नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

इरानमाथि सोझो सेटमा जित निकालेपछि पत्रकार सम्मेलनमा कप्तान अरुणाले छिमेकी राष्ट्र भारतसँगै जस्तोसुकै अवस्थामा पनि नेपालले राम्रो खेल्दै आएको स्मरण गर्दै सोही मानसिकता र प्रदर्शन दोहोरिने विश्वास व्यक्त गरेकी हुन् ।

कप्तान अरुणा शाहीले इरान जस्तै भारतलाई पनि फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन् ।

इरानलाई सुरुदेखि नै दबाबमा राखेर खेल्नुपर्छ भन्ने उद्देश्यसहित कोर्टमा उत्रनु नै जितको बलियो आधारमा रहेको बताइन् । पछाडि परेको अवस्थामा पनि सोही मानसिकता साथ खेल्दा पुनरागमनसँगै जित सम्भव भएको उनको भनाइ छ ।

‘दोस्रो सेटमा २४–२१ ले पछि थियौं । तर, हाम्रो बलियो मानसिकताअनुरूप खेल्दा त्यो अंक भेट्टायौं । जुन जितको आधार पनि बन्यो,’अरुणाले भनिन् ,‘इरानलाई सोझो सेटमै हराउँछौं भन्ने उद्देश्य थियो । त्यसमा पनि सफल भयौं । आज ड्रप बल हुन नदिने भन्ने थियो र त्यो योजनाअनुरूप पनि भयो ।’ करुणाले इरानसँगको पहिलो खेलमा उनीहरू महत्वपूर्ण पक्ष बुझ्न नसकेको र सेमिफाइनलमा उनीहरूको बलियो पक्षलाई रोक्न सफल भएको बताइन् । फाइनलमा अझ केही सुधार गर्दै उपाधि सुरक्षित गर्न बलियो रणनीतिका साथ खेल्ने कप्तान शाहीको आशा छ ।

नेपालका प्रशिक्षक जगदीश भट्टले इरानसँग सेमिफाइनल खेल्नुअघि आफ्ना खेलाडीको मानसिकता बलियो बनाएकाले सोझो सेटमा जित्ने लक्ष्य पूरा भएको बताएका छन् । सेमिफाइनलमा उषा भण्डारी र निरुता ठगुन्नाको पोजिसन परिर्वतन गरेर खेलाउने रणनीति सफल भएको खुलासा गरे । बीचमा इरानको बलियो ब्लक हुने भएकाले त्यो स्थान खाली राखेर उषालाई नयाँ जोनबाट खेलाउने रणनीति सफल भएको प्रशिक्षक भट्टको विश्वास छ ।

उनले इरानभन्दा भारतसँग खेल्न सजिलो हुने भएकाले फाइनलमा अझ राम्रो खेल हुने आशा गरेका छन् ।

Leave a Reply