म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले म्याग्दीको बेनी नगरपालिका-९,प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बस्ने ज्येष्ठ नागरिकलाई फर्निचर सहयोग गरेको छ ।

गण्डकी प्रदेश समन्वय परिषद् कतारले प्रदेश मातहतका जिल्लाहरूलाई अति आवश्यक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको ५० हजार रुपैयाँबाट ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्मित सभाहलमा सोफा सेट,२६ थान कुर्ची र कार्यक्रम सञ्चालनका लागि पोडियम हस्तान्तरण गरिएको छ ।

बेनी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष चक्रबहादुर केसीले ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनलाई हस्तान्तरण गरेका थिए । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोनाले ज्येष्ठ नागरिकलाई बसाईमा सहज तथा सभाहलमा आवश्यक फर्निचर खरिद गरी हस्तान्तरण गरेको मोना कतारका अध्यक्ष राजु पौडेलले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा मोना कतार बहुद्देश्यीय अक्षय कोषका कार्यसमिति सदस्य बालकृष्ण खत्रीले मोना कतारमार्फत म्याग्दीमा भएका सहयोगका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी,गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदी लगायतले मन्तब्य राखेका थिए । गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष सागर पौडेलले म्याग्दी जिल्लाका बृद्धबृद्धालाई सहयोग गर्ने अवसर दिने मोना कतारलाई धन्यवाद दिए । उनले मोना कतारमार्फत म्याग्दीमा भविस्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । म्याग्दीमा मोना कतारले बर्षेनी विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

Leave a Reply