नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।

जनैपूर्णिमामा पूजाअर्चना गर्न देशैभरबाट आएका भक्तजनको घुइँचो लागेको हो । ढोरबराह मन्दिरमा हरेक वर्ष जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ । पश्चिम बागलुङकै ठूलो शक्तिपीठका रुपमा रहेको ढोरबराह मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराह मन्दिरमा पूजाआजा गर्न, भाकल गर्न तथा भेटी चढाउन नेपालका लागि आएका भक्तजन बिहान ५ बजेदेखि लाइनमा रहेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले जानकारी दिए । बागलुङसहित छिमेकी जिल्ला गुल्मी, म्याग्दी, रुकुम, रोल्पा, प्यूठानसहित बुटवल, पोखरा काठमाडौँलगायत देशका विभिन्न क्षेत्रबाट भक्तजन आएको उनको भनाइ छ ।

वर्षौं पुरानो यो धार्मिक मेला अहिलेसम्म चल्दै आएको पुन बताउँछन् । आइतबार बिहानदेखि ढोरपाटनमा भक्तजनको आगमन भइरहेको अध्यक्ष पुनको भनाइ छ । जनैपूर्णिमामा मुख्य पूजा आज भए पनि स्थानीय क्लबले खेलकुदसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हुँदा अझै केही दिन चल्ने उनी बताउँछन् । ढोरबराह मन्दिरमा आज सयौँ भेडा तथा बोकाको बलि दिइने पुनले जानकारी दिए ।

बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङदेखि करिब ३२ किलोमिटर पश्चिममा रहेको ढोरपाटनमा जनैपूर्णिमाबाहेक अन्य समयमा पनि भक्तजन तथा पर्यटक घुम्न आउने गरेका छन् । रासस

Leave a Reply