पछिल्लो समय म्याग्दीको बेनी नगरपालिका-३,भकिम्लीको बेलढुंगा कृषक समुहले १ सय रोपनीमा किबी खेती विस्तार गरेको छ ।स्थानीय अगुवा कृषकहरूको समुहद्धारा सञ्चालित नयाँ परियोजनाले पहिलो चरणमा १२ सय किबीका नयाँ बिरुवा लगाएको छ । सुन्तला, किबी, आलु खेतीमा भकिम्लीका सफल अगुवा कृषकहरू आवद्ध रहेको समुहले थप १ सय रोपनीमा किबी लगाउने योजना छ।यो समुहले ५ सय रोपनी जग्गा भाडामा लिएर १ सय रोपनीमा आलु,५रोपनीमा सुन्तला,४वटा हाइटेक टनेलभित्र खुर्सानी, कागती,सुन्तला,लगायतका उन्नतजातका फलफुलका बेर्ना हुर्काइरहेको छ ।
कृषि र पशुपालनमा भकिम्लीलाई पकेट क्षेत्र बनाउन २० जनाले करिब २ करोडको लगानीको ब्यवसायिक योजना समेत बनाएको छ । थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएपछि अहिले भकिम्लीमा बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै किबी खेती विस्तार हुँदै गएको छ । अहिले भकिम्लीका अगुवा कृषकको घरआगनै अहिले किबीले ढाकेको छ ।
फलफूलको राजाको उपनामले परिचित फल किबी भकिम्ली, मुसुङ,सिम, भुकभुके, छाप लगायतका स्थानमा गरिँदै आएको छ। २०६७ सालमा पदम पुनले डेढ सय विरुवाबाट परीक्षण उत्पादन गर्न थालिएको थियो।सफल भएपछि भकिम्लीमा करिब १ सय घरधुरीले किबी खेती गरेका छन्।
सदरमुकाम बेनी बजारसहित बागलुङ,पोखरालगायतका स्थानीयस्तरमै बिक्री हुन थालेपछि कृषकहरू व्यावसायिक रूपमै अन्य अन्नबाली छोडेर खेतबारीमा किबी खेती गर्न थालेका छन्। पछिल्लो पाँचवर्षमा व्यावसायिक रूपमा किबी खेती गर्ने कृषकले आम्दानी गर्न थालेपछि अहिले भकिम्लीमा किबी खेतीको लहर चलेको छ ।
घरायसी प्रयोजनका लागि किबी लगाएका अधिकांशले अहिले बिक्रीसमेत गर्न थालेका छन्। भकिम्ली सिमका लालबहादुर पुनले करिब १५ रोपनी क्षेत्रफलमा साढे ३ लाखको किबी बिक्री गर्ने गरेका छन् । एउटा बोटबाट १ सय केजीसम्म किबी उत्पादन गर्न सकिन्छ । भकिम्लीबाट मात्रै बार्षिक १५ लाख बराबरको किबी बिक्री हुने अनुमान गरिएको छ।सात रोपनीमा व्यवस्थित रूपमा किबी खेती गरेका भकिम्ली मुसुङका लालबहादुर घर्तीले यसपटक बजारमा लैजान तयारी अवस्थामा रहेको बताए।
वि.सं. २०७७ सालदेखि मनोज कृषिफार्म मार्फत सुरू गरिएको किबी अघिल्लो वर्षबाट फल्न थालेको थियो। यस वर्ष करिब तीन क्विन्टल किबी फलेको कृषक घर्तीको भनाइ छ।स्वर्गाआश्रम अर्गानिक कृषि समूहका अध्यक्षसमेत रहेका घर्तीसँगै २५ जना सम्मिलित समूहका सदस्यहरू समेत किबीको उत्पादनबाट उत्साहित भएको बताउँछन् ।
