेको छ । गाउँका युवाहरु पुरन क्षेत्री, गगन श्रीस, साजन पुन, भूषण श्रीस, यामबहादुर पुन, ओमबहादुर श्रीसलाई उद्योगले गाउँमै थामेको छ । घरधन्दा पछि फुर्सदिला बन्ने महिलाहरु मिरा, धनकुमारी छन्त्याल, भूमि श्रीस, माया, निर्जला पुनहरु रोजगारी पाएर उत्साहित देखिन्छन् । गे्रडिङ र प्याकेजिङको काम गरिरहेकी धनकुमारी त उद्योगको प्राविधिक बन्दैछन् । उनलाई दक्ष बनाउन उद्यमी श्रीसले तालिमहरुमा सहभागी गराएर साथ दिन्छन् ।

बागलुङ बजारदेखि लेखानी कादेशसम्मको दूरी झण्डै १७ किलोमिटर हो । केही पक्की भएपनि अधिकांश कच्ची सडक छिंचोल्दै लेखानी पुग्न सकिन्छ । जीर्ण कृषि सडक वर्षातमा क्षतविक्षत हुँदा ढुवानीमा समस्या छ । सडक, विद्युतलगायत अनेकौं कठिनाइ छिचोल्दै श्रीसले गाउँमा बिस्कुट उद्योग संचालन गरेर सहरलाई अर्गानिक स्वाद चखाइरहेका छन् । ढिडो, रोटी, सातु, लिटो, खोले, पुवा जस्ता परिकार बनाएर खाइने कोदो ‘बिस्कुट’ फ्लेवरमा आएपछि बिहानको नास्तादेखि खाजासम्ममा खोजी हुन थालेको छ । गरीबको खाना भनेर चिनिने कोदो अहिले हुनेखाने वर्गको भान्सामा नियमित पाक्न थालेको छ । गाउँमै उद्योग संचालनमा आएपछि कोदोको महत्व पनि बढेर गएको छ । घरबाटै बिक्री हुने कोदोले राम्रो बजार पाउन थालेपछि किसानहरु खेतीप्रति उत्साहित देखिएको काठेखोला ५ बिहुँका ओमप्रकाश पुन बताउँछन् ।

जस्तापाताको एउटा छाप्रो थियो, ७ महिनामै दुई भएका छन् । बाँसको ढुङ्ग्रोलाई मिक्चरले विस्थापित गरेको छ । सानो ओभन थियो उद्योग सुरु गर्दा अहिले दुई थपिएका छन् । उनी अझै सन्तुष्ट छैनन् । उद्योगले माग पु¥याउनै नसक्दा छट्पटी भइरहन्छ । कोदोको बिस्कुटलाई छोटो समयमै उपभोक्ताले रुचाइदिएपछि उनी हौसिएका छन् । देशैभर कोदोको बिस्कुट पु¥याउने सपना पालेका छन् । त्यसका लागि पूर्वको झापा र पश्चिमको दाङसम्म उद्योग विस्तार गर्नुपर्छ । ‘तत्काल संभव नभएपनि युवा उद्यमीलाई प्रोत्साहन गर्ने मेरो चाहना हो,’ श्रीस ढुक्कसँग भन्छन्, ‘लक्ष्य बनाएपछि गन्तव्यमा अवश्य पुगिन्छ ।’ उद्योग विस्तारका लागि पहिलो सर्त हो लगानी । त्यसैले त उनको केही गर्छु भन्ने युवाहरुलाई आव्हान छ– आउनुहोस्, उद्योगको भविष्य उज्वल छ, मिलेर काम गरौं, नचुकौं ।’

Leave a Reply