म्याग्दीको बेनी नगरपालिका-९,नेप्टेचौरको राष्ट्रिय माविमा कक्षा १ मा पढ्ने साहिल परियारले विद्यालयमै खाजा खान पाउँछन् । साहिल नियमित विद्यालय जान्छन् । उनीजस्तै कक्षा १ मा पढ्ने सुविन मिजार, रोहिसा मिजार र रियाज नेपालीले पनि नियमित विद्यालयमा जान्छन् । साहिलका बुबा विनोद परियार दैनिक ज्यालामजदुरी गरी घरखर्च चलाउने गरेका छन् । सुविन, रोहिसा, रियाजका अभिभावकको पनि दैनिक मजदुरी नगरी बिहान, साझँ चुल्हो बल्दैन।घरमै बिहान बेलुका के खाने भन्ने स्थिति भएकाले उनीहरुले विद्यालय जाँदा खाजाको जोहो गर्न मुस्किल थियो ।

राष्ट्रिय माविको बालविकासदेखि कक्षा ५ सम्मका विपन्न बालबालिकाले विद्यालयमा नियमित खाजा त परको कुरा बिहान बेलुकी खानाको समेत टुंगो हुदैन ।दिवा खाजा कार्यक्रम लागू भएसँगै विपन्न परिवारमा जन्मिएका बालबालिकाले विद्यालयमै खाजा खान पाएका छन् । उनीहरूलाई विद्यालयले दिवा खाजामा पेटभरी खान दिन्छन् ।

विद्यालयका प्रधानाध्यापक तारा चोखाल विपन्न परिवारका बालबालिकालाई दिवा खाजा बरदान सावित भएको बताउँछिन् । विद्यालयमा भोकभोकै बस्नुपर्ने अवस्थामा घरबाटै जान आनकानी गर्ने विद्यार्थीहरू अहिले नियमित विद्यालयमा प्रवेश गर्ने गरेको प्रअ चोखालको भनाई छ ।

सदरमुकाम बेनीबजारको कालिपुलमा अवस्थित बालमन्दिर माविमा सन्ध्या साहानीकी आमा धुपिया र रेस्मा परियारकी आमा रुपाले दिवा खाजाले धेरै सजिलो बनाएको छ । नियमित खाजाका लागि बालबालिकालाई दिने नगदको हिसाव नभएपनि अभिभावकाको न्यूनतम १५ देखि ३ हजारसम्म दिवा खाजामै जोगिएको प्रधानाध्यापक सुरेन्द्र केसीले बताए ।

‘हाम्रो विद्यालयमा ९० प्रतिशतभन्दा धेरै बालबालिका गरिबीको रेखामुनी छन्,उनीहरूलाई दिवा खाजाले सहज बनाएको छ, हामीले विद्यार्थीलाई सहज हुने गरी नै खाजाको ब्यवस्थापन गछौं’ प्रअ केसीले भने । उनले आमाबुबाको अवस्था हेरेर दिवा खाजालाई नै पेटभरी खुवाउनुपर्ने अवस्था रहेको बताए ।बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत यूरिम दर्जी, र कक्षा २ का निसु किसानको नियमित विद्यालय आउने एउटा आधार दिवा खाजा पनि हो ।

यूरिमका बुबा लालबहादुर र निसुका बुबा हरि किसानको कमाईले घरखर्च पनि नचल्ने अवस्थामा अहिले नियमित खाजाले निकै सहज भएको छ । दिवा खाजाका कारण विद्यार्थीहरु भोकै बस्नु नपर्ने भएको छ । दिवा खाजाले अभिभावककोे आर्थिक तथा घरधन्दा समेत छोटिएको विद्यालयकी शिक्षक घनदेवी घर्ती मगरको भनाई छ । खाजा खान पाउने भनेपछि बालबालिका पनि स्कुल जान रमाउने गरेको बताउँदै स्वादिलो र अर्गानिक खाजालाई प्रोत्साहन गरिएको उनको भनाई छ ।दिवा खाजाका कारण विद्यार्थीहरु भोकै बस्नु नपर्ने भएको छ ।