भकिम्लीका कृषकलाई बेनी नगरपालिकाले पकेट क्षेत्रको घोषणा गरेसँगै पोल निर्माण, सिँचाई, नयाँ बिरुवा विस्तार, रोग किरा नष्ट लगायतका क्षेत्रमा सहयोग गर्ने गरी १२ लाख बजेट विनियोजन गरिएको कृषि शाखा प्रमुख आकृति ढुंगानाको भनाई छ । भकिम्लीमा अहिले सक्रिय ५० जना कृषकले किबी फलाएर बजारमा लैजाने गरेका छन् । ‘किबी खेतीका लागि अनुकुल हावापानी छ, भकिम्लीको किबीलाई बजारीकरणको आवश्यकता छ’ ढुंगानाले भनिन् ।
नगरपालिकाले किबीको बजारीकरण तथा उपभोक्तालाई समेत महत्वका बारेमा जानकारी दिने गरी सन्देशमुलक सूचनाहरू समेत जारी गरेको छ । भकिम्लीका कृषकले अहिले प्रतिकेजी रू १५० मा बिक्री भए पनि किबीमा नाफा रहेका वडा अध्यक्ष पदम पुनको भनाई छ ।
सहज बजारको ब्यवस्थापन भएमा भकिम्लीबाटै बार्षिक १ करोडसम्मको किबी उत्पादन हुने उनले बताए । एक पटक किबीको झाल र थाक्रा व्यवस्थापन गरे पुग्ने भन्दै किबीलाई सामान्य हेरचाहमा राम्रो उत्पादन दिने भएकाले कृषकलाई अनुदानसँगै तालिम समेत सञ्चालन गर्ने गरिएको छ । मलजल र थाँक्रो राम्रो भएमा एउटै बोटमा वार्षिक पाँच सय केजी किबी उत्पादन हुन्छ । भकिम्लीमा किबी खेतीसँगै सुन्तला र आलु खेतीमा समेत कृषक आर्कषित छन् ।
सुन्तला र आलु खेतीबाट भकिम्लीमा वार्षिक पाँच करोड भित्राउने उद्देश्यले भकिम्लीको तल्लो भागमा रहेका राखु मरेक, हल्लघौडा, ज्यामिरे र तोराखेतमा ४० हजार सुन्तलाका विरुवा किसानले लगाएका छन्। आलु हुने ठाउँमा किबी समेत हुने भएकाले बिउविजन, अनुदान र तालिममा नगरपालिकाले प्राथमिकता दिएको उपमेयर ज्योति लामिछानेले बताइन्। भकिम्लीसँगै बेनपा–९ तोरीपानीमा समेत किबी खेती हुने गरेको छ ।
नगरपालिकाले अनुदान, तालिम मात्रै लिने कृषकलाई निरुत्साहित गदैं उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिएको उपमेयर लामिछानेको भनाई छ । भकिम्लीको हावापानी अनुकुलमा उत्पादन हुने गरी किबी, सुन्तला, आलु खेतीलाई नगरपालिका बाहेक कृषि ज्ञान केन्द्र सहितका संघसंस्थाले समेत सहयोग गर्ने गरेको छ । उत्पादित किबी फललाई हुस्की, वियर, जुस, जाम र वाइन बनाएर बिक्री गर्ने विषयमा अध्ययन भइरहेको छ ।
कसरी गर्ने किबी खेती ?
