मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। मंगलबार पर्वतको जलजला गाउँपालिकाको आयोजनामा पर्वतबेनीमा सम्पन्न भएको विपद् ब्यवस्थापन लगायत साझा सरोकारका विषयमा अन्तर निकाय समन्वय गोष्ठीमा सहभागि स्थानीय तहका प्रमुखले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा अन्तरपालिका अनुभव आदानप्रदान र सहकार्य अति आवश्यक रहेको बताएका थिए ।

बैठकमा जिल्ला समन्वय समिति बागलुङका समन्वय प्रमुख अमर बहादुर थापाले विपद्का घटनामा स्थानीय सरकारको सहकार्य प्रभावकारी हुने र क्षती न्यूनिकरण र रोकथामका अभियानमा सफलता मिल्ने बताएका थिए । उनले सामुहिक प्रत्यत्नबाट मात्रै विपद्का घटना न्यूनीकरण र प्रतिकार्य प्रभावकारी बनाउन सकिने धारणा राखेका थिए ।

बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ, बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले विपद्मा जलजलासँग विगतमा जस्तै समन्वय हुने र जनशक्ती, उपकरण लगायतका सहयोगका लागि प्रतिबद्ध रहेको बताएका थिए । विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि धौलागिरीभित्रका चार जिल्लामा संयन्त्र बनाउनुपर्नेमा समेत सहभागीहरूको जोड थियो ।

छलफलमा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसीले धौलागिरीमा विपद्को जोखिम साझा भएकाले संयुक्त पहलकदमीबाट स्रोतसाधनको अधिकतम परिचालन गर्नुपर्ने बताए । कालिगण्डकी नदीको कटान तथा बाढीपहिरोका कारण चारवटै जिल्ला जोड्ने सडक सञ्जालहरु अवरुद्ध हुदाँ तत्कालै संयुक्त प्रयासका लागि समन्त्र बनाउने र भावी दिनमा थप सहकार्यका लागि पहिलो चरणको कार्यक्रम गरिएको जलजला गाउँपालिकका अध्यक्ष राजु आचार्यले बताए ।

विपद् व्यवस्थापनमा पालिकाले गरेका असल अभ्यास, एक अर्काका सिकाइ आदानप्रदान गरिएको अध्यक्ष आचार्यको भनाई छ ।उनले प्राकृतिजन्य सङ्कटमा एकजुट हुने अभ्यास सकारात्मक रहेको अवस्थामा थप प्रभावकारी बनाउन अबका दिनमा संयुक्त सयंन्त्रको आवश्यकता रहेको बताए ।

छलफलमा म्याग्दी, पर्वत , बागलुङका जनप्रतिनिधि, पर्वतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले स्वागत, कार्यक्रमको उद्देश्यमाथि प्रकाश जलजला गापाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले प्रकाश र सञ्चालन सूचना अधिकारी भेषनाथ आचार्यले गरेका थिए ।

यसैबीच बैठकबाट असल अभ्यासका बारेमा जानकारी गराउने, सर्वसाधारणलाई सहज आवतजावत गर्ने गरी सडक सञ्जालमा अवरोध भएमा तत्काल हटाउने, अन्य विपद्जन्य घटनामा उद्धार तथा सहयोगका लागि पालिकास्तरमा संयन्त्र बनाएर समुदायलाई समेत सहभागीको वातावरण बनाउनुपर्नेमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply