माध्यमिक शिक्षा परीक्षा (एसईई)मा म्याग्दीको नतिजालाई विश्लेषण गर्ने हो भने निकै निराश हुनुपर्ने देखिन्छ । जिल्लाभित्रका १२ विद्यालयमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । त्यसैगरी साधारणधार तर्फ १ जना मात्रै विद्यार्थी उत्र्तिणा गर्ने विद्यालयको संख्या एघार रहेको छ । संस्थागत र सामुदायिक गरी ७५ विद्यालयमा बेनीको लिटल गार्डेन एकेडेमी, बावियाचौरको डनिङ बोर्डिङका विद्यार्थीले सतप्रतिशत ग्रेड प्राप्त गरेका छन् भने ७३ विद्यालयका विद्यार्थीले कुनै न कुनै विषयमा ननग्रेड (एनजी) को सूचीमा छन् ।

यसपटकको यो नजिता हेर्दा सन्तोष लिने ठाउँ छैन । ११ सय ४६ विद्यार्थी ‘नन् ग्रेडेड’मा परे । यीमध्ये विद्यार्थी दुई वटासम्म विषय लागेका ३१ प्रतिशत रहेका छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेका ३२ प्रतिशत छन् । म्याग्दीमा परीक्षामा सहभागि भएकामध्ये ६२.२६ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएको नतिजाले देखाउँछ । एसईईमा सहभागी भएका विद्यार्थीमध्ये ३७.७४ प्रतिशत विद्यार्थीमात्रै कक्षा ११ का लागि योग्य भएको सार्वजनिक नतिजाले देखाएको छ ।

म्याग्दीमा सरकारी लगानीको अभावमा समुदायले समेत सहयोग गरी चलेका हिमाञ्चल मावि, पाउद्धार मावि,किसानी चन्द्राकुन्ता मावि, गौबमबस्त मावि, लमसुङ मावि, निस्कोट मावि, जनता माविको नतिजा निल हुदाँ अभिभावक, विद्याथी मात्रै होइन विद्यालयको शैक्षिक गतिविधिमै प्रश्न पनि उब्जिएको छ।

अहिले विद्यार्थी फेल भएको होइन, शिक्षकको पढाउने क्षमता, पठन पद्धति र संरचनागत कमीकमजोरी,सामुदायिक विद्यालयमा मागअनुसार दरबन्दी नहुनुले गुणस्तर कमजोर बनिरहेको छ। शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्पादनमुखी बनाउने तर्फ तीनै तहको सरकार असफल भएको हो । अहिले च्याट जीपीटी, एआईको समयमा जुन प्रकारको प्रश्न सोधिएको र प्रश्न सोधिन्छ, यो एकदमै पुरातन छ । कक्षाकोठाको सिकाइ पनि रचनात्मक हुन सकेको छैन ।

शिक्षकले पनि परीक्षा कसरी लिइन्छ भनेर पढाउनुपर्छ । परीक्षा, विद्यार्थीको वास्तविक प्रतिभाको जाँच गर्ने रचनात्मक तरिका छैन । नतिजा कमजोर हुनमा अन्य तत्व पनि कमजोर देखिन्छ । नतिजा कक्षा एसईईको मात्र बिग्रिएको होइन। कक्षा ८ को पनि बिग्रिएको स्थानीय तहको तथ्याङ्कले देखाउँछ ।

सामुदायिक विद्यालयको नतिजा खस्कनुमा राजनीतिक दलहरूले विद्यालयलाई भर्तीकेन्द्र बनाउनु पनि हो । नीजि स्रोतबाट राखिएका शिक्षकहरूमा क्षमता भन्दा पहुँचले बढी काम गरेको छ । यो समस्या आधारभुत तहमा डरलाग्दो छ । यो कार्य जारी रहेसम्म शिक्षा क्षेत्रमा सुधार हुँदैन, शिक्षा क्षेत्रलाई भर्तीकेन्द्र बनाउन जुन दिनसम्म रोकिँदैन, त्यो दिनसम्म शिक्षा यस्तै हुन्छ ।

म्याग्दीका स्थानीय सरकारले सामुदायिक विद्यालयको स्तर बढेको भनेर जुन प्रकारको प्रचार गरिरहेको छ, त्यो भ्रम मात्रै रहेछ भन्ने सार्वजनिक भएको परिणामले देखाउँछ। त्यसैले अब शुन्य नतिजा ल्याउने विद्यालयलाई तत्कालै शैक्षिक क्यालेन्डर बनाउने र सबै सामुदायिक विद्यालयमा आन्तरिक परीक्षा, अतिरिक्त कक्षालाई परीक्षा केन्द्रित नभई नियमित सञ्चालन गर्ने गरी बहस गर्नुपर्छ । परीक्षा सुधार गर्ने शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्दछ ।

शिक्षकले पढाए नपढाएको अनुगमन गर्नुपर्दछ । फेल हुनुमा विद्यार्थी दोषी छैनन् । शिक्षकको भूमिका अहम् रहन्छ । निजी क्षेत्रबाट सञ्चालित विद्यालयलाई पनि तिनले गरेको योगदानका लागि राज्यले प्रोत्साहन दिनुपर्छ । शिक्षकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ । यसपटक एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई तथा पुरक परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई शुभकामना । बेनी साप्ताहिक पत्रिकाबाट साभार

Leave a Reply