म्याग्दीको बेनी नगरपालिका-४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेड मार्फत गत आर्थिक वर्ष २०८०÷०८१ मा कृषकहरुले झण्डै एक लाख लिटर दूध विक्री गरेका छन् । सहकारीले आर्थिक वर्ष २०८०÷०८१ मा ७२ जना कृषकहरुबाट ९२ हजार एक सय ५३ लिटर दूध संकलन गरी विक्री बितरण गरेको हो । शुभकामना कृषि सहकारी संस्था लिमिटेडका दूग्ध संकन संयोजक कोपिलाल पौडेलले दिनुभएको जानकारी अनुसार आफ्नै क्षेत्रमा दूध विक्री गर्न पाउँदा कृषकमा उत्साह थपिएको छ । ७२ जना कृषकले दूध ल्याउने भए पनि नियमित रुपमा दूध ल्याउने ६६ जना कृषक रहेको उहाँको भनाई छ ।

सहकारीले हरेक दिन बिहान ५ बजे र बेलुका पनि ५ बजे संस्थाको कार्यालयमै आधुनिक प्रविधिको प्रयोग गरेर दूध संकलन गर्ने गर्दछ । दूधमा भएको चिल्लो पदार्थ तथा अन्य तत्वहरुको मात्राका आधारमा मुल्य निर्धारण गरेर कृषकलाई दूधको रकम भुक्तानी गर्ने गरेको संस्थाले जनाएको छ ।

सहकारी संस्थाले संकलन गरेको दूधलाई बेनी नगरपालिका–४ सिंगामै प्याकेजीङ गरेर फुटकर विक्री गर्नुका साथै बेनी नगरपालिका–७ र ८ बेनी बजारमा रहेका डेरीहरुमा विक्री बितरण गर्दै आएको छ । आफ्नै गाउँघरमै दूध संकलन हुने भएपछि कृषकहरु पनि उत्साहीत भएर दूग्ध संकलन केन्द्र सम्म आफै पु¥याउने गरेको शुभकामना कृषि सहकारीका दूग्ध व्यवस्थापनका कर्मचारी डण्डापाणी पौडेलले जानकारी दिनुभयो ।

सहकारीका दूग्ध संकलन तथा व्यवस्थापन संयोजक समेत रहनुभएका कोपिलाल पौडेल सहकारीमा सबै भन्दा धेरै दूध ल्याउने कृषक पर्नुहुन्छ । उहाँले गत आर्थिक वर्षमा पाँच हजार एक सय लिटर दूध सहकारीमा ल्याउनुभएको थियो । त्यस्तै अर्का कृषक नर्मता पौडेलले चार हजार तीन सय तीन लिटर र कासीनाथ पौडेलले तीन हजार आठ सय ६४ लिटर दूध सहकारीमा ल्याउनु भएको थियो । सहकारीले नियमित रुपमा धेरै दूध ल्याउने कृषकलाई प्रतिलिटर साढे २ रुपियाँ अनुदान समेत दिने गरेको छ ।

कोपिलाल पौडेल गत वर्ष सहकारीको साधारणसभाबाट दूग्ध संयोजकका रुपमा सहकारीको दूध व्यवस्थापनको काम हेर्न थाले पछि कृषकहरुलाई आवश्यक पर्ने गाइ तथा भैसी व्यवस्थापन समेत गर्ने गरेको बताउनुभयो । नर्मता पौडेलले आफू लगायतका कृषकहरुलाई गाइभैसी व्यवस्था गर्नुका साथै खरिदका लागि आवश्यक पर्ने ऋण सहकारी मार्फत नै व्यवस्थापनमा समेत गर्ने गर्नुभएको छ ।

सहकारीमा दूधको खाता खोलेर नियमित रुपमा दूध ल्याउने कृषकलाई सहकारीले उनीहरुको खाता देखिएको दूधको रेकरर्ड अनुसार पैसा पनि सहकारीमै खेलेको खातामै जम्मा गरिदिने गरेको सहकारीका अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कृषकहरुले पालेका गाइभैसीको दूध संकलन गर्दा पैसा चलायमान हुने र कृषकहरु पनि आम्दानी सँग जोडिने भएकाले पनि दूग्ध संकलन तथा बिक्रीको काम सहकारीले गर्ने गरेको उहाँको भनाई छ । हाल सहकारीमा नियमित दूध ल्याउनेमा महिला ३५ जना र पुरुष ३१ जना रहेका छन् । नियमित रुपमा सहकारीमा दूध ल्याउने र सहकारीले तोकेको समयमा खातामा पैसा जम्मा गर्ने गरेको सहकारीका दूग्ध संयोजक पौडेलले बताउनुभयो ।

त्यस्तै सिंगामा रहेको शुभकामना कृषि सहकारी मार्फत दूध संकलन गरेर विक्री गर्ने कृषकहरुले गण्डकी प्रदेश सरकार बाट दूधमा आएको अनुदान रकम समेत प्राप्त गरेका छन् । कृषकले प्रति लिटर दुई रुपियाँ ५० पैसाका दरले बिक्री अनुदान समेत प्राप्त गरेको सहकारीका प्रवन्धक दिपक सापकोटाले बताउनुभयो । उहाँका अनुसार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत कृषकहरुले कुल एक लाख ९८ हजार चार सय ७७ रुपियाँ प्राप्त गरेका छन् ।

दैनिक १० लिटर भन्दा बढी नियमित दूध ल्याउने कृषकहरुलाई सहकारीले समेत आफ्नो आन्तरीक श्रोतबाट अनुदान दिने गरेको दूग्ध संयोजक पौडेलले बताउनुभयो । आफ्नै क्षेत्रमा दूध संकन हुने हुँदा घरमा पालेका गाइभैसीको दूध बजार सम्म पठाउन सहज भएको दूग्ध कृषक तथा धौलागिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक भुवन रेग्मीले बताउनुभयो ।

Leave a Reply