प्रारम्भिक बालविकासदेखि कक्षा ५ कक्षासम्म नेपाल सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ। बालबालिकाको वृद्धि र विकासका लागि खाना अनिवार्य तत्व भएकाले नगरभित्रका विद्यालयलाई अर्गानिक,पोषणयुक्त खाजा खुवाउन तालिम समेत दिइएको शिक्षा शाखा प्रमुख उपसचिव हेमचन्द्र पौडेलको भनाई छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट स्थानीय तहलाई दिवा खाजा कार्यक्रमको रकम ससर्त अनुदानका रूपमा निकासा आउने गर्छ। दिवा खाजा व्यवस्थापनका लागि अभिभावकले समेत सघाउने गरेका छन् ।

विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ ले प्रतिदिन आवश्यक पोषणयुक्त तत्व भएका खानेकुरा व्यवस्था गर्नुपर्ने उल्लेख छ। यसमा क्यालोरी, प्रोटिन, बोसो, आयोडिन, आइरन, जिंक र भिटामिन ए गरी सात प्रकारका पोषणयुक्त तत्वको मात्रा मिलाउनुुपर्ने उल्लेख छ। मेनुुसमेत तयार पारेर कुन–कुन अन्न फलफूल, तेल प्रयोग गर्ने र त्यसको कति मात्रा प्रयोग गर्ने भन्ने स्पष्ट व्यवस्था गरिएको छ ।

बेनी नगरपालिकाले मापदण्ड अनुसार नै दिवा खाजा उपलब्ध गराउन चालु आवमा थरीथरीका अर्गानिक स्वाद खुवाउने गरी तालिम समेत सञ्चालन गरेको छ। नगरभित्रका विद्यालयमा दिवा खाजामा जंकफुडलाई रोक्न अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्ने उद्देश्यले अभिभावक, विद्यालयका चमेनागृह सञ्चालक र विद्यालयका प्रतिनिधिहरूलाई दुई दिनसम्म तालिमार्फत रैथाने बाली प्रवर्द्धनका कार्यक्रम अन्तरगत रैथाने बालीको परिकार विविधिकरण तालिममार्फत स्थानीय रूपमै उत्पादित अर्गानिक बस्तुबाट बनाउन सकिने १५–२० थरीका परिकारहरू सिकाइएको थियो । जंकफुड निषेध गरेकाले विद्यालयहरूले स्थानीय उत्पादनबाटै खाजा खुवाउनुपर्ने नगरपालिकाको ताकेता छ ।

दिवा खाजामा प्रयोग हुने खाद्य बस्तुमा अर्गानिकसँगै बालबालिकाको समेत रोजाईमा पर्ने गरी परिकार बनाउन तालिम दिइएको कृषि शाखाकी प्रमुख आकृति ढुंगानाको बताइन् । खाजा कार्यक्रमको बजेट विद्यालयले नगदै बाँड्दा त्यसको दुुरूपयोग हुने र नगद रकम बाँड्दा विद्यार्थीको हातमा नभई अभिभावकलाई बुुझाउन सक्ने भएकाले स्वादिलो अर्गानिक खाजामार्फत विद्यार्थीलाई आर्कषित गर्ने लक्ष्य अनुसार नै तालिममार्फत अर्गानिक परिकार सिकाउने वातावरण बनाइएको नगर प्रमुख सुरत केसीको भनाई छ।

Adv

बालबालिकालाई उपलब्ध गराइने दिवा खाजाको गुणस्तरीयताका लागि जनप्रतिनिधिलाई समेत निगरानी गर्न निर्देशन दिइएको मेयर केसीको भनाई छ । नगरभित्रका विद्यालयले दिवा खाजामा आयात गरिएको खाजा (जङ्क फुड)लाई विद्यालयमा प्रतिबन्ध लगाउन तालिमले समेत सघाएको छ ।

बालबालिकालाई अर्गानिक खाजा खुवाउने विद्यालयलाई प्रोत्साहन समेत गरिने उपप्रमुख ज्योति लामिछाने बताउँछिन् । विद्यालयले विद्यार्थीलाई खाजा खुवाउनु भन्दा निर्देशन विपरित काम गरेमा सचेत बनाउने र अटेर गरेमा नियम अनुसार कारवाहीको प्रक्रिया थाल्नुभन्दा पहिला तालिम नै सञ्चालन गरी सचेत बनाइएको उपमेयर लामिछानेको भनाई छ ।

