हिजोआज जीवनशैली व्यस्त हुने आमाहरुको संख्या बढ्दो छ। जसका कारण उनीहरुले शिशुलाई नियमित स्तनपान गराउन चुकिरहेको पाईन्छ। त्यसो त शारीरिक सुन्दरता बिग्रन्छ भन्ने भ्रमका कारण पनि स्तनपान नगराउने आमाहरु भेटिन्छन्। यसरी नियमित स्तनपान नगराउँदा आमालाई क्यान्सरको जोखिम हुने चिकित्सकहरुले औल्याएका छन्।

कान्तिपुर हेल्थ अनलाईनले विश्व स्तनपान सप्ताहको अवसरमा आज भरतपुरमा  आयोजना गरेको “स्तनपानको महत्वः चिकित्सक–पत्रकार अन्तक्र्रिया कार्यक्रम” मा चिकित्सकले नियमित स्तनपान नगराउने आमालाई ब्रेष्ट र डिम्बासयको क्यान्सर हुने बताएका हुन्।

कार्यक्रममा भरतपुर अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा.डा. सुनिलमणि पोखरेलले स्तनपान गराउँदा आमाहरुको अक्सिडेसन हर्मोन बृद्धि हुने र त्यसले क्यान्सर हुनबाट जोगाउने बताए।

‘आमाको पहिलो बिगहुँते दूधमा अक्सिडेसन हर्मोन बढी हुन्छ, दूध चुसाउँदा पाठेघर खुम्चिन्छ, जसले रक्तश्राव हुनबाट जोगाउँछ।’ उनले भने,‘रक्तश्राव हुनबाट जोगिएको अवस्थामा डिम्बासयको क्यान्सर हुने जोखिम कम हुन्छ।’  अक्सिडेसन हर्मोनमा शिशुलाई आवश्यक पर्ने तत्व पनि बढी हुने उनको भनाई छ।

उनले नियमित स्तनपान नगराउने आमाको स्तनमा बोसो जम्मा हुने र क्यान्सर समेत गराउन सक्ने बताए। उनका अनुसार ६ महिनासम्म शिशुलाई आमाको दूध मात्रै खुवाउनु पर्ने र कम्तीमा दुई वर्षसम्म पुरक खाना सहित स्तनपान गराउनु पर्दछ।

सो अवसरमा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. श्वेताकुमारी गुप्ताले आमाको दूधमा प्रशस्तत मात्रामा पौष्टिक आहारा हुने भएकाले शिशुका लागि रोग प्रतिरोधात्मक हुने बताइन्। उनले भनिन् ‘आमाको दूधमा जस्ता पौष्टिक तत्व कुनै वस्तुमा हुँदैन । स्वस्थ, सफा खाना आमाको दूध हो।’

उनका अनुसार नियमित स्तनपान गर्ने बच्चालाई श्वासप्रश्वास, निमोनिया, झाडापखाला जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ। बच्चाको शारीरिक विकास हुने भएकाले बच्चाको मांसपेशी र गिँजाको गुणस्तर समेत राम्रो हुने डा. गुप्ताको भनाई छ।

व्यस्तताका कारण नियमित स्तनपान गराउन नसक्ने आमाहरुले आफ्नो दूध पहिले नै संकलन गरेर राख्न सक्ने उनले बताइन्। उनले भनिन् ,‘व्यस्त जीवनशैली भएका आमाहरुले दूध दुहेर चार घण्टासम्म कोठाको तापक्रममा राखेर शिशुलाई खुवाउन सकिन्छ। उक्त दूधलाई परिवारका आफन्तले पछि शिशुलाई आवश्यक परेको बेला खुवाउन सक्छन्।’

फ्रिजमा राख्दा यस्तो दूध २४ घण्टासम्म खुवाउन सकिने उनको भनाई छ। एचआईभी/एड्स संक्रमित आमाहरुले पनि स्तनपान गराउन सक्ने भन्दै उनले शिशुमा स्तनपानबाट एचआईभी संक्रमण नहुने स्पष्ट पारिन्।

शिशुलाई सहज हुने गरी स्तनपान गराउन उनले सुझाइन्। पछिल्लो समय आमाहरुले अज्ञानताका कारण दूध चुसाउने तरिका नजान्दा आमाको दूध कम हुँदै जाने र शिशुलाई पनि दूधको मात्रा नपुग्ने गरेको उनले बताइन्। उनले भनिने,‘शिशुको चिउडोले दूध छुवाएर खुवाउनु पर्दछ, स्तनको कालो भाग पूरै शिशुको मुखभित्र पर्ने गरी चुसाउनु पर्दछ। जसले दूध पनि राम्रोसँग आउँछ।’

शिशुलाई स्तनपान गराउँदा आमाले मोबाईल चलाउन नहुने डा।गुप्ताले बताइन्। ‘आमाले मोबाईल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएन लगायत केही कुरा पनि जानकारी हुँदैन।’ उनले भनिन्, ‘बच्चाको माया ममता पनि कम हुन्छ।’ स्तनपान गराउने समयमा शिशुलाई सुम्सुमाउनु पर्ने बताइन्।

Leave a Reply