चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला अन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नतिको भएको छ ।

वारागुङ मुक्तिक्षेत्र–३ छुसाङ देखि चैले सम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले निर्धारित समय अगावै काम सम्पन्न गरेको हो । २०८१ भदौ १५ गतेसम्म म्याद रहेको सो ठेक्काको ९५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी ईञ्जिनियर बिष्णु चापागाईले बताउनुभयो ।

सडक ग्राभेल, कल्भर्ट तथा नाली निर्माण र छुसाङ स्थित मुस्ताङ गेट पुल संरक्षण लगायतका कार्य गर्न २०८० चैत ९ गते रोहित एण्ड छिरिङ÷डीएस बिल्डर्स÷युनाईटेड जेभी कन्स्ट्रक्सनले रु. चार करोड ३१ लाख ८३ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले सम्झौता अघिनै काम सकेर अन्तिम किस्ता भुुक्तानी मागेपछि प्राबिधिक नापजाँच र मूल्याङकन गरि ठेक्का टुङ्गाउने प्रक्रीया अघि बढाएको ईञ्जिनियर चापागाईले बताउनुभयो ।

मुस्ताङको प्रतिकुल भूगोल, मौसम र आर्थिक मन्दिको असहज अवस्थाका बावजुुद पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन, निर्माण सामग्री व्यवस्थापन, आयोजना कार्यालय र स्थानीय तहसँग समन्वय गरेर निर्धारित समयमै काम सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधी जिवन रोकायाले बताउनुभयो । गत असारमै अधिकांश काम सकिएको भएपनि आयोजना कार्यालयमा बजेट अभावका कारण निर्माण अवधी एक महिना पछि धकेलिएको उहाँले बताउनुभयो ।

छुसाङ–चैले खण्डको उकालो सडकमा खाल्डाखुल्डी भएको, नाली र कल्भर्ट नहुँदा यातायात सञ्चालनमा असहज भएको थियो । कालीगण्डकीको कटानबाट जोखिममा परेको छुसाङको उपल्लो मुुस्ताङ गेटमा रहेको मोटरेबल पुल र पहुँचमार्गको ग्यावीयन पर्खाल बनाएर संरक्षण गरिएको छ ।

निर्माण व्यवसायीमा इच्छाशक्ति, स्थानीय स्तरमा काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजिकरण तथा समन्वय गर्ने हो भने विकास निर्माणका काममा ढिलासुस्ती हटाउन सकिने सन्देश छुसाङ–चैले सडक स्तरोन्नति योजनाले दिएको छ ।

 

Leave a Reply