चरम गरिबीसँग जुधेर भए पनि एसईईमा ३.१२ जीपिए ल्याएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङकी पबित्रा बिकलाई गाउँपालिकाले प्रोत्साहन स्वरूप नगद ५० हजार आर्थिक सहयोग गरेको छ । दुवै हात नभएकी विकको उच्च शिक्षाका लागि सहज वातावरण बनाउन शुक्रबार विहान बसेको कार्यपालिकाको बैठकले ५० हजार नगद सहित प्रोत्साहन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

रामबजारस्थित एस ओ एस हर्मन माइनर स्कुलबाट परीक्षामा सहभागी भएकी विकका बारेमा पहिलोपटक बेनीअनलाइन, पोखराबाट प्रकाशित हुने ढोरपाटन राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएपछि अन्नपूर्णका जनप्रतिनिधिले चासो देखाएका थिए ।

गाउँपालिका अध्यक्ष भरतकुमार पुनले आर्थिक अवस्था कमजोर भएकै कारण पठनपाठनमा समस्या हुन नदिन सहयोग गरिएको बताए ।‘शैक्षिक यात्रा सहज होस् भन्ने हेतुले प्रोत्साहन गरिएको हो, समस्यामा परेका विद्यार्थीलाई आगामी दिनमा सहयोग निरन्तरता हुन्छ’ अध्यक्ष पुनले भने ।

पवित्राको कुहिनासम्म ठिकै रहेको देब्रे हातै छैन भने दाहिने हातमा एउटा सानो औलामात्रै बनेर निस्किएको छ । उनले देब्रे खुट्टाको बुढी र माइली औलाले कलम च्यापेर लेख्छिन्। पवित्राको आमा र बुबा बिच सम्बन्ध टुटेको अवस्थामा विहानबेलुकी हातमुख जोड्न समेत धौ–धौ छ ।

यसअगाडी पवित्राको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि काठमाण्डौमा बस्ने धवलागिरी गाउँपालिका–५, मलम्पार हाल गोंगबु बस्ने महेन्द्र छन्त्यालले समेत १० हजार सहयोग गरेका छन् । यसैबीच विद्यार्थी पवित्राले प्राप्त सहयोगलाई पढाइमै प्रयोग गर्ने बताइन् । उनले अंग्रेजी विषय लिएर अध्ययन गर्ने सोच रहेको बताउँदै अहिले आफुँलाई सहज हुने क्याम्पसको खोजीमा रहेको बताइन ।

Leave a Reply