म्याग्दीको बेनी नगरपालिका-४, सिङ्गास्थित ठूलोखोलामा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना, ठूलोखोला महिला कृषक समुहको ब्यवस्थापनमा धान दिवस र रोपाइँ महोत्सव मनाइएको हो ।

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नारासहित धान उत्पादक किसानहरुको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको दिवसमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, बेनी नगरपालिकाकी उपमेयर ज्याति लामिछाने, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका प्रमुख सविन श्रेष्ठ,वडा नं ४ का वडा अध्यक्ष अणबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।

कृषि पेशामा सक्रिय रहेकालाई लागत अनुसारको प्रतिफल दिने गरी रैथाने बिउको संरक्षण गदैं उन्नतजातका विउको प्रयोग गरी उत्पादन बढाउने गरी योजना बनाइएको बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेको भनाई छ ।

खाद्यान्न बालीमध्ये एक मानिने धानको उत्पादन बढाउन र किसानहरुलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नको लागि नेपालमा २०६१ सालदेखि राष्ट्रिय धान दिवसको रुपमा असार १५ गतेको दिनलाई मनाउने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोला बताउँछन् ।

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि किसानहरु मिनी टेलर हलो अर्थात् हाते ट्याक्टरप्रति आकर्षित भएका छन् । धान रोप्नको लागि अहिले देशैभर ट्याक्टरको प्रयोग बढ्दै गएको पाइन्छ । म्याग्दीमा कुल ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४ सय १९ हेक्टरको जमिनमा मात्रै खेती हुँदै आइरहेको छ । खेतीयोग्य जमिन भएर पनि १३ हजार ३ सय ५४ हेक्टर जमिन बाँझो रहेको छ । खेती गरिएकोमध्ये जिल्लामा ३ हजार ८ सय ९० हेक्टरको जमिनमा धान खेती हुँदै आएको छ ।  

Leave a Reply