म्याग्दीको विकासका लागि ‘लाइफ लाइन’ भनिएका बेनी–जोमसोम र बेनी–दरबाङ सडकले जनतालाई सुविधा बढि दिए की सास्ती? अहिले यही विषयलाई लिएर जिल्लामा वहस हुने गरेको छ ।

विकास (सुविधा) का लागि सडकलाई पहिलो पूर्वाधार मानिन्छ । तर म्याग्दीको सन्दर्भमा भने सडककै कारण जनताले पाएको सास्ती र सुविधाको तुलना गर्नुपर्दा ढुक्कसँग सुविधा बढि भनेर भन्न सकिने अवस्था छैन । सुविधाकै लागि भनेर सडक निर्माण गरिन्छ । सडक यात्रीहरुको सुविधाका लागि मात्र नभएर ढुवानी, बजारीकरण र गाउँ र सहरलाई जोड्ने माध्यम पनि हुन् । सडक जनताको जीवनस्तर बृद्धि गर्ने साधन पनि हो ।

म्याग्दीको सदरमुकाम बेनी बजार राष्ट्रिय राजमार्ग (बेनी–मालढुङ्गा–पोखरा) सँग जोडिएको करिव तीन दशक भयो । विसं २०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर विसं २०५२ मा मार्ग खुलेको बेनी–मालढुंगा सडक निर्माण भएपछि म्याग्दी राष्ट्रिय राजमार्गसँग जोडिएको थियो ।

जिल्ला सदरमुकाम बेनी राष्ट्रिय राजमार्गसँग जोडिएको १२ वर्ष पछि २०६४ सालमा नेपाली सेनाले बेनी–जोमसोम सडकको ट्याक खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको हो ।

७६ किलोमिटर दुरीको यो सडक सडकमार्गबाट हिमालपारीको जिल्ला मुस्ताङलाई देशको संघीय राजधानी काठमाण्डौं,प्रदेशको केन्द्र पोखरा लगाएत देशका अन्य सहरहरुसँग जोड्ने एकमात्र माध्यम हो । कालीगण्डकी नदीको तिरैतिर,अनेकौ भीर र पहरालाई छिचोल्दै यात्रा गर्नुपर्ने यो सडकको अन्य कुनै विकल्प नहुँदा ज्यानको माया मारेर यात्रा गर्नुपर्ने वाध्यता रहेको छ ।

उक्त सडकमा खस्ने पहिराले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नाका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गत असारयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेकाले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कंदै गरेका रमेश अधिकारीले जानकारी दिनुभयो ।

“मार्ग ‘ट्र्याक’ खुलेको १७ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ” उहाँले भन्नुभयो ।

“सरकारले राष्ट्रिय गौरवको आयोजना भनेर परिभाषित गरेको कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोड सडक जोखिमको पर्याय बनेको छ । यो सडकको न अर्को कुनै विकल्प छ न त सडक वन्द गर्न सकिने अवस्था नै ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ वटा सानाठूला पहिरा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताउनुभयो ।

“ती पहिरोहरुमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा हुन् भने १४ पहिरोलाई जोखिमयुक्त पहिरोको सूचीमा राखेका छौँ” आयोजना प्रमुख झाले भन्नुभयो ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरो सहित सबै पहिरो ब्यवस्थापनमा ७० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने बताइएको छ ।“अति जोखिमयुक्त र जोखिमयुक्त पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन” आयोजना प्रमुख झाले भन्नुभयो ।

पाखोबाट खस्ने ढुङ्गा र पहिराले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ । दुई वर्षदेखि बैसरीमा पनि पहिरो खस्न सुरु भएको छ । वैकल्पिकरुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिराले रोकिनुपर्ने अवस्था छ ।

भीर खनेर बनाइएको बेनी–जोमसोम–कोरला सडक,सडक माथि र तल भिर, भिरमाथिको पाखो, भूमिगत पानी र पहिरोले चिराचिरा परेको भूगोल भएको हुँदा यो सडकमा पहिरो खसिरहने हुँदा जोखिम बढ्नुका साथै सडक अवरुद्ध हुने गरेको सडक खण्डका सुपरभाइजर तथा दानाका व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहने र ठाउँठाउँमा पहिरो जाने भएकोले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरोले बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त रहेको प्रहरीले जनाएको छ ।

उक्त सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत सात वर्षदेखि स्तरोन्नति र चार वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख झाले बताउनुभयो ।

