विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त म्याग्दी बहुमुखी क्याम्पसले विद्यार्थीलाई उद्यमी बनाउन उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगले उद्यमशिलतासहायता परियोजना अन्तर्गत १४ सय क्याम्पसमा प्रतिस्पर्धा गरेको परियोजनाका लागि नेपालभरका १८ वटा क्याम्पसमा छनौट भएको म्याग्दी बहुमुखीमा उद्यमशील बन्नका लागि छनौट भएका विद्यार्थीले उद्यमशिलता सम्बन्धि सैद्धान्तिक र ब्यवहारिक ज्ञान लिइरहेका छन् ।

४० घण्टाको पाठ्यक्रममा आधारित उद्यमी बन्न आवश्यक पर्ने ज्ञान, सीप र उत्प्रेरणा सम्बन्धि स्थानीय तथा राष्ट्रियस्तरका सफल उद्यमी, विषय विज्ञहरूले सहजीकरण गरिरहेको क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताए ।

‘रोजगारी सिर्जना गर्न उद्यमशीलता तालिम सञ्चालन गरिएको हो, यूवापुस्तालाई स्वदेशमै उद्यमी बन्ने वातावरण बनाउन तालिमले सघाउने छ’ प्रमुख सुबेदीले भने। तालिममा सैद्धान्तिक ज्ञानसँगै अवलोकन भ्रमणमार्फत थप सिक्ने अवसर समेत मिलेको क्याम्पस प्रमुख सुबेदीको भनाई छ।

तालिममा सहभागीले उद्यमशीलताको तालिम लिइसकेपछि सबै प्रक्रिया पूरा गरेका विद्यार्थीले तयार गरेको परियोजना क्याम्पस, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिकाको प्रतिनिधिले छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि साउन १४ गते भित्र विश्वविद्यालय अनुदान आयोगमा पठाइने छ । आयोगले स्वीकृत गरेपछि मात्र तोकिएको अनुदान किस्ताबन्दीमा व्यवसायको प्रगतिअनुसार प्राप्त गर्नसक्ने छन् ।

उक्त प्रतिस्पर्धामा छनौट भएमा विद्यार्थीले न्यूनतम पाँच लाखदेखि ४० लाखसम्म प्राप्त गर्नेछन् भने देश तथा विदेशमा गएर उद्यमशीलतासम्बन्धी तालिम लिने अवसर पनि प्राप्त गर्ने सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले बताए । छनौट भएकाले यो रकम बिनाब्याज प्रयोग गर्न पाइने छ भने उद्यमशीलताबाट आम्दानी गरेपछि उद्यमीले फिर्ता गर्नुपर्ने प्रावधान छ।

परियोजनालाई प्रभावकारी बनाउन पूर्व क्याम्पस प्रमुख एवम् सह प्राध्यापक रामजीप्रसाद सुबेदीको संयोजकत्वमा सहायक क्याम्पस प्रमुख सुबेदी, उपप्राध्यापक तारानाथ शर्मा सदस्य रहेको समिति समेत गठन गरिएको छ । समितिले सैद्धान्तिक ज्ञानसँगै उद्योग, कलकारखाना, उत्पादनशिल क्षेत्रको स्थलगत अध्ययन तथा सफल उद्यमीहरूसँग समेत भेटघाटको वातावरण बनाउने गरेको छ ।

तालिममा सहभागि बेनी नगरपालिका वडा नं ५ डडुवाकी सुजना खत्री, बेनपा–३ भकिम्लीका रिज हुमेनले व्यवसायिक योजना, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लागत र लाभ विश्लेषण, बैकिंङ सुविधाको उपयोग, ऋण लगानी र सफल उद्यमी तरिका लगायतका विषयहरुका साथै सफल उद्यमीसँग प्रत्यक्ष भेटघाट हुने अवसर मिलेको बताए । तालिममा क्याम्पसका पूर्व विद्यार्थी तथा अभिभावकसँगै उद्यमशिलतामा सक्रिय रहेका विद्यार्थी गरी २२ जनाको सहभागिता रहेको छ ।

 

 

Leave a Reply