बेनी-जोमसोम–कोरला सडकखण्ड अन्तरगत रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरोले इको भ्यानमा क्षती पुगेको छ । मुस्ताङबाट तीन जना यात्रु लिएर फर्किदै गरेको बा ०२६ च ७०५३ नम्बरको इको भ्यान माथिबाट खसेको लेदोले पुरिएको हो । गएराती मंगलबार साढे ८ बजे भ्यान फसेपछि चालक सहित यात्रुको तत्कालै उद्धार गरिएको जिल्ला प्रहरी निरिक्षक राजन रायमाझीले बताए ।

‘तत्कालै उद्धार गरिएकाले मानवीय क्षती भएन, उक्त स्थान बर्खाको समयमा निकै जोखिम छ’ सूचना अधिकारी रायमाझीले भने । बुधबार विहान भ्यानलाई निकालेर सडक सुचारु गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत करिब आधादर्जन स्थानमा पहिरोले सडक अवरुद्ध गर्ने गरेको छ ।

गतबर्ष समेत बैसरीमै बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग१ज ६८२० नम्बरको जीप गुडिरहेको अवस्थामा पहिरो खसेर एक चालकको ज्यान गएको थियो । बैसरीको बैकल्पिक बाटो चमेरे–राखु÷पिप्लेबेगखोला सडकखण्डको बैकल्पिक कच्ची मार्ग समेत जोखिमपूर्ण छ । बर्खाको समयमा सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ।

Leave a Reply