म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित उद्यमशिलता सम्बन्धि तालिममा सहभागी उत्कृष्ट ५ विद्यार्थी छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा पठाइएको छ ।

देशभरका १४ सय क्याम्पसमा प्रतिस्पर्धा गरेको परियोजनाका लागि १८ वटा क्याम्पसमा छनौट भएको म्याग्दी बहुमुखीमा उद्यमशील बन्नका लागि छनौट भएका विद्यार्थीलाई लक्षित गरी आयोजित तालिममा १३ जना विद्याथीले कन्सेप्ट पेपरको प्रस्तुतीका आधारमा स्थानीय जनप्रतिनिधि, पर्यटन तथा उद्योग कार्यालय, बेनी नगरपालिका, म्याग्दी उद्योग बाणिज्य संघ, सफल उद्यमी र म्याग्दी क्याम्पसका प्रतिनिधिले ५ जनालाई छनौट गरिएको सहायक क्याम्पस प्रमुख एवम् सूचना अधिकारी नारायणप्रसाद सुबेदीले बताउनुभयो ।

४० दिने उद्यमशीलता सहायता कार्यक्रममा सहभागी भएर उत्कृष्ट ब्यवसायीक योजना तयार गरी छनौट हुनेमा मौरीपालनका लागि सुजता खत्री, फलफुल खेतीमा निरज हुमेन क्षत्री, टिम्बुर खेतीमा श्रीया श्रेष्ठ र श्रीकृष्ण अधिकारी, बंगुरपालनका लागि ढकबहादुर भण्डारी र चिया तथा फ्रेस जुसका लागि आशिका चोखाललाई छनौट गरी केन्द्रमा पठाइएको छ । विद्यार्थीको ब्यवसायीक परियोजनामा न्यूनतम साढे ८ लाखदेखि साढे ४० लाखसम्मको लागत प्रस्ताव पेश गरिएको क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो ।

‘उत्कृष्ट बिजनेस प्रपोजलसँगै म्याग्दीमा सम्भावना भएको क्षेत्र पहिचान गरी पठाइएको छ’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो । उहाँले तालिममा सहभागी भएरका अन्य विद्यार्थीले समेत पाठ्यक्रममा आधारित उद्यमी बन्न आवश्यक पर्ने ज्ञान, सीप र उत्प्रेरणा सम्बन्धि स्थानीय तथा राष्ट्रियस्तरका सफल उद्यमी, विषय विज्ञहरूले सहजीकरणपछि ब्यवसायिक परियोजना बनाएको बताउनुभयो ।

तालिममा विद्यार्थीले विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकबाट व्यवसायिक योजना, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लागत र लाभ विश्लेषण, बैकिंङ सुविधाको उपयोग, ऋण लगानी लगायत विविध विषयमा सहजीकरण गरिएको परियोजना संयोजक रामजीप्रसाद सुबेदीको भनाई छ । तालिम अवधिभर विद्यार्थीलाई उद्यमशिलता सम्बन्धि सैद्धान्तिक, अध्ययन अवलोकन भ्रमण, विषय विज्ञ र सफल उद्यमीहरूको अनुभवका लागि जिल्ला बाहिर समेत लगिएको थियो ।

म्याग्दीबाट पठाइएको ५ विद्यार्थीको ब्यवसायीक योजना देशभरका १८ क्याम्पसका ९० परियोजनामध्येमा छनौट भएमा ब्यवसायको प्रकृति हेरेर अनुदानका लागि छनौट गर्ने,किस्ताबन्दीमा व्यवसायको प्रगतिअनुसार प्राप्त गर्नेछन् । परियोजना उत्कृष्ट भएमा एकै विद्यार्थीले ४० लाखसम्म पाउन सक्ने छन् । छनौट भएकाले यो रकम बिनाब्याज प्रयोग गर्न पाइने छ भने उद्यमशीलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ।

Leave a Reply