कोदो, गहुँ भटमास, रोटी, सिस्नो लगायत समुदायस्तरमै पाइने थरीथरीका अर्गानिक परिकारलाई प्राथमिकता दिने विद्यालयलाई अन्य प्रोत्साहनका कार्यक्रमहरु समेत तय गरिने बेनी नगरपालिकाले जनाएको छ । वास्तविक विद्यार्थी संख्याभन्दा बढी विवरण पेस गर्ने, अर्गानिकभन्दा बजारबाट खरिद गरेको खाजा खुवाउने विद्यालयलाई शैक्षिक सत्रको पहिलो महिनामै तथ्याङ्क मागेर खवरदारी गरिएको छ ।

नेपाल सरकारले प्रतिविद्यार्थी १५ का दरले उपलब्ध गराउने अनुदान रकमभित्रै खाजा उपलब्ध गराउन नसकिने अवस्थामा अभिाभवकसँग समेत सहकार्य गरी अर्गानिक उत्पादन नै खुवाउने सहभागीले प्रतिबद्धता जनाएका छन् । बेनी नगरपालिकाका १० वडामा ५५ सामुदायिक विद्यालयमा बालविकासमा ५३४ जना बालबालिका छन भने कक्षा १ देखि ५ कक्षासम्म १६ सय ६० विद्यार्थी छन् ।

जंकफुड घट्दो
बेनी नगरपालिकाभित्रका केही विद्यालयले दिवा खाजामा अर्गानिक भन्दा आयातित खाजालाई नै प्रयोग गर्ने गरेको पाइएपनि अधिकांस विद्यालयले जंकफुडको प्रयोग घटेको छ । दिवा खाजा शुरु हुनुअघि अधिकांश विद्यार्थीको खाजा बजारका चाउचाउ बिस्कुटजस्ता जंकफुड हुने गरेकोमा अहिले विद्यालयमै खाजा पाइने भएपछि जंकफुड प्रयोग पनि घटेको छ । नर्स भएको विद्यालयमा खाजाको गुणस्तर जाँच गरिन्छ ।

जंकफुडको तुलनामा विद्यालयले दिने खाजा पोषणयुक्त हुन्छ । पाँच कक्षासम्मका बालबालिकाको उमेर भनेको शरीरको विभिन्न अंग र प्रणालीहरु विकास हुने समय हो, त्यो बेला पौष्टिक आहारको आवश्यकता रहेकाले नगरपालिकाले स्वास्थ्य र कृषि शाखाबाट समेत रचनात्मक सहयोग लिने गरेको छ । बालबालिकाको आवश्यकताअनुसार शारीरिक वृद्धि हुनका लागि समेत पोषणयुक्त खाजामा जोड दिइएको छ । विद्यालयले खाजाका लागि क्यान्टिनलाई जिम्मा दिएको अवस्थामा पनि नगरपालिकाले पौष्टिक र स्थानीय परिकारलाई प्राथमिकता दिने गरी तालिममा सहभागि बनाएर अनुगमन समेत गर्ने गरेको छ ।

सबै विद्यार्थीलाई एउटै खाजा
दिवा खाजाले विद्यार्थीको स्वाद र खाजाको प्रकारमा एक रुपताले समेत विद्यालयलाई सहज भएको छ । अभिभावकको आर्थिक हैसियत बलियो भएका बालबालिका र विपन्न परिवारका बालबालिकाको खाजामा समानता दिवा खाजाले झल्काएको छ । हुनेले मिठो, नहुने भोकभोकै र सामान्य खाजा लिएर विद्यालयमा आउने गरेको अवस्थामा खाजा कार्यक्रमले खाजामा समानता पनि ल्याएको बेनी सामुदायिक माविका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए ।

सबैलाई एउटै खाजा हुने भएकाले विद्यार्थीमा समेत झगडा नहुने र खाजा मिठो भन्ने प्रतिस्पर्धा समेत तोडिएको प्रअ श्रेष्ठ बताउँछन् । दिवाखाजा सहयोगी पुस्तिकामा स्पष्ट रूपमा खाजा खुवाउने अन्नपातको नामनै किटान गरेको छ। केही विद्यालयमा खाजा कार्यक्रमका लागि आवश्यक पर्ने भाँडा, दाउरा र पकाउने जनशक्तिको व्यवस्थामा समेत गुनासो गर्ने गरिएको भएपनि अधिकांस विद्यालयका भने शिक्षकहरु नै सक्रिय भएर खाजा खुवाउने गरेको भेटियो ।

