किसानका लागी आफूले लगाएको बाली जोगाउन सबै भन्दा सकसको विषय बन्दै गएको छ। आफूले लगाएको अन्नबाली जोगाउन अनेक उपाय अपनाउँदा आफ्नै ज्यान जाने गरेका थुप्रै घटनाहरू छन्।

यही बुधवार बेलुका भुमिकास्थान नगरपालिका वडा नम्बर १०, धनचौरमा एक जनाको विद्युतीय पासोमा परेर ज्यान गएको छ। धनचौरको पाकुमा आफ्नै घरको बारीमा जङ्गली जनावरलाई लगाएको विद्युतीय पासोमा करेन्ट लाग्दा ४६ वर्षीय ज्ञानुकला चुँदालीको ज्यान गएको हो।

साँझ खाना खाएर बाहिर निस्किएकी ज्ञानुकला धेरै अबेरसम्म घरमा नआएपछि परिवारले उनको खोजी गरेको थियो। सोही क्रममा उनी बारीमा मृत फेला परेकी थिइन्। आफ्नो अन्नबाली जोगाउन थापेको विद्युतीय पासोमा परेर उनको मृत्यु भएको वडा अध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए।

पोष्टमार्टम रिपोर्टका अनुसार पनि उनको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको प्रहरीले जनाएको छ। बाँदर, बँदेल र दुम्सीबाट बारीमा लगाएको मकै जोगाउन खोज्दा ज्ञानुकलाले ज्यान नै गुमाउन प¥यो। उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमान् चुरामणी चुँदालीलाई लापरबाही अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।विगत दुई वर्षयता विद्युतीय पासोमा परेर मृत्यु भएको यो चौथो घटना हो।

गाउँघरमा फल्दै गरेका मकै बाँदरले नोक्सान गरेपछि स्थानीयहरूले अनेक उपायहरू अपनाउँछन्। विद्युतीय पासो थाप्ने, भिड जम्मा भएर लखेट्ने, बन्दुक पड्काएर तर्साउने/मार्ने, कुकुरको प्रयोग गर्ने, गुलेलीले हान्ने जस्ता उपायमार्फत उनीहरू अन्नपात जोगाउन प्रयासरत रहन्छन्। तर, जनावरलाई भनेर खनेको खाल्डोमा आफै पर्ने गरेका छन्। जस कारण अकालमा ज्यान गुमाउनु परेका घटना घट्छन्।

कतिपयले जङ्गली जनावरलाई भगाउन जङ्गलमा आगो लगाउने गर्दछन्। आगो नियन्त्रण गर्न नसक्दा गाउँ बस्तीमा आगो पस्ने र कयौँको ज्यान समेत जाने गरेको छ। जनावरलाई मार्न खोज्दा यहाँका किसान मानवीय क्षति खेप्न बाध्य छन्।

यहाँका स्थानीय तहले खेती जोगाउन विभिन्न उपाय अपनाएपनी पूर्णतः सफल भने देखिएका छैनन्। जङ्गली जनावर लखेट्न हेरालुको व्यवस्था गर्ने देखी तार जाली बाँड्ने, भोटे कुकुर वितरण गर्ने, बाँदर लखेट्ने यन्त्र (गन) समेत वितरण गरे। तर, किसानको सास्ती भने कम भएको छैन। उनीहरूको दैनिकी अन्नबाली जोगाउने कसरी ? लखेट्ने कसरी ? र आफू जोगिने कसरी भन्नेमै बित्छ। nagariknews.com

Leave a Reply