बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

बर्षातको समयमा बर्षाजन्य बिपदका कारणबाट हुने सवारी दुर्घटनालाई मध्यनजर गदैं सडकखण्डको म्याग्दी क्षेत्रमा रहेको जोखिमपूर्ण स्थानमा पहिरोग्रस्त लेखिएको सूचनाबोर्ड राखिने, रातको समयमा यात्रा गर्दा फस्ने यात्रुलाई उद्धारमा समस्या हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।

‘रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ,बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौ, ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ’ प्रजिअ ढकालले बेनीअनलाइनलाई भने ।

पहिरो खस्ने र खोलामा पानीको सतह समेत बढेको खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने सकिने भएपनि अहिले सडकको अवस्था हेरेर यात्रा गर्न सहजिकरण गरिने प्रजिअ ढकालको भनाई छ । मंगलबार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षती पुगेको छ ।

सडकखण्ड अन्तरगत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्ने सवारीासधनलाई पहिरोस्थलका बारेमा जानकारी दिने गरी बेनी, गलेश्वर, भुरुङ तातोपानी र दाना क्षेत्रमा प्रहरी समेत खटाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा-बेनी-जोमसोम-कोरोला सडक आयोजनाले बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ वटा सानाठूला पहिरा छन । तीमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा भएको आयोजनाले जनाएको छ ।

गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरो सहित सबै पहिरो ब्यवस्थापनमा ७० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने बताइएको छ ।

यसैबीच जिल्लाका ग्रामिण क्षेत्र जोड्ने सडकखण्डमा बाढीपहिरोका कारण सवारी आवागमनमा पर्ने असर, सवारी चालक र यात्रुलाइ विपद बाट हुनसक्ने क्षती,बर्षातको समयमा हुनसक्ने सम्भाबित यात्राको जोखिम र सुरक्षित हुनका लागि चालक र यात्रुले अबलम्बन गर्नुपर्ने सुरक्षाका उपाय साथै सडकको अबस्थाको बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सचेतनामुलक कार्यक्रम समेत सुरु गरेको छ ।

Leave a Reply