गाउँमा बसाइँसराइको दर बढ्दो छ । बसाइँसराइले उजाडिँदै गएको गाउँमा स्थानीयले सुन्तलाखेती थालेका छन् । बागलुङको जैमिनी नगरपालिका-२ दमेक चैराकका स्थानीय बाँझो जमिनको उपयोग गरी सुन्तला खेती गर्न थालेका हुन् ।
वर्षौँदेखि सुन्तला उत्पादन हुँदै आएको दमेकमा यस वर्ष थप दुई हजार आठ सय बिरुवा लगाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङको सहयोगमा स्थानीयले सुन्तला खेती विस्तार गरेका हुन् । परम्परागत रुपमा खेती गर्दै आएका किसानले नयाँ प्रविधिमार्फत जग्गा चक्लाबन्दी गरी खुन्तला खेती गर्न थालेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङको रु १० लाख र स्थानीय किसानको रु छ लाख ४० हजारमा एक सय ४० रोपनी बाँझो जग्गामा सुन्तलाका बिरुवा लगाइएको हो ।
सुन्तला बेचेर वार्षिक रु ४० लाख गाउँमा भित्राउँदै आएका यहाँका किसानले अब केही वर्षमै आम्दानी बढाउने गरी खेती सुरु गरेका हुन् । सुन्तला खेतीले गाउँका खाली जग्गा सदुपयोगमा आउने र किसानको आम्दानीको स्रोत बन्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताए ।
चक्ला बन्दी गरेर कृषि गर्नका लागि कार्यालयले आवेदन आह्वान गरेको र त्यसमा धेरैले आवेदन दिए पनि दमेकी कृषक छनोटमा परेपछि सुन्तलाका बिरुवा लगाइएको उनले बताए ।
प्रमुख पौडेलले दमेक क्षेत्र सुन्तला उत्पादनका लागि निकै उपयुक्त क्षेत्र भएको भन्दै किसानले पर्वतको जलजलाबाट रैथाने जातको बिरुवा लिएर लगाएको बताए । उनका अनुसार सुन्तला उत्पादनका लागि मध्यपहाडी क्षेत्रको हावापानीमा उपयुक्त हुन्छ । यहाँ सुन्तला लगाएपछि बाँझो जमिन प्रयोगमा आएको पौडेलले बताए । कम मेहेनतमा पनि राम्रो आम्दानी गर्न सकिने हुँदा पछिल्लो समय किसान सुन्तला खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ ।
“हाम्रो कार्यालयले कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै आएको छ, यस वर्ष दमेकको चैराकको ठुलो क्षेत्रमा सुन्तलाका बिरुवा लगाइएको छ”, उनले भने, “ यहाँ पहिलेदेखिनै सुन्तला खेती गर्दै आउनुभएको रैछ, सुन्तला खेतीका लागि यो ठाउँ उपयुक्त पनि मानियो ।”
दमेकी सुन्तला कृषक समूह जैमिनी नगरपालिका-२ का अध्यक्ष ओमप्रकाश सापकोटाले गाउँमा मकै, धानसहित स्थानीयले धेरै वर्ष अगाडिदेखि सुन्तला खेती गर्दै आएकोमा पछिल्लो समय व्यवसायिक रुपमा खेती गर्न लागेको बताए । यहाँ उत्पादन हुने सुन्तलाले अहिलेसम्म बजारको समस्या भोग्न नपरेको भन्दै हरेक वर्ष पोखरा, काठमाडौँ र नारायणगढसम्म पुग्ने गरेको अध्यक्ष सापकोटाले बताए ।
उनले भने, “पहिला–पहिला गाउँका जग्गा जमिनमा धान, गहुँ, मकै र कोदो लगाउने चलन थियो, सुन्तला लगाए पनि एक/दुई बोट बारीको छेउमा लगाउने गरिन्थ्यो, अहिले सिङ्गो बारीनै सुन्तला खेतीका लागि प्रयोग गर्न थालिएको छ ।”