बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई घटनामा ८ जनाको मृत्यु भएको छ । घटनामा ४ जना बेपत्ता छन् । १० जना घाइते भएका छन् । जुन घरमा आश्रय लिन गयो, त्यही घर बगायो र ठूलो घटना भयो । मंगलबार बिहान बागलुङको बडिगाडमा पहिरोले आश्रय लिन गएकाहको समेत मृत्यु भएको हो ।

Adv

मंगलबार बिहान बडिगाड गाउँपालिका १० को आरुपाटा बस्ने जोगबहादुर बुढाको घर पहिरोले पुरेको थियो । घटनामा घरधनी ७८ वर्षीय जोगबहादुर बुढासहित ६ जनाको मृत्यु भएको हो । उक्त घटनामा ७ वर्षकी मालती बुढा, ११ वर्षकी सीता पुन, ८ वर्षका अमल बुढा, सोही घरमा आश्रय लिन पुगेकी छिमेकी सञ्जु बिकको ६ महिने छोरी सीता र ७० वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको हो ।


उक्त पहिरोले घरगोठसहितका संरचना बगाएर दर्लिङ खोलामा पु¥याएको छ । घटनामा १४ वर्षीय यमलाल बिक, १० वर्षका मनोज बुढा, वर्ष ३ का आरुष थापा र वर्ष ११ का सुमन बिक बेपत्ता छन् । मंगलबार बिहानै वडा नं. ९ को बलघाँसमा खसेको पहिरोले १५ वर्षीय विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको छ । घर पछाडि आएको बाढी पन्छाउन जाँदा उनीहरुलाई पहिरोले पुरेको थियो ।

अत्याधिक वर्षातले कुलोमा खोला पसेपछि घर घरमा बाढी आएको थियो । बिहान पनि वर्षात नरोकिएपछि सुरक्षित हुन खोजेर छिमेकीहरु बुढाको घरमा आश्रय लिन पुगेका थिए । त्यहीं समयमा ठूलो पहिरो खसेर उनीहरु बसेकै घर पुरिँदा ठूलो क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

घटनास्थलदेखि माथि रहेको कुलोमा बाढी पसेपछि ढुंगामुढाले पानी थुनिएको र त्यसले धार परिवर्तन गरेर पहिरो खस्दा बुढाको घर पुरिएको स्थानीय प्रत्यक्षदर्शीले बताए । अत्याधिक पानी परेपछि वडा नं. ९ र १० सहित त्यसकै पछाडि पर्ने गुल्मीमा पनि बाढी पहिरोले असर परेको छ । वडा नं. १० को घटनामा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षका मंगलसिं बुढा गम्भीर घाइते भएका छन् । घटनास्थलमा स्थानीयबासी, नेपाली सेनाको श्रीमेहर गणका जवान र नेपाल प्रहरीले उद्दार गरेको थियो । खोजी उद्दार नियमित चले पनि प्रतिकुल मौषमले समस्या भएको प्रहरी उपरीक्षक ऋषिराम कंडेलले बताए ।

घाइतेको उद्दारका लागि आएको सेनाको हेलिकोप्टर पनि घटनास्थल पुग्न सकेन । खराब मौषमका कारण घटनास्थल पुग्न नसकेपछि हेलिकोप्टर बागलुङ फर्काएर सेनाको २३ नम्बर बाहिनीमा राखिएको छ । घटनास्थलमा स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पुगेर घाइतेको प्राथमिक उपचार गरेका थिए । हेलिकोप्टर नआउने भएपछि स्ट्रेचरमा बोकाएर उनीहरुलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको वडाध्यक्ष वीरेन्द्र बुढाले बताए ।

घटनास्थल सदरमुकामदेखि १ सय किलोमिटर पश्चिममा पर्छ । स्टेचरमा बोकेर मध्यपहाडी लोकमार्गको छेउमा लैजान पनि तीन घण्टा लाग्छ । घटनास्थल जाने झोलुंगे पुलमा पनि पहिरोले क्षति पुगेपछि उद्दारकर्ताहरु घुमाउरो बाटो जानुपरेको थियो । वर्षातपछि बढेको खोला र पहिरोले वडा नं. १० को आरुपाटा र वडा नं. ९ को बलघाँसमा सयौं रोपनी जमिनमा लगाइएको धान खेत पनि पुरिएको छ । बाढीले खेत बगर बनेको हो ।

Leave a Reply