म्याग्दीमा एक पुरुषको डेंगु संक्रमणबाट मृत्यु भएको छ । डेंगु संक्रमणबाट एक जनाको मृत्यु हुनेमा बेनी नगरपालिका-४ सिंगाका ६४ बर्षिय पुरुष रहेका छन् ।

एक्कासि ज्वरो आएपछि गत असार १६ गते बेनी अस्पतालमा भर्ना भएको अवस्था झनै जटिल भएपछि आइसियूमा राखेर थप उपचार गर्नुपर्ने भएपछि असार १७ गते पोखरा रिफर गरिएको थियो । बेनी अस्पतालले दिएको जानकारी अनुसार बृद्धको उपचारका क्रममा मृत्यु भएको हो । यसबर्ष डेंगुको संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो।

बेनी अस्पतालकी मेडिकल सुपरिटेन्डन डा.अञ्जु थापाका अनुसार अस्पतालमा भएको साधनसा्रेतबाट उपचार असम्भव भएपछि पोखरा रिफर गरिएको थियो । डेंगुबाट गर्भवती, बालबालिका, बृद्धबृद्धामा संक्रमण भएमा जटिल समस्या देखिन सक्ने भएकाले सर्तकता अपनाउनुपर्ने डा. थापाको भनाई छ ।

लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी’ र ’एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको वासस्थान हटाउने अभियान सञ्चालन हुन नसक्दा डेंगु संक्रमणको जोखिम बढेको छ । कडा ज्वरो आउने, आँखाका गेडी राता हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तस्राव हुने, जोर्नी, मांसपेसी दुख्ने, नाक तथा गिँजाबाट रगत बग्नेजस्ता लक्षण भएमा तत्काल स्वास्थ्य संस्थाका चेकजाँच गर्नुपर्ने डा. थापाको भनाई छ ।

एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तस्रावले पनि बिरामीको मृत्यु हुन सक्ने जोखिम समेत हुन्छ ।म्याग्दी गण्डकी प्रदेशमा डेंगुको उच्च जोखिममा छ ।

Leave a Reply