स्वास्थ्यका लागि फाइदाजनक र आर्थिक दृष्टिकोणले समेत उपयोगी मानिएको किबी खेती एक हजार २०० देखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिन्छ ।यो फल चिसो हावापानी मन पराउंछ । हिउँद महिनामा औषत न्यूनतम तापक्रम १३ देखि १४ डिग्री सेल्सियस र औषत अधिकतम तापक्रम १३ देखि २५ डिग्री सेल्सियस किवी खेतीको लागि उपयुक्त मानिन्छ। बार्षिक बर्षा १५ सय देखि २ हजार मिलिमिटर र ७६ देखि ७८ प्रतिशत खेतीको लागि उपयुक्त मानिन्छ । किवी फलको जराहरु धेरै गहिरो नजाने जमिनको माथिल्लो सतहमा फैलिने हुँदा जरा बढनको लागि माटो हलुका हुनुपर्छ भनेआवश्यक मात्रामा कम्पोष्टमल ब्यवस्थापन गर्न सकेमा सबै प्रकारको माटोमा यसको खेती गर्न सकिन्छ।
प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटो र सिंचाई तथा निकासको राम्रो प्रबन्ध भएको जमिन यसको लागि उपयुक्त हुन्छ । फागुन चैत्र महिनामा तापक्रम बृद्धि हुदै जांदा कलिलो मुना पलाउन शुरु गर्दछ, मुनाहरुमा फूल फुल्दछ, फल लाग्न सुरु हुन्छ, हागाँहरुको वृद्धि हुन्छ र असोज कार्तिक लागेपछि बृद्धि रोकिन्छ। मंसिर पौष महिनामा तापक्रम घटन थालेपछि यसको पात झर्छ । किवीफलको नयाँ पालुवा पलाउनको लागि चिसो तापक्रम हुनु पर्दछ ।
विरुवा हुर्काउने तरिका
किवी फल बिरुवाको हिउँद महिनामा पात झर्ने स्वभाव भएकोले हिउँदे तथा पतझर फलफूल अन्तर्गत पर्दछ। पौष र माघ महिना किवीका बिरुवा रोप्नु पर्दछ। किवीफलको बगैंचा ब्यथापनाको लागि जमिन छनौट गरिसकेछि गरा कान्लाको सरसफाई गरि खनजोत गर्नु पर्दछ। बिरुवा रोप्नु चार पाँच हप्ता अघि ३ फिट लामो, ३ फिट चौडा र ३ फिट गहिरो खाडल खन्नु पर्दछ। खाडल भन्दा आधा भागको र तल्लो आधा भागको माटो छुट्टा छुट्टै राख्नु पर्दछ। बिरुवा रोपनु अघि ४० किलाग्राम राम्ररी पाकेको गोबरमल, ५० ग्राम युरिया, १०० ग्राम डि।ए।पी। र १०० ग्राम पोटास साथै उपलब्ध भए सम्म १ किलोग्राम खरानी खाडल खन्दा निल्लेको माटोमा राम्ररी मिसाउनु पर्दछ।
खाडल पुर्दा मल मिसाएको माथिल्लो भागको माटो तल र तल्लो भागको माटो माथि राखेर पुर्नु पर्दछपछि माटो बःने भएकोले खाडल पुर्दा जमिनको सतह भन्दा एक डेढ बित्ता अग्लो बनाउनु पर्दछ र चिनो लगाउन खाडलको बिचमा सिन्को गाडनु पर्दछ। प्रत्येक १० बोट पोथी जातको बिरुवा लगाउँदा एक बोट अनिवार्य भाले जातको बिरुवा लगाउनुपर्दछ । भाले बोटबाट फल नलागे पनि परागसेचनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
