विश्वकै उच्च स्थानमा गल्फ प्रतियोगिता हुने भएको छ । यही भदौ १ गते लोमान्थाङको मुस्ताङ गल्फ क्लबमा उक्त प्रतियोगिता हुन लागेको हो ।

तेस्रो संस्करणको प्रतियोगितामा झन्डै ६० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधरा बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने उद्धेश्यका साथ १५ जना भारतीय खेलाडीहरु पनि आउने छन्। “उच्च उचाइको कारणले, प्रतियोगिता नौ होलमा स्टेबलफोर्ड ढाँचामा खेलिनेछ । विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन, र लङेस्ट ड्राइभका लागि पनि पुरस्कार प्रदान गरिनेछ,” उहाँले भन्नुभयो । 

उहाँले होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीलाई याक प्रदान गरिने बताउनुभयो । उक्त पुरस्कार कुनै पनि गल्फ प्रतियोगितामा अनौठो र चाखलाग्दो पुरस्कार रहने उहाँको भनाइ छ । यो पटकको प्रतियोगितामा साढे सात लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको विष्टले जानकारी दिनुभयो ।

“यो गल्फ कोर्स सिर्जना गर्नु मेरो सपना रहँदै आएको छ । म आशा गर्दछु कि संसारभारका गल्फरहरुले यस गल्फ कोर्सलाई आफ्नो बकेट लिस्टमा राख्नेछन् । आर्दश रुपमा मेरो लक्ष्य यो विश्वकै उच्चतम गल्फ कोर्समार्फत देशमा पर्यटन प्रवद्र्धन गर्नु हो,” उहाँले भन्नुभयो ।

२०२२ अगस्टमा उद्घाटन गरिएको मुस्ताङ गल्फ कोर्सले २० मिलियन सदस्यता अग्रणी गल्फ पत्रिका गल्फ डाइजेस्टमा अभुतपूर्व कभेरज प्राप्त गरेको उहाँले सुनाउनुभयो । यस कोर्सलाई गल्फ डाइजेस्ट र गल्फ च्यानलबाट विश्वको उच्चतम उचाइमा रहेको गल्फ कोर्स (४६४५मि) को रुपमा मान्यता दिइएको विष्टले जानकारी दिनुभयो । “आउँदो दिनहरुमा मुस्ताङ गल्फ कोर्सलाई विश्वको उच्चतम उचाइमा रहेको गल्फ कोर्सको रुपमा प्रचार गरिनेछ र सम्पूर्ण सरोकारवालाहरुले देशमा उच्च स्तरीय पर्यटन ल्याउन हातेमालो गर्नेछन्,” उहाँले भन्नुभयो ।

Leave a Reply