पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ मा पर्ने दुर्गम ओखरबोटको खनेत गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत सेवा विस्तार भएपछि गाउँलेहरु खुसी भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित खनेत गाउँमा विद्युतीकरण गरेको हो । प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले खनेत गाउँका ६० घरमा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको र ओखरबोट गाउँको थप चार सय घरमा विद्युत विस्तारको तयारी भएको जानकारी दिनुभयो ।

“घरघरमा मिटरबक्स जडान भएपछि ओखरबोटमा विद्युत् वितरण थालिएको हो”, उहाँले भन्नुभयो, “ओखरबोटको छिमेकी खनेतका ६० घरमा केन्द्रिय प्रशारण साइनको विद्युत सेवा विस्तार भएको छ भने थप चार सय घरधुरीमा पनि मिटरबक्स वितरण गर्न थालेका छौँ ।”

खनेतकी ४६ वर्षिया देवकी पुनले केन्द्रिय लाइनको विद्युत सेवा विस्तार भएपछि निकै सुविधा पुगेको बताउनुभयो । मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका ४०० घरधुरीमा विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर र मुख्य लाइनको गत चैत अन्तिम हप्ता परीक्षण गरिएको थियो ।

विद्युतीकरणका लागि ठेक्का सम्झौता गरेको रविन्द्र-ढुङ्गाना जेभीका प्रतिनिधि दिनेश ढुङ्गानाले चार वटा ट्रान्सफर्मर चार्ज र मुख्य लाइनको परीक्षण सफल भएको जानकारी दिनुभयो । “मालिकाको वडा नम्बर २ को रुम, बेली, जेम, घाङ्लेपानी, वडा नम्बर ३ को लुप्सीपार, पात्ले र ४ नम्बर वडाको ओखरबोटको मुख्य र शाखा लाइनको पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान गरी चार्च र परीक्षण सफल भएको छ”, उहाँले भन्नुभयो ।

म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तार गर्न गत आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन भएको थियो ।कूल ४७ दशमलव छ किलोमिटर मुख्य र एक सय २६ किलोमिटर शाखा लाइन विस्तार र २० वटा ट्रान्सफर्मर जडान गर्न गत असोज तेस्रो हप्ता रविन्द्र÷ढुङ्गाना जेभीसँग रु तीन करोड ५४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सामग्री, उपकरण खरिद, ढुवानीसहित सबै काम गर्न कूल रु २० करोड ५३ लाख ३६ हजार दुई सय ७८ लागत अनुमान गरिएको छ ।एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रअन्तर्गत २२ हजार विद्युत्का ग्राहक छन् । गत आर्थिक वर्ष २०७९÷८० मा एक हजार दुई सय ३८ उपभोक्ता थपिएका थिए ।

Leave a Reply