संयुक्त राष्ट्र सङ्घले सन् २०३० सम्म विश्वमा नयाँ महामारी फैलिने चेतावनी दिएको छ।

बदलिँदो जलवायु परिवर्तनका कारण विभिन्न प्रकारका जीवजन्तुहरूको वासस्थान नष्ट भएको हुँदा उनीहरूको अन्य जीवजन्तुहरूसँगको सम्पर्क बढेको भन्दै राष्ट्र सङ्घ अन्तर्गतको पर्यावरण कार्यक्रमले अबको ५–६ वर्षमा नयाँ महामारी फैलिने चेतावनी दिएको हो।

पर्यावरण कार्यक्रमले एक अर्कासँगको सम्पर्क बढ्दा जनावरलाई हुने रोगबाट मानिस झन् सङ्क्रमित हुने र उनीहरूमा जुनोटिक रोगको खतरा थप बढेर जाने चेतावनी दिएको छ। जुनोटिक रोग अर्थात् जनावरबाट मानिसमा सर्ने रोग हो।

राष्ट्र सङ्घको नयाँ प्रतिवेदनमा सन् २०३० सम्म जुनोटिक रोग एक नयाँ महामारीको रुपमा देखा पर्ने चेतावनी दिइएको छ।

युएनईपीले १६ जुलाईमा सार्वजनिक गरेको उक्त प्रतिवेदनमा जलवायु परिवर्तनका कारण फैलिने जुनोटिक महामारीका कारण मानिसहरू नराम्रोसँग प्रभावित हुने पनि उल्लेख गरिएको छ।

‘नेविगेटिङ्ग न्यू होराइजन्सः ए ग्लोबल फोरसाइट रिपोर्ट अन प्लानेटरी हेल्थ एन्ड ह्युमन वेलबीइङ्ग’ नामक उक्त प्रतिवेदनमा जनावरबाट मानिसमा फैलिने रोग अर्थात् जुनोटिक स्पिलओभरको खतरा बढेको बताइएको छ।

युएनईपीले जुनोटिक रोगले विश्वको स्वास्थ्य क्षेत्रका लागि चुनौती उत्पन्न गराउने भन्दै चिन्ता व्यक्त गरेको छ। जुनोटिक रोग तीव्र गतिमा फैलिने र निको हुनमा निकै समय लगाउने हुँदा त्यसले मानव स्वास्थ्यमा थप जोखिम निम्तिने युएनईपीको भनाइ छ।

पृथ्वीको प्रयोगमा भइरहेको परिवर्तनका कारण वनजङ्गलको फडानी, जीवजन्तुको वासस्थानको क्षति, शहरीकरण, जनावरहरूको तस्करी र असन्तुलित खेतीबारीका कराण जुनोटिक रोग बढ्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

जुनोटिक स्लिपओभरसम्बन्धी घटनाहरू प्रत्येक वर्ष ५ देखि ८ प्रतिशतले बढ्दै गएको प्रतिवेदनमा भनिएको छ। सन् २०२० को तुलनामा २०५० सम्म जुनोटिक स्लिपओभरका कारण मानिसको मृत्यु १२ गुणाले हुने पनि प्रतिवेदनमा भनिएको छ।

हालसम्म संसारमा कोभिड–१९, एच फाइभ एन वान, मर्स, निपाह, सार्स र इन्फ्लुएन्जा ए÷एच वान एन वान महामारी आइसकेका छन्।

हालसम्म विश्वभर १७ लाख अनभिज्ञ भाइरसहरू रहेका छन्। जसको बारेमा पर्याप्त जानकारी छैन। र, पृथ्वीको गलत प्रयोग, गलत खेतीबारी, जङ्गलको फडानी जस्ता गतिविधिकाले मानिसहरू जनावरसँग सोझो सम्पर्कमा आउँदा खतरा थप बढेको छ।

Leave a Reply