बोट वरीपरीको झारपात हटाएर धेरै गहिरो नहुने गरी खनजोत गर्ने र सिफारिस मात्रामा मल हाली माटोले पुरी छापो हाली सिंचाई गर्नु पर्दछ। असार साउनमा पनि झारपात हटाएर धेरै खनजोत गरी मल हालेर छापो दिनु पर्दछ। बोट आसपासमा आवश्यकता अनुसार झारपातकव प्रकोप ह्रेरेर बोट वरीपरीको झारपात हटाउनु पर्दछ ।
यससँगै किवी बोट लहरा जाने र थाँक्रो चाहिने भएकोले करिब ६–७ फिट अग्लो भए पछि माथि पट्टी “त्” आकारको सिमेन्ट खम्बा वा फलामको जि।आई। पाईप गाडेर कम्तीमा तीन लाईन मोटो तार टाँगि दिनु पर्दछ। यसो गर्दा किवीको लहरा तार माथि फैलने हुनाले फल टिप्न र अन्य ब्यवःथापनको काम गर्न सजिलो हुन्छ।
१४ बर्ष बिदेशभन्दा किबीबाट सन्तुष्ट लालबहादुर
बिहान उठेपछि बारीमा पुगेर किबी खेती हेर्नु, चराचुरुङ्गी धपाउनु र किबीको स्याहारसुसार गर्नु एक किसानको दैनिकी हो। किबीलाई समय समयमा गोडमेल, सिचाइँ, मलमुत्रको व्यवस्थापन पनि गर्नुपर्दछ । यसका साथै व्यावसायिक रुपमा कृषि खेती गरेका किसानहरुले नगदेबालीको विशेष हेरचाह गर्ने गर्दछन् ।
यही किबी खेतीको व्यावसायिक उत्पादनमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली मुसुङका किसान लालबहादुर घर्ती हिजोआज किबी खेतीको स्याहारसुसारमा निकै व्यस्त हुनुहुन्छ । विदेशका विभिन्न मुलुकमा पुगेर रोजगारी गरेर गाउँ फर्किएपछि चारवर्ष अघिदेखि किबी खेती सुरु गरेका छन् ।
१० वर्ष ओमान र ३ वर्ष साउदीअरब बसेर घर फर्किएर स्याउ र किबी खेती लगाएका हुन् ।विदेशबाट फर्किएको सुरुमा ५० बोट स्याउ खेती गरेका कृषक घर्तीले स्याउबाट भने जस्तो उत्पादन नभएपछि किबी खेती गरेको बताए । धेरै धन कमाउने लोभमा पुनः ओमान गएर पनि एक महिनामै घर फर्किनु परेपछि व्यावसायिक रुपमा फलफूल खेतीतर्फ आफू आकर्षित भएको घर्ती बताउँछन् ।
भकिम्ली वडा कार्यालयबाट अनुदानमा किबीका १ सय ५० बोट र कृषि ज्ञान केन्द्रबाट एकलाख ५० हजार रुपैयाँको अनुदान सहयोग पाएपछि व्यावसायिक किबी खेती गरेको बताए । अहिले ७ रोपनीको बारीमा कोदोसँगै किबी लटरम्मै फलेको छ ।किबीसँगै किसान घर्तीले डिभिजन वन कार्यालय म्याग्दीको अनुदान सहयोगमा १ सय ५० बोट टिम्मुरका विरुवा पनि लगाएका छन् । फलफूल खेतीमध्ये उत्कृष्ट मानिने किबी खाँदा निकै स्वादिलो र रसिलो हुने भएकाले यसको माग बजारमा उच्च रहेको छ ।
बेनी नगरपालिकाले के गर्ने ?
