संसारकै अग्लो ठाउँमा हुने दाबी गरिएको लोमान्थाङमा शनिबार भएको गल्फ प्रतियोगितामा पुरुषतर्फ इन्द्रधारा विष्ट र महिलातर्फ बालकाशी गुरुङले उपाधि जितेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोवथाङमा भएको गल्फ प्रतियोगितामा तेस्रो संस्करणको टप अफ द वल्र्ड गल्फ क्लासिकको उपाधि विष्टले जितेका हुन् ।

४ हजार ६ सयदेखि ४ हजार ७९५ मिटर उचाईसम्ममा भएको गल्फ प्रतियोगितामा ९ होलको खेलमा विष्टले ३ अण्डर हान्दै २१ स्कोर बटुलेर उपाधि जितेका छन् । खेल स्टेवल फोर्ड फुल ह्याण्डिक्यापको फम्र्याटमा खेलाइएको थियो । ३ वटा होलमा पार, एउटामा त्रिपल बुगी र ५ वटा होलमा बुगी खेल्दै विष्टले उपाधि हात पार्दा फुर्साङ लामा दोस्रो भए । नेपाल गल्फ एसोसिएसनको उपाध्यक्षसमेत रहेका फुर्साङले ५ वटा होलमा पार, एउटामा डवल बुगी र बाँकी ३ वटा होलमा बुगी हिर्काउँदै २ अण्डर २० स्कोर प्राप्त गरेका हुन् ।

शुक्रबार अभ्यास खेल खेल्दै शनिबार भएको प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, सौराहा, बुटवल र अमेरिकादेखि गैरआवसीय नेपालीसमेत सहभागी भएका थिए ।

पुरुषतर्फ भएको प्रतियोगिताको ग्रस उपाधि गैर आवासीय नेपाली संघ अमेरिकाबाट प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले जितेका छन् । निर्मलले १४ स्कोरसहित ग्रस उपाधि प्राप्त गरेको एका प्रतियोगिताका चीफ मार्शल भुवन गुरुङले जानकारी दिए ।

श्रेष्ठले तेस्रो होलको ‘पार थ्री’ मा बर्डी हिर्काए भने ४ वटा होलमा पार, एउटा होलमा डवल बुगी र बाँकी ३ होलमा बुगी हिर्काएका थिए । महिलातर्फको प्रतिस्पर्धामा गल्फ एसोसिएसन कास्की उपाध्यक्ष बालकाशी गुरुङले उपाधि हात पारेकी छन् ।

गल्फ खेल्न थालेको एक वर्षमै गुरुङले संसारकै अग्लो मानिएको गल्फ कोर्सबाट उपाधि हात पार्न सफल भएकी हुन् । बालकाशीले ५ अण्डर २३ स्कोरको नतिजा निकाल्दा धरानकी झुना राई १ स्कोर मात्रै कम पाएर उपविजेता बनिन् । झुनाले ४ अण्डर २२ स्कोर प्राप्त गरेकी छन् ।

प्रतियोगितामा ‘लंगेस्ट ड्राइभ’ संयोग शाहीले हिर्काए भने ‘क्लोजेष्ट टू दी पिन’ को ट्रफी महिला गल्फर मेदाङ लामाले प्राप्त गरिन् । कोर्सको तेस्रो होलमा ‘होल इन वान’ र क्लोजेष्ट टू दि पिन राखिएको थियो । ‘होल इन वान’ मा याक पुरस्कार राखिएको भएपनि कसैले उक्त पुरस्कार प्राप्त गर्न सकेनन् ।

शीर्ष तथा विभिन्न उपाधि विजेतालाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नुर्बु गुरुङ र उपाध्यक्षमा छयुमी बिष्ट गुरुङलगायत वडाध्यक्ष, सिटी एक्प्रेसका चन्द्र टण्डनलगायतले ट्रफी हस्तान्तरण गरे ।

पुरस्कार हस्तान्तरणपछि अनलाइनखबरसँग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष टसी नुर्बुले गल्फले मुस्ताङलाई मात्र नभई सिंगो नेपाललाई फाइदा पुग्ने बताए ।

लोमान्थाङको गल्फ कोर्सलाई विश्वसकै अग्लो कोर्सको रुपमा विश्व कीर्तिमान कायम गर्न प्रदेश र नेपाल सरकारलाई पनि सहयोग गर्न आग्रह गरे । गाउँपालिका उपाध्यक्ष छयुमी विष्टले हिमालको काखमा रहेको गल्फ कोर्समा विश्वभरिकै खेलाडीलाई स्वागत गर्न आफूहरु आतुर रहेको सुनाइन् ।

लोवथाङमा गल्फ कोर्स बनाएर विश्वकै अग्लो कोर्सको रुपमा स्थापित गर्न लागि परेका तथा प्रतियोगिताका विजेतासमेत रहेका इन्द्रधारा विष्टले अर्को वर्ष अझै धेरै देशका खेलाडीलाई सहभागी गराउने बताए ।

विश्वका विभिन्न देशका गल्फ कोर्सहरु पनि आफूले हेरेको बताउँदै गण्डकी प्रदेश सभाका पूर्व सांसदसमेत रहेका विष्टले लोमान्थाङमाजस्तो रोमाञ्चक र प्राकृतिक कोर्स अन्त नभएको सुनाए ।

महिलातर्फ उपाधि विजेता बालकाशीले गल्फ सुरु गरेको वर्षदिनमै विश्वकै अग्लो दाबी गरिएको कोर्सबाट उपाधि विजेताका रुपमा नाम लेखाउन पाएकोमा गौरव महसुस गरेको बताइन् ।

यसअघि दुई पटकका विजेता श्याम तामाङले यो ऐतिहासिक गल्फ कोर्समा सहभागिता जनाउनुमात्रै पनि ठूलो कुरा भएको बताए । हिमालयन टाइगर गल्फ क्लब सेयाटल पोर्टल्याण्डका तर्फबाट एसी शेर्पाले गल्फ कोर्स सुधारका निम्ति १ हजार अमेरिकी डलर इन्द्रधारालाई सहयोग गरेका छन् ।

नेपाल सरकारको अमेरिकाको सियाटल शहर, वासिंङ्टन स्टेटको महावाणिज्य दूतसमेत रहेका शेर्पाले अगामी वर्षदेखि विभिन्न व्यक्तिहरुलाई लिएर लोमान्थाङमा गल्फ खेल्न आउने बताए ।

‘अमेरिकामात्र ७० हजार गल्फ कोर्स होलान् । नेपालमा ४र५ वटामात्र गल्फ कोर्स छन् । तर, लोमान्थाङमाजस्तो रोमाञ्चकता अन्त छैन । यहाँ यत्तिको होला भनेर मैले सोचेकै थिइनँ’, शेर्पाले भने, ‘यसपटक हाम्रै साथी निर्मलले पनि एउटा उपाधि जितेका छन्, यसले पनि अमेरिकामा धेरै प्रभाव पार्ने छ । अर्को वर्ष गैरआवासीयमात्रै होइन, विदेशी खेलाडीसमेत लिएर यहाँ आउने छौं ।’

Leave a Reply