नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीले शहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ । मङ्गलवार रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा सञ्चालित ज्ञानोदय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई खाद्यान्न सामग्री सहयोग गरी स्मृति दिवस मनाइएको हो ।

दृष्टिविहिन विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामग्री खाद्यान्न, सरसफाइका सामग्री तथा मच्छेटदानी (झुल) गरी कुल १५ हजार रुपैयाँ बराबरको सामग्रीहरु सहयोग गरी दिवस मनाइएको नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले जनाएको छ । उक्त सामग्रीहरु सङ्गठनका जिल्ला अध्यक्ष सोमबहादुर केसी, केन्द्रीय सदस्य एवं सिबिए म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटाले रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी र रघुगंगा–३, राखुपिप्लेका वडा अध्यक्ष खिमबहादुर शाहीको रोहवरमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

दृष्टिविहिन विद्यार्थीहरुलाई लक्षित खाद्यान्नलगायत सामग्रीहरु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदीलाई हस्तान्तरण गरिएको थियो । सङ्गठनका जिल्ला अध्यक्ष केसीको अध्यक्षता, केन्द्रीय सदस्य सापकोटाको प्रमुख आतिथ्य, रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारी र वडाध्यक्ष शाहीको विशिष्ट आतिथ्य रहेको कार्यक्रमको सङ्गठनका जिल्ला उपाध्यक्ष भोलानाथ आचार्यले सञ्चालन तथा रघुगंगा गाउँपालिकाका प्रशासकीय अधिकृत पदमबहादुर भण्डारीले स्वागत गर्नुभएको थियो ।

यसअघि नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले स्मृति दिवसमा गलेश्वर ज्येष्ठनागरिक आश्रममा खाद्यान्न सामग्री, बाल सङ्गठनका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र बेनी अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरी स्मृति दिवस मनाएको थियो । दृष्टिविहिन विद्यार्थीहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेर यसपटक सदरमुकामभन्दा बाहिर कार्यक्रम गरी दिवस मनाएको सङ्गठनले जानकारी दिएको छ ।

Leave a Reply