म्याग्दीको मालिका गाउँपालिका-३ अधिवारामा मालिका कागज उद्योगले बजारमा माग बढेसँगै नेपाली कागज उत्पादन सुरू गरेको छ । स्थानीय कच्चा पदार्थ, कामदारको अभाव र विद्युत् आपूर्तिमा अनियमितताजस्ता कारणले५ महिनासम्म बन्द रहेको उद्योगले शनिबारदेखि पुनः ब्यवसायीक उत्पादन सुरू गरेको हो ।

स्थानीय हाते प्रविधिबाट उत्पादन गरिने कागज उद्योगमा उच्च गुणस्तरको कागज उत्पादनको माग विभिन्न जिल्लामा रहेकाले उत्पादनलाई निरन्तरता दिएको उद्योगका सञ्चालक मोतिराज गौतमले बताउनुभयो । ‘कागजलाई बजारको समस्या छैन, कच्च पदार्थ र कामदारको समस्याले नियमित सञ्चालनमा समस्या छ’ सञ्चालक गौतमले भन्नुभयो ।

कागजको बजारमा अत्यधिक माग हुँदा पनि मागअनुसारको उत्पादन गर्न नसकिरहेको बताउँदै अव नियमित उत्पादन र माग अनुसार पूर्ती गर्ने योजना रहेको सञ्चालक गौतमको भनाई छ ।

उद्योगमा विभिन्न साइजका कागजको माग हुने गरेकोमा सरकारी तथा गैरसकारीकार्यालय कागज, तमसुक कागज, १८–२० ग्रामको कागज, धुप निर्माण गर्ने छ–सात ग्रामको कागज, चिना निर्माणका लागि ४० ग्रामको कागज सहित विभिन्न प्रयोजनका लागि बिक्री हुने गरेको छ ।

उद्योगमा चुनौती धेरै रहेको अवस्थामा कच्चा पदार्थ लोक्ता अभाव, विद्युतको अनियमितता, उपकरण फ्रेम मर्मतसम्भार, विद्युतबाट लोक्ता (कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ) पकाउँदा हिटरको रड बढी जल्नेजस्ता समस्याले उद्योगको क्षमताअनुसार कागज उत्पादन गर्न नसकिएको उद्योगका सञ्चालक गौतमको भनाई छ ।

स्थानीय तह र सम्बन्धित निकायबाट सहयोग हुने, उद्योगमैत्री वातावरण मिल्ने र डिभिजन वन कार्यालयले कागज बनाउन प्रयोग गरिने कच्चा पदार्थ लोक्ताको सङ्कलन गर्न सरल नीति बनाएमा म्याग्दीका अन्य स्थानमा पनि कागज उद्योग सञ्चालन गर्न सकिने जनाइएको छ ।

म्याग्दीको माथिल्लो पहाडी भेगमा पर्ने लेकाली सरकारी तथा सामुदायिक वनमा प्रशस्त बरुवा (लोक्ता)का बोट छन्। लोक्ता (पुवा) पाइने स्थानमा पनि निकाल्ने कामदारको अभावले बनजंगलमै खेर गएको छ ।

विसं २०७५ मा स्थापना भएको उद्योगले बेनी, बागलुङ, पोखरा, काठमाडौँ, चितवन लगायतका सहरमा बिक्री गर्ने गरिन्छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको नागी, धवलागिरिको लमसुङ, रघुगङ्गाको पाखापानीमा रहेका नेपाली कागज उद्योग अहिले बन्द अवस्थामा छन्।

Leave a Reply