म्याग्दी बेनी नगरपालिका-४,बास्कुनाका लालबहादुर केसीले बिहिबार गैर-आवासीय नेपाली नागरिकता लिएका छन् । न्यूजिल्यान्डका सफल नेपाली ब्यवसायी समेत रहेका एनआरएनए न्यूजिल्यान्डका अध्यक्ष केसीलाई प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले गैर आवासीय नागरिकता हस्तान्तरण गरेका थिए । केसी न्यूजिल्याण्डमा रहेका म्याग्देलीमध्ये एनआरएनको नागरिकता लिने पहिलो ब्यक्ति हुन ।

गत बर्षको जेठमा संशोधन भएको नागरिकता सम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैर आवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो। एनआरएन नागरिकतामा राजनीतिक अधिकार बाहेक बंसजको नागरिकतामा हुने सबै अधिकार प्राप्त गर्नेछन् ।

एनआरएन नागरिकताको सुविधाले अबका दिनमा विश्वभरी छरिएर रहेका गैरआवासीय नेपालीहरूबाट ठूलो मात्रामा धनसम्पत्ती नेपालमा भित्रिने छ र लगानी भित्राउन समेत उपयुक्त वातावरण बनेको अध्यक्ष केसीको भनाई छ ।‘यो अवसरका लागि नेपाल सरकारलाई धन्यवाद दिन्छु, विदेश जानु बाध्यता भएपनि स्वदेशमै केही गरौं भन्ने नेपालीहरू यो सुविधाले खुसी छन्’ केसीले भने ।

१६ बर्षदेखि जन्मभूमी बास्कुनामा सुन्तला खेती गरिरहेका केसीले गाउँका कृषकहरूलाई आधुनिक बगैँचा व्यवस्थापन गरी उचित मुल्यमा सुन्तला बगैंचाबाटै बिक्री वितरण र तालिम र प्रविधि हस्तान्तरणमा समेत सघाइरहेका छन् ।

अध्यक्ष केसीले न्यूजिरल्याण्डमा किबी खेती गरी उच्च गुणस्तरको किबी बिक्री गरिरहेको अवस्थामा नेपालबाट समेत विश्व बजारमा लैजानका लागि म्याग्दी, बागलुङ,पर्वत सहित गण्डकी प्रदेशमा किबी खेतीको सम्भावना भएका जिल्लालाई पहिलो किबी खेतीको हब बनाउने गरी अहिले प्रारम्भीक चरणको काममा ब्यस्त छन् ।

उनले नेपालबाट विश्वबजारमा फलफूललाई निर्यात गर्न सकिने प्रसस्तै सम्भावना रहेको बताउँदै नेपाली हावापानीमा उत्पादन भएका फलफूलको ग्रेडिङ गरी पठाउन सकिने अवस्थामा नेपाल सरकारबाट रचनात्मक सहयोग आवश्यक रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत कात्तिक १७ गतेदेखि गैर आवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको थियो। एनआरएनए नागरिकता हस्तान्तरण कार्यक्रममा संविधानसभाका सदस्य गोविन्द पौडेल, सहायक प्रजिअ धिरेन्द्रराज पन्त,नेकपा माओवादी केन्द्र म्याग्दीका अध्यक्ष शेरबहादुर केसी लगायतको उपस्थिती रहेको थियो ।

 

Leave a Reply