अभिभावकले समेत दिवा खाजालाई प्रभावकारी बनाउन चन्दा संकलन तथा खाद्यान्न सहयोग गर्ने गरेका विद्यालयहरूले स्थानीय उत्पादनलाई नै प्राथमिकता दिएको देखियो । दिवा खाजाका लागि स्थानीय सामुदायिक बनले दाउराका साथै समयअनुकुल आर्थिक सहयोग समेत गर्ने गरेको देखिन्छ । दिवा खाजा कार्यक्रमले खाजामा एकरुपता ल्याउन र अभिभावकलाई पनि सहज बनाउन विद्यालयले समेत विद्यार्थीको स्वाद र अर्गानिक खाजालाई प्राथमिकता दिनुपर्ने स्थानीय सरोकारवाला पक्षको भनाइ छ ।

असल अभ्यास
बेनी नगरपालिका–२ बगरफाँटमा दिवा खाजा कार्यक्रमकै कारण भर्नादर बढेको छ । अधिकांस मजदुरका सन्तान र दलित विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा मिठो खाजा पाइने हुँदा पढ्न विद्यार्थीको संख्या बढेको विद्यालयले जनाएको छ । दिवा खाजालगायतका कार्यक्रम प्रभावकारी ढंगले सञ्चालनमा ल्याएकाले अभिभावकले समेत चासो दिने गरेका छन् । बेनी नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा घट्दो विद्यार्थीका बिच दिवा खाजाले ड्रप आउटलाई घटाउन समेत सघाएको छ । विपन्न परिवारका बालबालिकालाई खाजाको व्यवस्थाले भोकै पढ्नुपर्ने बाध्यता हटेकाले विद्यार्थीको संख्या थपिएको बेनपा–४ डाँडाखेतका प्रधानाध्यापक रामप्रसाद पौडेलको भनाई छ ।

बेनी नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाइबाट अनुगमनले पनि यो कार्यक्रम प्रभाविकारी देखिएको छ । सामुदायिक विद्यालयमा दिवा खाजा र पढाइसँगै सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालनले सहज भएको विद्यालयले जनाएको छ । ‘स्कुल ड्रप’ गर्ने बालबालिकाका लागि यो कार्यक्रम औषधिजस्तो भएकाले हरेक अनुमगनमा दिवा खाजाको गुणस्तरीयता बारे अनुगमन गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।

दिवा खाजामा सरकारले दिएको प्रतिविद्यार्थी १५ रुपैयाँलाई शिक्षा मन्त्रालयले तयार पारेको मेन्युभित्रै रहेर स्थानीय खाद्यान्नबाट विद्यार्थीलाई खाजा खुवाइरहेका छन् । स्थानीय कृषि उत्पादनलाई मिलाएर बनाउने सकिने आधारहरु नगरभित्रका विद्यालयले दिएको सेवाबाट पुष्टी हुन्छ । विद्यालयले विद्यार्थीलाई कोदो र गहुँको रोटी, साग, सिमीको तरकारी खाजा खुवाउने गरिएको छ । विद्यालयले खाद्य सामग्री किनेर अभिभावकलाई वितरण गर्छ अनि अभिभावकले तालिकाअनुसार सोही खाद्यान्नबाट खाजा बनाएर विद्यार्थीलाई दिने समेत गरिन्छ ।

पोषणविज्ञको परामर्शमा मापदण्ड
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले बालबालिकाको वृद्धि र सिकाइका लागि पौष्टिक खाना तथा खाजामा के के हुने भन्नेमा तराई, पहाड र हिमालको सूची बनाएको छ । विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका–२०७७ मा एउटा बालकले खानाबाट प्राप्त गर्नुपर्ने कुल पौष्टिकतामध्ये कम्तीमा ३० प्रतिशत दिवा खाजाबाट प्राप्त गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको उल्लेख छ । तर केन्द्रले बजेट पठाए पनि अनुगमन, व्यवस्थापन र निरीक्षण गर्ने जिम्मा स्थानीय तहलाई छ । खाजाका लागि संघबाट ससर्त अनुदानका रूपमा बजेट स्थानीय तहमा आउने गरेको छ ।

