बेनी नगरपालिका-२,खबराका तेजेन्द्र बहादुर कार्कीले २२ रोपनीमा केरा खेती गरेका छन् । गतबर्ष मात्रै १२ रोपनी बाँझो जमिनमा केरा खेती गरेका छन् । खेतबारी बाहेक भिरालो पाखो,झाडीले घेरिएको बाँझो जग्गा, सडक र खोल्साखोल्सीका केरा लगाएका कार्कीले दुईबर्षमै हराभरा होला भनेर सोचेकै थिएनन् । अगुवा कृषक कार्कीले खाली जमिन देखे लगत्तै केरा लगाउँछन् ।

उनले केरा बिक्री गरेर वार्षिक ७ लाखसम्म कमाउँछन् । कार्कीजस्तै शोभित शर्माले केराखेती आफ्ना लागि आम्दानीको गतिलो माध्यम बनेको बताए । उनले केरा बिक्री गरेर वार्षिक १० लाखसम्म कमाई गर्ने गरेका छन् । करिब १७ रोपनी क्षेत्रफलको जग्गामा केराखेती गरेका शर्माले स्थानीयलाई केरा खेतीमा प्रोत्साहन गर्छन् ।

करिब १ सय ५० घरधुरी रहेको खवरामा भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका स्थानीयले अहिले धमाधम केरा खेती विस्तार गरेका छन् । खवराका यामबहादुर घिमिरे, जगत घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की लगायत २० जना कृषकले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन्। आफैँले खानका लागि दुई÷चार घरी केरा लगाउने गरेका स्थानीयले दश पन्ध्र घारी केरा नलगाएको घर नै छैन।

खवराबाट बार्षिक २ करोडको केरा बिक्री गर्ने गरेका छन् । म्याग्दीका बस्तीहरू तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर गइरहेको अवस्थामा सिंगो खवरा गाउँका किसान व्यावसायिक रूपमा केरा खेतीमा आकर्षित भएका हुन् । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरालाई आर्थिक तथा प्राविधिक सहयोग तथा उपकरण समेत उपलब्ध गराएपछि किसानलाई धेरै राहत मिलेको छ ।

न्यूनतम ३० हजारदेखि १० लाखम्म बार्षिक केरा खेतीबाटै कमाई हुन थालेपछि खबराको नाम नै परिवर्तन गरेर ‘केरा गाउँ’ भन्न थालिएको छ भने लहलह धान फल्ने खेतका गह्रामा रहरलाग्दो तरिकाले केरा खेती गरिएको छ । किसानको आयआर्जन वृद्धि र जीवनस्तर सुधारसँगै विदेशमा रहेका सन्तानलाई समेत स्वदेश फर्किएपछि नियमित आम्दानी हुने माध्यम बनेको खवरा सिम्लेका नारायण जिसी बताउँछन् । मेहनत गरेर उत्पादन गरेको केरा खरिद गर्न ब्यापारी गाउँमै आउँछन् ।

खवराका अधिकांस किसानको धान फल्ने खेत र कोदो रोप्ने बारी अहिले केराको बगैँचामा बनेका छन्। धान, गहुँ, मकै बालीको विकल्पमा खेतका गह्रागह्रामा व्यावसायिक रुपमा केरा खेती विस्तार भएपछि अहिले वडाले समेत प्राथमिकता दिएर योजना छनौट गरेको वडाध्यक्ष यामबहादुर कार्कीको भनाई छ ।

अन्नबालीलाई जस्तो धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरेका कृषकलाई वडा, नगरपालिका बाहेक कृषि ज्ञान केन्द्र लगायतका संघसंस्थाबाट समेत अनुदान सहित प्रविधिको हस्तान्तरणमा सघाउन आवश्यक सहजीकरण गरिएको अध्यक्ष कार्की बताउँछन् ।

अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेकाले आगामी ५ बर्षमा ५ करोडभन्दा बढीको केरा निर्यात हुने दावी गरिएको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिन्छ ।

पूर्व वडा अध्यक्ष हिराबहादुर थापाले‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरी स्थानीयका अभियानमा साथ दिएका थिए भने अहिलेका वडा अध्यक्ष कार्कीले समेत खेती गर्न झन्झटिलो, कम उत्पादन र खर्च बढी हुने कृषिलाई छोडेर नगदे बालीलाई नै प्रोत्साहन गरेका छन् । बैदेशिक रोजगारीमा रहेका सन्तानलेभन्दा धेरै आम्दानी आमाबुबाले घरआगनमै फलेको केरा बेचेर गर्न थालेपछि स्वदेशमै फर्किएर कृषिकर्ममा लाग्ने सोच समेत विदेशमा रहेका यूवाहरूमा पलाएको छ । खबराको केरा सदरमुकाम बेनीबजारमा खपत हुन्छ । सदरमुकाम बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन्।

खबरामा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घटेको फलफूल व्यापारीहरुले बताएका छन्। खवरामा बाइस नङ्ग्रे, मालढुंगे, ध्रुसे, चिनीलगायतका प्रजातिका केरा खेती हुन्छ । स्थानीय किसानले केरा खेतीमा मल र विषादी जैविक मात्रै प्रयोग गर्ने गरेका छन् । केराका पुराना बोट, पात पतिंगर खाल्डोमा पुरेर मल बनाउँछन् र प्रयोग गर्छन् । केरामा राख्ने कम्पोष्ट मल बनाउन एकल तथा सामुहिक रुपमा पक्की संरचना समेत बनाएका छन् । मल, बिउ वा जैविक विषादीको प्रयोगका बारेमा स्थानीय जानकार छन् ।

केरा खेतीले विदेश गएका यूवा फकिन्छन्
सुरत केसी
मेयर, बेनी नगरपालिका
बेनी नगरपालिकाले खवरा, बगरफाँट र घतानको काउलेगौंडालाई केरा पकेट क्षेत्रको रुपमा विकास गरेको छ । यस क्षेत्रमा बिरूबा,उपकरणसँगै प्रयाप्त सहयोग भइरहेको छ । नगरपालिकाले हरेक वडामा उत्पादनमा आधारित अनुदान तथा पकेट क्षेत्र घोषणा गरेको छ । पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर बिदेसिने क्रम बढ्दो छ । मेहनत गरे स्वदेशमा नै स्वरोजगार बन्न सकिन्छ भन्दै कृषिमा लागेका यूवाहरुलाई हामीले प्रोत्साहन गरेका छौ । बाँझो जमिन, छिटो आम्दानी गर्न सकिने, अनुकूल हावापानी र वातावरण, सिँचाइ, बजारको सुविधालाई समेत केन्द्रित गरी उत्पादनमा जोड दिएका छौ ।


बजारमा खबराको केराको ‘ब्रान्ड’ नै बनेको छ । खबरासँगै केरा खेती हुने अन्य बस्तीहरुमा पनि कृषि पेशामा नै लागेर निर्वाहमुखी ढङ्गले गुजारा चलाउँदै आएकालाई आम्दानी हुने गरी प्रोत्साहन गरेका छौ । नगरभित्र परीक्षणका लागि केरा खेती गर्न चाहनेहरुलाई प्राविधिक तालिम, छिटोछरितो तरिका आम्दानी गर्न सक्ने अन्य कृषिबालीका बारेमा समेत जानकराी दिन्छौ । नगरपालिकाले रोजगारीको लागि विदेश जान चाहने यूवालाई उत्पादनमा आधारित कृषि, पशुपालन क्षेत्रमा रोक्न अनुदानको दुरुपयोगलाई समेत नियन्त्रण गरेका छौ ।

 

Leave a Reply