म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले २ दिने एकीकृत पाठ्यक्रम र मुल्यांकन प्रणाली सम्बन्धि तालिम दिएको छ ।

विद्यालयको आयोजना र बेनी नगरपालिका शिक्षा शाखाको प्राबिधिक सहयोगमा शुक्रबार र शनिबार गरि २ दिन सम्म विद्यालयको अडिटोरियम हलमा तालिम सम्पन्न भएको हो । तालिमको शनिबार वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा. ली का अध्यक्ष यज्जन्लाल शाक्यले समापन गर्नुभएको छ ।

बहु विषय तथा बहु शिक्षकबाट फरक–फरक समयमा फरक विधि र अलग अलग विषयबस्तु शिक्षण गर्दा कसरी सिकाइमा सहसम्बन्ध कायम गर्न सकिन्छ, विद्यार्थीको बुझाईमा एकरुपता कसरी कायम गर्न सकिन्छ, सिकेका कुरालाई विद्यार्थीले व्यवहारमा प्रयोग गर्न कसरी सक्छन, विभिन्न विषय तथा विषयवस्तुको अन्तरसम्बन्ध र निरन्तर मुल्यांकन प्रणाली अन्तर्गत सिकारुको सिकाइ, सिकाइ उपलब्धीको व्यवस्थित लेखाजोखा, निश्चित समयावधि भित्र सिकारुले हासिल गरेको सिकाइको संचित प्रगतिको मूल्यांकन लगायतका विषयमा बेनि नगरपालिकाका शिक्षा अधिकृत कमल प्रसाद ढकाल र प्रशिक्षक केशबप्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो ।

२ दिन सम्म चलेको तालिममा मंटेसरी देखि कक्षा ५ सम्म अध्यापन गराउने ४३ जना शिक्षकहरु सभाभागी रहेका थिए । तालिममा सैद्दान्तिक र प्रयोगात्मक ज्ञान सहित पाठ्यक्रमको उद्देश्य अनुसार शिक्षण क्रियाकलाप, निरन्तर विद्यार्थी मुल्यांकन प्रणालीबारे सहज कर्ताले प्रशिक्षण दिनुभएको थियो ।

तालिम समापनको अवसरमा तालिमका सहजकर्ता एवं बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल प्रसाद ढकालले सरकारी विद्यलयमा यस्ताखालका तालिम प्रदान गर्ने गरिएको तर संस्थागत विद्यालयले आफ्नै खर्चमा तालिम संचालन गरेकोमा नगरपालिकाको तर्फबाट आभार प्रकट गर्नुभयो ।

प्रशिक्षक केशवप्रसाद रेग्मीले विद्यालयले शिक्षकहरुलाइ आफ्नै लगानीमा तालिम सन्चालन गरेकोमा धन्यवाद र सहजीकरण गर्ने अवसर प्रदान गरेकोमा आभार प्रकट गर्नुभयो । तालिम समापनको अवसरमा प्रशिक्षक द्वय कमल प्रसाद ढकाल र केशब प्रसाद रेग्मीलाई मायाको चिनो साथै तालिममा सहभागी सम्पूर्ण शिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

समापन कार्यक्रमा संस्थापक निर्देशक हरिकृष्ण श्रेष्ठ, विद्यालायाकाप्रिन्सिपल डीबी दाहालले मन्तब्य ब्यक्त गर्नुभएको थियो कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष यज्जनलाल शाक्यको अध्यक्षता र संचालन भाइस प्रिन्सिपल सरोज लकान्द्रीले गर्नुभएको थियो ।

Leave a Reply