Friday, September 20, 2024
21.3 C
Beni
21.3 C
Beni
Friday, September 20, 2024
Home स्थानिय समाचार म्याग्दी समाचार गर्मी छल्न कोप्रे झरनाको सहारा (फोटो फिचर)

गर्मी छल्न कोप्रे झरनाको सहारा (फोटो फिचर)

0
चारैतिर हरियालीले ढाकेको छ । वर्षा ऋतुको समयमा पनि गर्मी हपक्कै बढेको छ । यसपटक पानी परिरहेको भए पनि गर्मी अत्यधिक छ । गर्मी छल्नका लागि मानिसहरु सितलताको खोजीमा घर बाहिर निस्किरहेका छन् । गर्मीलाई छल्ने ठाउँहरु ताल, तलैया, नदीनाला, झरना, चौतारी, पोखरी आदि मानिसहरुको सहारा बनेका छन् ।

पछिल्लो समय गर्मी छल्ने ठाउँमध्येको एक पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ, म्याग्दीको कोप्रे झरना । यस झरनामा अहिले दैनिकजसो म्याग्दीसहित विभिन्न ठाउँबाट पर्यटकहरु गर्मी छल्न र रमाउन पुग्ने गर्दछन् । यसअघि कोरोना संक्रमणको जोखिमका विरुद्ध लगाइएको निषेधाज्ञा अर्थात् लकडाउनको समयमा चर्चामा आएको कोप्रे झरना पछिल्लोपटक खासगरी स्वदेशी पर्यटकहरुको रोजनाइमा पर्दै जान थालेको हो ।


जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटमा पर्ने पर्यटकीय सम्भावना बोकेको कोप्रे झरनामा पर्यटकको आकर्षण बढ्दै गैरहेको पाइन्छ । पर्यटकीय आकर्षणको सम्भावना बोकेको यस झरनामा गएर रमाउनका लागि पर्यटकहरुको निकै भीड लाग्ने गर्दछ । पछिल्लोपटक नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिएको कोप्रे झरनामा पर्यटकहरुको आकर्षण बढ्दै गएको स्थानीयवासी बताउँछन् । देशका विभिन्न स्थानहरुमा पर्यटकहरुको आगमन बढिरहेको अवस्थामा अहिले म्याग्दीका पर्यटकीय स्थलहरुमा पनि पर्यटकको चहलपहल बढ्दै गएको छ ।


बेनी–२, ज्यामरुककोट र ३ नम्बर वडा भकिम्लीको दुधेखोला नजिकै पर्ने कोप्रे झरनामा दिनहुँ पर्यटकहरु पुगेर रमाउने गरेका छन् । स्थानीयवासीले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा खासगरी शनिवार तथा विदाको दिनमा पर्यटकहरुको घुइँचो नै लाग्ने गर्छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने झरनामा हिँजोआज झण्डै १ सय जनाको हाराहारीमा पर्यटकहरु घुम्न पुग्ने गरेका छन् । बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै पर्ने कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु समेत पुग्छन् । पर्यटकीय क्षेत्र घुम्न नपाएका सर्वसाधारण तथा व्यस्त दैनिकीबाट ग्रसित मानिसहरु एकैछिन भए पनि कोप्रे झरनामा पुगेर आनन्दको सास फेर्छन् ।

स्थानीयले जनाएअनुसार कोप्रे झरनामा पहिलेदेखि नै मानिसहरु जान्थे । खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्दथे । अहिले दैनिकजसो झरनामा टिकटिक तथा रिल्स बनाउन पर्यटकहरु पुग्ने गर्दछन् । विगतदेखि नै मानिसको चहलपहल हुने यस झरनामा पछिल्लोपटक घुम्नेहरुको संख्या बढेको छ । बेनीबजारदेखि कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले निकै रमाइलोको अनुभूति गर्न पाएको स्वदेशी पर्यटक दुर्गामाया रोकाले अनुभव सुनाउनुभयो ।

कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’ भनेर पनि नामाकरण गरेका छन् । भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ ।

घाम लागेको समयमा इन्द्रेणी पार्ने यस झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकसँग अनुभव छ । कोप्रे झरनालाई बाह्रै महिना चल्ने बनाउन नजिकै रहेको म्याग्दीखोलाको पानी तानेर पर्यटनको हव बनाउनुपर्ने म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष सुमन बानियाँले माग गर्नुभयो ।


कोप्र झरनामा कतिपय पर्यटकहरु टिकटक, रिल्स र स्टोरी बनाउनकै लागि भए पनि पुग्ने गर्दछन् । फोटो भिडियो खिचेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटक, रिल्सलगायत सामाजिक सञ्जालमा पोष्ट्याउन पाइने भएपछि यहाँ पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । झरनाको भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्या बढ्दै गएपछि पर्यटकलक्षित प्रतिक्षालयसहितका संरचनाहरु बनाइएको छ । आगामी दिनमा कोप्रे झरनासहित वडामा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्न आवश्यक पहल गरिने बेनी–२, ज्यामरुककोटका वडा अध्यक्ष यामबहादुर क्षत्रीले बताउनुभयो ।

कोप्रे झरनामा म्याग्दी सदरमुकाम बेनीबजारसहित ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौरगायत आसपासका क्षेत्रहरुबाट प्रायः पर्यटकहरु भ्रमणमा निस्कन्छन् । झरनामा गर्मी छल्न तथा त्यहाँ पुगेर मोबाइलमा सेल्फी र भिडियो खिचेर रमाउन पाइने हुँदा खासगरी युवायुवतीका साथै केटाकेटीहरु धेरै जाने गर्छन् ।

कोप्रे झरनामा रिभरसाइड युवा क्लबले फोटो खिच्न मिल्ने गरी झरना अङ्कित पर्यटकीय बोर्ड राखेपछि रौनकता थपिएको छ । बेनी नगरपालिकाले पर्यटकीय गन्तव्यको हव बनाउन नगरका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रको पर्यटन प्रवद्र्धनमा जोड दिएको जनाएको छ ।

Leave a Reply