म्याग्दीमा उत्पादिन अर्गानिक बस्तुको बजारीकरणका लागि बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा कोसेली घर सञ्चालनमा आएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घको संरक्षण तथा सञ्चालनमा रहेको पर्यटक सूचना केन्द्रको भवनमा कोसेली घर सञ्चालन गरिएको हो ।

म्याग्दीको हिमाली क्षेत्रमा उत्पादन हुने अर्गानिक उत्पादन सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी सञ्चालनमा आएको कोशेली घरको बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपमेयर ज्योति लामिछानेले उद्घाटन गदैं अर्गानिक उत्पादनको बजारीकरणमा सघाउने प्रतिबद्धता जनाएका थिए ।

नगरपालिकाभित्र उद्यमशीलता विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम समेत पारित गरिएको छ । उत्पादक र उपभोक्ताबीचमा समन्वयकारी भूमिका खेलेर नगरपालिकाले नीजि संघसंस्थासँग समेत सहकार्य गर्ने मेयर केसीको भनाई छ।

महिला उद्यम विकास समितिकी उपाध्यक्ष एवम् अगुवा महिला उद्यमी डिलमायाँ घतानेले सञ्चालन गरेको कोसेलीघरमा स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि समेत सहज भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

नगरपालिकाले प्रचारप्रसारसँगै बजारीकरणका लागि सघाएमा नयाँ–नयाँ सामग्री उत्पादन गर्न र उद्यमीहरुलाई समेत ऊर्जा मिल्ने अध्यक्ष श्रेष्ठको भनाई छ । जिल्लाका ६ वटै स्थानीय तह, छिमेकी मुस्ताङका अर्गानिक उत्पादनलाई स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी कोसेली घर सञ्चालन गरिएको छ ।

कोसेली घरमा भटमास, भाँगो, मह, घ्यु, फापरको पिठो, गहत,मकै, च्याउ, पिठो (फापर,जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, टिम्मुर लगायत करिब सय थरिका सामान रहेको छ ।त्यस्तै ढाका र अल्लोबाट निर्मित कपडाहरु, दुना टपरी,बाँसका मुढा, बाँसबाट निर्मित सामग्रीहरु र विभिन्न जातजातिका भेषभूषाका सामग्रीहरु समेत बिक्रीका लागि राखिएका छन् । म्याग्दीको अर्गानिक समानाको बजार विश्वबजारसम्म छ ।

म्याग्दी उद्योग बाणिज्य संघका महासचिव नारायण घर्तीक्षेत्रीले उत्पादन बजारीकरणमा समस्या भएमा कोसेली घरले सहजीकरण गर्ने बताए । उनले महिला उद्यमीको अग्रसरतामा भएको उक्त कोसेली घरबाट म्याग्दीको ब्रान्ड स्थापित गर्ने बताए । म्याग्दीको सदरमुकाम बेनीमा आधादर्जन भन्दा बढी कोशेली घर सञ्चालनमा रहेको छ ।

Leave a Reply