म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले एक कार्यक्रमका बीच मोना कतार बहुउद्देश्यीय अक्षयकोषलाई ३ लाख रुपैयाँ प्रदान गरेको छ । गत मार्च ८ तारिकमा मोना कतार बहुउद्देश्यीय अक्षयकोषको श्रीवृद्धिका लागि मोना कतारले आयोजना गरेको २१औ‌ वार्षिकोत्सव तथा पाँचौं विविध सांस्कृतिक कार्यक्रममार्फत भएको बचतको रकम अक्षयकोषलाई प्रदान गरिएको हो ।

उक्त रकम मोना आईईसीका कोषाध्यक्ष नरेन्द्र फगामीको विशेष उपस्थितिमा मोना कतारका अध्यक्ष राजु पौडेल, संरक्षक रमेश पौडेल तथा कार्यसमितिको रोहबरमा मोना कतार बहुउद्देश्यीय अक्षयकोषका अध्यक्ष विक्रम कार्कीसहितलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमबाट भएको आम्दानी अक्षयकोषमा जम्मा गरिने र कार्यक्रमको आयव्ययसमेत सार्वजनिक गर्ने प्रतिबद्धताबमोजिम रकम हस्तान्तरण गरिएको अध्यक्ष पौडेलले बताए ।

पौडेलले कार्यक्रममा कूल ३८ हजार ७ सय ९४ रियाल आम्दानी भएको र २० हजार ६ सय ६३ रियाल खर्च भइ १८ हजार १ सय ३१ कतारी रियाल बचत भएको र सोही बचतमार्फत ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको बताए । उनले कार्यक्रममार्फत नगद सहयोगका लागि प्रतिबद्धता गरिएको सबै रकम दाताबाट प्राप्त नभएको बताए ।

सहयोग रकम ग्रहण गर्दै कोषका अध्यक्ष कार्कीले मोना कतार आफैंमा कोषको संरक्षक संस्था रहेको र अध्यक्षसहित कार्यसमितिले प्रतिबद्धता गरेबमोजिम रकम हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले कार्यक्रम सफल बनाउने सबैलाई आभार व्यक्त गर्दै कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहँदै मानवीय सेवा भावमा कोष लाग्ने बताए । उनले कोषलाई रु एक करोड मूल राशि बराबरको बनाउने अभियानलाई समेत तीव्रता दिइएको बताए । जिल्ला प्रशासन कार्यालय म्याग्दी बेनीमा सरकारी ऐन-नियम बमोजिम दर्ता भइ सञ्चालनमा आएको अक्षयकोष एक गैर सरकारी सामाजिक संस्था हो ।

Leave a Reply