पर्वतको जलजला गाउँपालिका–४,चिउरीपात्लाका यूवा भरत नेपालीको गोठमा खाइलाग्दो हलगोरु छन्। डेढबर्ष कतारमा विताएर फर्किएका भरतलाई अहिले भ्याइनभ्याई छ। खाडी मुलुक कतारमा साढे ३ बर्ष बसेर फर्किएका भरत असार–साउनमा धान रोप्न होस् वैशाखमा मकै छर्न । कोदोको बाँझो फुटाउने देखि खेतीपातीका लागि बर्षभरीमा करिब ४ महिना ब्यस्त हुन्छन् ।
बलिया गोरु र हलो जुवा बोकेर खेतीबारीमा पुग्ने गरेका शुसिलले दैनिक हालगोरूसँगै २५ सय कमाउँछन् । भरत गाउँका करिब ३५ घरधुरीमा हलगोरू पाल्ने एक्लो यूवा हुन् । ‘दुःख हुन्छ, काम अनुसारको कमाइ पनि छ’ भरतले भने । हलगोरू र आफ्नो कमाइले अहिले घरखर्च र केही बचत समेत हुने गरेको बताउँछन् । भरत जस्तै जलजला गाउँपालिका–२,पाखाथरका डम्बर परियारले खेतीपातीका लागि गोठमा रहेका हलगोरूलाई सिजनमा खाली बस्दैनन् ।गाउँघरमा मेलापात गर्न हालगोरु खोज्नेहरुले डम्बर र उनको गोठमा भएका हालगोरू नै रोज्ने गरेका छन् । हलगोरु मात्रैले दिनको १२ सय र हली सहित उनले २५ सय कमाउँछन् ।
सोही वडाको रखाल विसौनाका कर्णबहादुर बरुवालले पनि खेतबारी जोत्न अहिलेसम्म ट्याक्टरसहितका कृषि औजारको प्रयोग गरेका छैनन् । उनीहरूले घरको सोझा हुने, मल प्रसस्तै हुने भएकाले हलगोरु पालेर खेतबारी जोत्ने र छिमेकीलाई समेत दिने गरेका छन् । बढ्दै गएको सहरी केन्द्रित बसाइँ सराइ, युवाको विदेश पलायन र प्रविधिको विस्तारले यतिबेला कृषि व्यवहारमै परिवर्तन हुदाँ गाउँ घरमा गोरुको संख्या महत्व हराउँदै गएको छ भने ट्याक्टरसहितका कृषि औजारको प्रयोग दिन प्रतिदिन फैलिंदै गएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले लागत साझेदारीमा मिनी टेलर अनुदान सम्म नपाउने अवस्थामा हलगोरू नै पालेर खेतजोत गर्ने गरेको स्थानीय महिला गोमा परियारको भनाई छ । ‘मिनी टेलर महँगो हुन्छ, अनुदानमा ल्याएकाहरूले पनि नियमित जोत्न सकेका छैनन्, हामीलाई हलगोरूले नै सजिलो हुन्छ’ परियारले भनिन् ।
उनले गाउँमा मिनी टेलर ल्याएर मर्मत गर्न नसक्नेहरूले पछिल्लो समय हलगोरू खोज्न थालेपछि स्थानीयको गोठमा हलगोरू देखिन थालेको बताइन् ।
गाउँघरमा कृषकले हलगोरू खोजेर ल्याउन थालेपछि अहिले जलजलामा खेतबारी जोत्न समस्या नभएको स्थानीय बताउँछन् । कृषिमा ट्याक्टरको प्रयोग बढ्दो छ यसले परम्परागत हलोको प्रयोग र गोरु पालनमा भने ठूलो गिरावट ल्याइदिएको अवस्थामा जलजला गाउँपालिकाले आर्थिक बर्ष २०८० ८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार हलगोरु पालन प्रोत्साहन अनुदान कार्यक्रमले किसान हलगोरु पाल्न हौसिएका छन्। गाउँपालिकाले पहिलो चरणमा २२ हालगोरुलाई प्रति हल गोरु १५ हजारको दरले ३ लाख ३० हजार अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाले सार्वजनिक सूचनामार्फत हालगोरु पालेका किसानलाई आवेदन मागी स्थलगत अनुगमन, वडामार्फत सिफारिस लगायतका प्रक्रिया पूरा गरी चालु आवमा २२ किसानलाई अनुदान दिएको हो ।
