अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग जोड्ने बेनी जोमसोम र बेनी दरबाङ सडक आइतबार पनि सिधा सञ्चालनमा आउन सकेन । जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङस्थित चिनको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ र ३ मा पर्ने सिरुवारी र बैसरीमा पहिरो खसेपछि आज बिहानैदेखि सवारीसाधन आवतजावत बन्द भएको हो।

आयोजनाअन्तर्गत पर्ने मालढुङ्गा-बेनी सडक खुलाउन पनि उपकरण परिचालन भएपनि नसकिएको प्रहरी निरिक्षक राजन रायमाझीले बताए । बेनी-जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा,अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्या परेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादन भएको आलु बजार पठाउन समस्या भएको छ ।

स्तरोन्नतिका क्रममा रहेको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको लेतेसम्म १४ ठाउँमा पहिरो छन् । पहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

बेनी नगरपालिका-४,र मङ्गला गाउँपालिका-२, को सिमानामा रहेको फापरखेत र दरबाङको बांग्रेभीरको पहिरो पन्छाउन सकस भएको छ । निरन्तरको वर्षा र पहिरो खस्ने क्रम नरोकिएपछी आइतबार बेलुकीसम्म सडक खुलाउने प्रयास सम्भव नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply