जल तथा मौसम विज्ञान विभागले मङ्गलबार र बुधबार हुने भारी वर्षाका कारण गण्डकी प्रदेशका नौ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यहाँका सर्वसाधारणदेखि सरोकार भएका निकायलाई उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ ।

मङ्गलबार विशेष सूचना जारी गर्दै प्राधिकरणले कास्की, बागलुङ, म्याग्दी, पर्वत, गोरखा, लमजुङ, नवलपुर, स्याङ्जा र तनहुँ वर्षाको उच्च जोखिममा रहेको जनाएको छ । प्राधिकरणले उच्च जोखिममा रहेका जिल्लामा रातको समयमा यात्रा गर्दा जोखिम निम्तन सक्ने हुँदा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न आग्रह गरेको छ ।

विपद्को जोखिममा रहेका सर्वसाधारणलाई जिल्ला र स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षित आश्रयस्थलमा सार्न प्राधिकरणले सूचित गरेको छ । भारी वर्षा हुनसक्ने जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने जनाउँदै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन भनिएको छ । भारी वर्षा भइरहेका बेला अत्यावश्यक नपरी यात्रा नगर्न तथा नदी किनार र पहिराको जाखिममा रहेका बासिन्दालाई विशेष सतर्कता अपाउन प्राधिकरणले अनुरोध गरेको छ ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि वर्षाले निम्ताउने विपद्बाट जोगिन विशेष सावधानी र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । भारी वर्षापछि बागलुङको बडिगाड गाउँपालिका–२ र दसमा मङ्गलबार खसेको पहिरामा परी आठ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । पहिरोमा परी दस जना घाइते भएको प्रहरीले जनाइएको छ ।

Leave a Reply