गाउँपालिकाभित्र हलगोरु पाल्नेको संख्या बढ्न थालेपनि सिमित अनुदानका कारण पहिलो चरणमा नपाएकालाई चालु आवमा समेट्ने ग गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । ’आधुनिक प्रविधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति हराउन थालेपछि प्रोत्साहन गरिएको छ’ अध्यक्ष आचार्यले भने । उनले किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएको अवस्थामा पनि हलगोरुको आवश्यकता रहेको बताए । गाउँपालिकाले दिएको अनुदानबाट किसान उत्साहित भएकाले कार्यक्रमलाई निरन्तरता दिने बताए । पछिल्लो समय खनजोतका लागि मिनीटेलर हलो बढी प्रयोगले गोरुले दुई दिनमा सक्ने काम मिनीटेलरले दुई घण्टामै सकिएपनि किसान सन्तुष्ट छैनन् । मिनीटेलरले छिटो भए पनि उत्पादनमा ह्रास आउने उनीहरुको भनाई छ ।गोरु पाल्नेले राम्रो आम्दानीसमेत गरिरहेका छन् ।
जलजला गाउँपालिकाले हलगोरु मात्रै होइन स्थानीय प्रजातिका पशुचौपाया पालेकालाई बार्षिक प्रति पशु २ हजारको दरले सहयोग समेत गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए। उनका अनुसार गाउँपालिका भित्रका सबै वडामा ५०८ पशुचौपायालाई न्यूनतम ३५० रुपैयाँ देखि ७५० सम्मको पशु विमा समेत गरिदिएको छ । कृतिम गर्भधारन गर्ने प्रति गाईभैसीलाई २५ सय अनुदान समेत गाउँपालिकाले वितरण गर्ने गरेको छ । पछिल्लो समय परम्परागत खेती प्रणाली बिस्तारै हराउँदै जान थालेको भन्दै स्थानीय पशुचौपायाको संरक्षण, हलगोरु पाल्न किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिने गाउँपालिकाको कार्यले किसान मात्रै उत्साहित छैनन् अन्य स्थानीय तहले समेत सिको गरिरहेका छन् ।कृषिको यन्त्रीकरणले खेतीपातीमा सहजता भए पनि गोबर मलको अभाव हुने, दाइँ हाल्ने, रासायनिक मल र विषादीको प्रयोग अस्वाभाविक रूपमा गर्दा त्यसले माटोमा समेत गम्भीर असर पारेको अवस्थामा गाउँपालिकाको यो प्रोत्साहनको नितिले सहज भएको छ ।
हलगोरू पाल्ने कृषकलाई गोठमै पुगेर प्रोत्साहन गछौं
अध्यक्ष, राजुप्रसाद आचार्य
कृषिमा आधुनिकीकरण र बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएपछि हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिने कार्यक्रम सञ्चालनमा ल्याएको हो । रैथाने बालीको संरक्षण, स्थानीय स्रोतसाधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिने गत आर्थिक वर्षदेखि लागू हुने गरी हलगोरु पाल्ने किसानलाई अनुदानको कार्यक्रम सञ्चालन गरिएको थियो । चालु आवमा पनि बाँकी कृषकलाई कार्यक्रममा सहयोग गछौं ।
गोरु पाल्ने किसानले अनुदानका निम्ति निवेदन पेस गरेपछि वडाका जनप्रतिनिधि सहितको गोठमै पुगेर अनुगमन गरी सोहीअनुसार छनोट गरेर अनुदान प्रदान गरिन्छ ।किसानको गोठमा गोरु हुँदा बालीका लागि आवश्यक मलमूत्र पनि पुग्ने, गोरुले जोत्दा उत्पादनमा पनि वृद्धि हुने हुँदा यसलाई पाल्न प्रोत्साहन गर्नुपरेको छ । गोरुले जोत्दा स्थानीय प्रविधि हलोजुवा प्रयोग हुने भएकाले बाँझो जग्गा राम्रोसँग जोतिने र माटोको अम्लिएपनमा कमी आउने किसानहरूको विश्वास छ। अर्को कुरा समथर फाँटमा मिनी टिलरको प्रयोग बढ्दो रहे पनि लेकको खेतबारीमा भने गोरुले जोत्ने प्रचलन कायमै छ। गोरु प्रवर्द्धन कार्यक्रम जलजलाबाट अन्य पालिकाले समेत सिको गर्ने थालेका छन् ।