भीरकोट र बाँदरजुङ्गे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । गत सोमबार गलेश्वरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि बेनी–जोमसोम–कोरला सडकको उत्पन्न गरेको समाधान विहीन समस्याको विषयमा छलफल भएको थियो ।

आयोजना प्रमुख झाले विकल्प विहीन सडकले निम्त्याएको जोखिम र समस्याका बारेमा आयोजना एक्लैले केही गर्न नसक्ने र सवै पक्षको उत्तिकै चासो रहनुपर्ने बताउनुभएको थियो ।

“प्रदेशकै लाइफलाइन मानिएको सडकमा बर्सेनि कैयौँ व्यक्तिहरुको ‘लाइफ इन्ड’ हुने गरेको छ”, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भन्नुभयो “२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधि प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।”

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । बर्षातको समयमा बर्षाजन्य बिपदका कारणबाट हुने सवारी दुर्घटनालाई मध्यनजर गदैं सडकखण्डको म्याग्दी क्षेत्रमा रहेको जोखिमपूर्ण स्थानमा पहिरोग्रस्त लेखिएको सूचनाबोर्ड राखिने, रातको समयमा यात्रा गर्दा फस्ने यात्रुलाई उद्धारमा समस्या हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।

“रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ,बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौ, ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ” प्रजिअ ढकालले भन्नुभयो । पहिरो खस्ने र खोलामा पानीको सतह समेत बढेको खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने सकिने भएपनि अहिले सडकको अवस्था हेरेर यात्रा गर्न सहजिकरण गरिने प्रजिअ ढकालको भनाई छ ।

‘अति जोखिमपूर्ण’ चारओटा पहिरो पहिचान

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडक खण्डमा चारओटा ‘अति जोखिमपूर्ण पहिरो’पहिचान भएका छन् ।

जियोलोष्टिहरुबाट अहिले भइरहेको भौगर्भिक अध्ययन अनुसार बेनीदेखि लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ वटा सानाठूला पहिरा रहेकोमा वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा पहिचान भएका बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख ध्रुव झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर पहिरोलाई जोखिमपूर्ण पहिराको सुचिमा राखिएको छ । पहिरोको वृस्तित अध्ययन भइरहेकोले पहिरो नियन्त्रणका लागि लागत इस्टिमेट तथा डीपीआर निर्माण गर्ने काम भने अझै बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

“बेनी–जोमसोम–कोरोला सडकको म्याग्दी खण्डमा पर्ने ३८ किमी सडक खण्डमा पर्ने पहिराको भौगर्भिक अध्ययन भैरहेको छ, अहिलेसम्म चारओटा अति जोखिमयुक्त पहिरो पहिचान गरी सूचिकृत गरिएको छ” आयोजना प्रमुख झाले भन्नुभयो ।

“बेनी–लेते खण्डमा रहेका ३५ ओटा पहिराहरुमध्ये नौ ओटा पहिरो मनसुन सिजनमा यात्रा जोखिमपूर्ण रहेका पाइएको छ” मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजना इन्जिनियर विष्णु चापागाईंले भन्नुभयो “यी स्थानमा वर्षा हुने वित्तिकै पहिरो खस्ने भएकोले मनसुन अवधिभरका लागि एक्स्काभेटर र लोडर स्ट्यान्डबाई राखेका छौं । यो सडकमा यात्रा गर्दा अलि सचेत हुनु पर्ने देखिएको छ ।”

मनसुन सुरु भएपछि बेनी–लेते खण्डका यी पहिरोहरूले दिनमा कहीँ न कहीँ यातायात अवरुद्ध हुन्छन् । पहिरोग्रस्त भिरमाथिबाट पानी पर्दा निरन्तर लेदो र ढुङ्गा खस्ने भएकोले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन् ।

बेनी–जोमसोम सडकमा पर्ने पहिरोहरूको समयमा नै ट्रिटमेन्ट नगर्ने हो भने भविष्यमा गम्भिर संकट निम्तन सक्ने बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख झाले बताउनुभयो । अति जोखिमयुक्त मानिएका बैसरी, सिरुवारी, गुइठे र खामभित्ता पहिरोमा जमिनभित्र मूल निक्लने र भित्रभित्र बग्ने समस्या रहेकोले अति कम्प्लेक्स देखिएकोले पहिरोभित्र पाइप छिराएर होरिजेन्टल ड्रेनमार्फत जमिनभित्रको पानी बाहिर निकाल्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

 

 

Leave a Reply