नगर क्षेत्रमा उत्पादित फलफुलको सिजन र अफ सिजनमा बजारीकरणमा सघाउने नितीलाई कार्यान्वयन गर्नुपर्छ । भूबनोट, माटो र हावापानी अनुकुल उत्पादनलाई नगरले प्रोत्साहनका लागि प्रयास भइरहेको छ तर सन्तोषजनक नतिजा प्राप्त भएको छैन। अझैपनि नगरभित्र उत्पादन हुने तरकारी, फलफुलबाट आत्मनिर्भर हुनुको साटो परनिर्भरता बढेर गइरहेको अवस्थामा भकिम्लीमा उत्पादन हुने किबी, सुन्तला, आलु, खवरा, काउँलेगौडाको केरा खेती, तोरिपानीको टिम्बुरलाई नगरपालिकाले ब्रान्ड स्थापित गर्न प्याकिङ र ट्यागिङ सहित बिक्री गर्न सघाउनुपर्छ ।
नगरपालिका भित्रको उत्पादनलाई खेतबारीदेखि उपभोक्ताको भान्सासम्म ब्रान्ड स्थापित गर्ने गरी संस्थाको नाम, ठेगाना र परिमाण पनि उल्लेख गरी बिक्री गर्न सकेमा नयाँलाई प्रोत्साहन हुन्छ । नगरपालिकाकै अगुवाइमा कोल्डस्टोर (चिस्यान केन्द्र) सञ्चालनमा आएको अवस्थामा किसानले उत्पादन गरेको कृषि सामग्रीलाई लामो समय राख्न तथा खेर जान नदिई बेमौसममा बजारमा आपूर्ति गराउन र बढी मूल्य पार्न समेत सघाउनुपर्छ ।
नगरको कृषि एम्बुलेन्स किन्ने, वडा नं ८ मा निर्माणधिन अवस्थामा रहेको कृषि विक्री केन्द्रसम्म ल्याएर उपभोक्तालाई सस्तोमा उपभोग गर्ने वातावरण बनाउनुपर्छ । नगरपालिकाले अहिलेसम्म कृषिमा गरेको अनुदानमा विश्लेषण गरी कृषि भूमि कति छ ? यसको उपयोग कसरी भइरहेको छ ? कृषकहरूको अवस्था र सामथ्र्य के हो ? कृषिजन्य बस्तुको आयात र निर्यातको अहिलेको अवस्था के छ ? अवसर के के छन् ? यस विषयमा मसिनो विश्लेषण गर्नुपर्छ। किसानको वर्गीकरण गर्ने, उत्पादन र उपभोग गर्ने किसानलाई अनुदान वितरणमा समेत एकै आँखाले हेर्नुहुदैन । वडास्तरमा कृषिको सोचपत्र तयार गरी भूउपयोग र कृषिको विशेष योजना बनाएर अगाडी बढ्न सकेमा नगरपालिका कृषिजन्य बस्तुमा आत्मनिर्भरसँगै केही बर्षम निर्यात गर्ने हैसियतमा समेत पुग्छ ।
भकिम्लीको किबीलाई बिक्री गर्न सघाउँछौ
ज्योति लामिछाने उपमेयर
बेनी नगरपालिका
पछिल्लो समय भकिम्लीका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् । बेनी नगरपालिकाले कृषि आधुनिकीकरण नीति तथा स्थानीयको सक्रियतामा अन्य अन्नबाली फलाउने बारीमा अहिले किबी खेती गरिरहेका छन् । यसबाट मनग्य आम्दानी हुन थालेपछि त्यसतर्फ आकर्षण बढेकाले हामीले किबी खेतीका लागि बार्षिक बजेट विनियोजन गर्ने गरेका छौ । आगामी आवमा १२ लाख बजेटबाट किबी खेती प्रर्बधन हुने छ । परीक्षणका लागि लगाइएको किबीले राम्रो फल दिन सुरु गरेपछि भकिम्लीबासी किबी खेतीतर्फ लागेका छन् ।
गाउँमा उत्पादित किबी प्रति किलो बजारमा १५० देखि ३०० सम्ममा सहजै बिक्री वितरण हुने गरेको छ । हामीले भकिम्लीबाट किबी हुन सक्ने अन्य वडामा समेत विस्तारको योजना बनाएका छौ ।एउटा वडामा भएको उत्पादनलाई अर्को वडाबासीलाई सिकाई हुने गरी अहिले अनुदान सहितका कार्यहरु भइरहेको छ । अर्कोतर्फ किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायतका बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग राम्रो छ । विभिन्न १७ प्रकारका भिटामीन पाइने किबी फलमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’ र केरामा भन्दा पनि बढी भिटामीन ‘इ’ पाइने गरेको भएपनि यसका बारेमा प्रचारप्रसार गरी ग्राहकलाई आर्कषित गर्नुपर्छ ।