प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको दुईवर्ष पुग्नुभन्दा एकसाता अघि नै राजीनामा दिने घोषणा गरेका छन् । नेपाली कांग्रेससँगको सहमति अनुसार सत्ता हस्तान्तरणमा ओलीबाट इमान्दारीता हुने/नहुने भन्दै संशय व्यक्त गरिएका बेला उनले यस्तो घोषणा गरका हुन् ।

मंगलबार सिंहदरबारमा सरकारमा सहभागि मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू दुई वर्षका लागि मात्रै प्रधानमन्त्री बनेको दाबी गरे ।

‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो,’ प्रधानमन्त्री ओलीले भने,‘दुईवर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन ।’ त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेर चुनावसम्म जाने उनले बताए । ‘यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

कांग्रेस–एमाले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी भएको बताउँदै प्रधानमन्त्री ओलीले राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन जितेर आएका पार्टीले मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको पनि बताए । उनले भने,‘त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन् ।’

असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर चाहीँ सफल नहुने पनि प्रधानमन्त्री ओलीले टिप्पणी गरे । ‘भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन । हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ,’ उनले भने,‘अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो ।’ सरकारले पक्ष प्रतिपक्ष भन्ने आधारमा भेदभाव नगर्ने पनि उनले बताए ।

Leave a Reply