म्याग्दीको बेनी नगरपालिका-५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो ।

कार्यक्रमका अतिथि, मन्दिरका पुजारी, सहभागी भक्तजनहरु, गुठी व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु, स्थानीयवासी, सर्वसाधारण लगायतले भजनकीर्तन गर्नुका साथै भगवान् जगन्नाथको मूर्ति बोकेर रथयात्रा गरेका हुन् । जगन्नाथको रथयात्रा भजनकीर्तनसहित मन्दिर परिसरमा परिक्रमा गराइएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

सर्वसाधारण सबैले जगन्नाथको दर्शन गरुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिन जगन्नाथको रथयात्रा गराउने प्रचलन रहिआएको छ । विगतमा एक, दुईजना व्यक्तिले पनि साफा लिएर मन्दिरको दर्शन गर्न आएमा भगवान् जगन्नाथको दर्शन गराइदिने भएको हुँदा यसबाट तँछाडमछाड हुने र जसले जति पटक पनि ल्याउन सक्ने भएकाले यस्तो कार्य रोक्न हरेक वर्षको एकपटक मात्रै प्रत्यक्ष दर्शन गर्ने व्यवस्था मिलाइएको हो । सोही अनुसार हरेक वर्षको एकपटक जगन्नाथको प्रत्यक्ष रुपमा दर्शन गर्न पाइन्छ ।

श्रावण शुक्ल द्वादशीमा रथयात्राको कार्यक्रम आयोजना गरी सोही दिन सबैलाई भगवान् जगन्नाथको पनि दर्शन गराइदिने र साफालगायत कपडा फेरिदिने प्रचलन कायम गरिएको गुठी सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो ।

रथयात्रा तथा सरकारी भोज कार्यक्रमको परमपुज्य स्वामी पशुपति तीर्थ महाराजले शुभारम्भ तथा उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भगवान् जगन्नाथको प्रचारप्रसार गरी गाजने क्षेत्रमा धार्मिक पर्यटन बढाउनका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्तव्य व्यक्त गर्दै जगन्नाथलगायत धार्मिक क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले म्याग्दी जिल्लामा रहेका जगन्नाथसहित धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक रहेकोमा जोड दिए ।

रथयात्रा कार्यक्रममा पण्डित तुलसीराम अधिकारी, पुजारी विवेक सुवेदीसहितको टोलीले स्वस्तीवाचन गरी सुनाउनुभएको थियो । सरकारी भोजको समेत आयोजना गरिएको रथयात्रा कार्यक्रममा करिब ३ मुरी चामलको खिर पकाएर सहभागी भक्तजनलगायत सबैलाई खुवाइएको थियो ।

उक्त कार्यक्रममा जगन्नाथ आमा समूह र युवा क्लबले स्वयंसेवा गरेका थिए । रथयात्रामा सहभागी भई जगन्नाथको दर्शन र पुजा गर्न साविक धौलागिरि अञ्चलसहित विभिन्न जिल्लाबाट १५ सयको हाराहारीमा श्रद्धालु भक्तजनहरु जगन्नाथ मन्दिरमा पुगेका थिए ।

जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ शर्माको अध्यक्षता, उपाध्यक्ष यामबहादुर बानियाँको स्वागत र सचिव रामचन्द्र पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव पौडेलले प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीयवासी र भक्तजनहरुबाट दर्शन तथा पूजाअर्चना गर्नुका साथै भजनकिर्तन समेत भएको थियो ।

Leave a Reply