खाजाको पोषण मापदण्डसमेत तोकिएको छ । क्यालोरी, प्रोटिन, चिल्लो, आयोडिन, आइरन, जिंक र भिटामिन ‘ए’ को मात्रा प्रतिबालबालिका प्रतिदिन तोकिएअनुसार व्यवस्था गरिनुपर्ने पुस्तिकामा छ । दैनिक ५० देखि ६० ग्राम अन्न, ४० देखि ५० ग्राम गेडागुडी, हरियो सागपात र फलफूल ३० देखि ५० ग्राम र पशुजन्यलगायत अन्य समूहबाट २० देखि ३० ग्राम गरी प्रत्येक बालबालिकाले दैनिक १५० देखि २०० ग्राम पोषणयुक्त खानेकुरा पाउनुपर्ने मापदण्डमा छ । बारअनुसार फरक खाजाको मेन्यु तयार पारी दैनिक फरक–फरक खाजा खुवाउनुपर्छ ।

दिवा खाजाको रकम दाँयाबायाँ गर्न पाइदैन

सुरत केसी
मेयर,बेनी नगरपालिका
बालबालिकाले दैनिक रूपमा प्राप्त गर्नुपर्नेमध्ये ३० प्रति पौष्टिकता प्राप्त गर्नेबाहेक अन्य केही महत्वपूर्ण उद्देश्य दिवा खाजा कार्यक्रमले लिएको छ । त्यसमध्ये शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइस्तर सुधार गरी गुणस्तरीय आधारभूत शिक्षामा समतामूलक पहुँच बढाउने एक हो भने दिवा खाजामा स्थानीय कृषिउपजको उपभोग बढाएर विद्यालय र कृषि उत्पादनबीच सम्बन्ध स्थापित गरी कृषि प्रतिफल बढाउने र स्थानीय आर्थिक बजार विस्तार गर्ने अर्को उद्देश्य हो।

’सशर्त अनुदान’का रूपमा विद्यालय खाजा कार्यक्रमका लागि बजेट विनियोजन गर्छ। यो प्रयोजनका लागि लगिएको रकम अन्य प्रयोजनमा लगाउन मिल्दैन।यही बजेटबाट सामुदायिक विद्यालयहरूले विद्यार्थीलाई खाजा व्यवस्थापन गर्ने र अर्गानिक केही महंगो भएमा अभिावकले समेत सहमतिमा केही रकम थप गर्न सकिन्छ । विद्यालयमा सञ्चालित क्यान्टिनलाई दिवा खाजा कार्यक्रमको जिम्मा दिएको अवस्थामा हामीले तालिम समेत दिएर खाजालाई गुणस्तरीय बनाउन जोड दिएका छौ । ‘विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिकाको मापदण्डलाई अटेर गरेमा आवश्यक कारवाही समेत गरिन्छ ।

 

पोषणयुक्त दिवा खाजा अनिवार्य
चक्र केसी,संयोजक शिक्षा तथा सामाजिक समिति
विद्यालयलाइ उपलब्ध गराउदै आइएको दिवा खाजाले बालबालिका तथा घरमा बिहानको खाना उपलब्ध नभएर भोकभोकै विद्यालय आउन बाध्य कतिपय बालबालिकालाई खाजा कार्यक्रमले निकै मद्दत पु¥याएको छ। यसरी हेर्दा बालबालिकाको पोषणको मात्रा उपलब्ध गराई उनीहरूको स्वास्थ्यवस्था बलियो बनाउन कार्यक्रमले मद्दत गरेको देखिन्छ।

जसले बालबालिकाको मस्तिष्क विकासमा त सहयोग पु¥याएको छ नै, सिकाइ उपलब्धिको वृद्धिमा समेत योगदान पु¥याएको छ। यसले अभिभावक र विद्यालयको सम्बन्ध अझ प्रगाढ बनाएको छ । अभिभावकले दैनिक आफ्ना स्कुले सन्तानलाई दिनुपर्ने खाजा बराबरको रकम अन्यत्र प्रयोग गर्न पाउने हुँदा सामाजिक सुरक्षाको हिसाबले समेत यस कार्यक्रमले बहुआयामिक प्रभाव पारेको अनुमान गर्न सकिन्छ।

विद्यालयमा खाजा उपलब्ध हुने हुँदा बालबालिकाको प्रोत्साहन अभिवृद्धिमा पनि यसले भूमिका खेल्ने हुँदा स्वाभाविक रूपमा विद्यालय उपस्थित हुने दरलाई बढाउन मद्दत पु¥याएको छ। नगर क्षेत्र भित्रका ५६ ओटै विद्यालयमा दिवा खाजामा अर्गानिक उत्पादन प्रयोग गर्न निर्देशित समेत गरिएको छ।

Leave a Reply